ताजा अपडेट »

सम्पत्तिका लागि रुपन्देहीमा २ श्रीमानले गरे श्रीमतीको हत्या

आइतबार, २३ फागुन २०७७
2 Shares

भैरहवा । अपराध बिनाको समाजको कल्पना नै गर्न सकिदैन । अपराध भए पछि प्रहरी त्यसको अनुसन्धानमा कत्तिको तदारुकता देखाउछ भन्ने महत्वपूर्ण पाटो हो । यो बिषयमा रुपन्देही प्रहरीले आफुलाई अब्बल साबित गरेको छ । पछिल्लो समय रुपन्देहीमा हत्याको घटनाहरु बढेको छ । हत्यालाई प्रहरीले रोक्न नसके पनि त्यसको सफल अनुसन्धान गरि छोटो समयमै हत्याराहरुलाई हत्याको कारण सहित सार्वजनिक गरेको छ । यसले पनि यस हत्याको योजना बुनि रहेका अपराधी मानसिकता भएकाहरुको मनोबल गिरेको छ ।

रुपन्देही प्रहरीले पुष महिनामा भएका २ वटा जटिल हत्याहरुको अनुसन्धान गरि हत्याआरोपी पत्ता लगाएको छ । पुष महिनाको पहिलो दिननै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ की २१ वर्षीय सम्झना चाई घरमा जलेको अवस्थामा मृत फेला परिन । भित्रबाट चुकुल लगाएको अवश्थामा भेटिएकी उनलाई आत्महत्या गरेको भन्ने देखाउने हत्याराको प्रयास थियो । तर प्रहरीले त्यसका बिभिन्न कोणबाट अनुसन्धान गरि घटना हत्या भएको मात्र प्रमाणित गरेन कि हत्यामा संलग्न सम्झनाकै श्रीमान मुकेश चाईलाई पनि प्रमाण सहित पक्राउ गर्यो। अनुसन्धानमा दख्खल राख्ने रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेलले आत्महत्या भनि देखाउन खोजिएको उक्त घटना पहिलो नजरमै शंकास्पद रहेको मेसो पाए ।

कोठा भित्र सम्झनाको शव पलङमा सिरान तर्फ खुट्टा र गोड्यान तर्फ टाउको रहेको उत्तानो अवश्थामा थियो । आत्महत्या गर्न खोजे माथीबाट तल तिर जलेको हुनु पर्नेमा छाती लगायतको अधिकांश भाग जलेको थियो । यसले नै प्रहरीको अनुसन्धानमा सहयोग गरेको पोखरेलको भनाई छ । पछि पोष्टमार्टमबाट मृतकको फोक्सो, स्वासनली लगायतका पनि धुवाँको अंश देखिएन । त्यस पछि अनुसन्धान गर्दै जादा उनकै श्रीमान मुकेशले दाईजोको लोभमा सम्झनाको हत्या गरेको रहस्य प्रहरीले बाहिर ल्याएको हो । ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक रविन्द्र महतले दाईजोको साथै सम्झनाले ७ महिनामै जन्माएकी बालक पनि हत्याको कारण रहेको औल्याएका छन् । ७ महिनामै जन्मिएको बालकको मृत्यु भए पछि मुकेशले उनको हत्याको योजना बनाएका थिए ।

सोही अनुरुप सम्झनाको कोठामा रहेको भेन्टिलेशनबाट छिरेर उनको हत्या गरि, कोठा बन्द गरेर फेरी सोही भेन्टिलेशनबाट बाहिर निस्केका थिए । मुकेशले जतिसुकै प्रयास गरि हत्यालाई आत्महत्या देखाउन खोजे पनि अन्ततः उनको अपराध बाहिर आएको छ र अहिले उनि थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय लुम्बिनीमा राखेको छ । पुष महिनामै भएको अर्को हत्याको पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । यहा पनि मृतकका श्रीमानले जति चलाखी गरे पनि उनि अपराधबाट उम्किन सकेनन् । पुष १५ गते ईलाका प्रहरी कार्यालय लुम्बिनीको गश्ती टोलीले कोटहीमाई गाउँपालिका वडा नम्बर १ पतिजियामा एक महिलालाई सख्त घाईते अवश्थामा उद्दार गरि भैरहवा स्थित भिम अस्पतालमा पुर्याएको थियो ।

अस्पताल पु¥याउदा मृत्यु भई सकेकी महिला थिईन सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ बस्ने कुशुम लोध । संगै रहेका कुशुमका पतिले लु२च १५१७ नम्बरको पिकअफ गाडीमा सवार ४ जनाले पटक पटक गाडी ब्याक गरि उनलाई मारेको र आफ्नो कञ्चटमा पेस्तोल तेर्साई मृतकको मंगलसुत्र लगेका प्रारम्भिक बयान दिएका थिए । उनकै किटानी जाहेरीको आधारमा प्रहरीले उक्त गाडी र त्यसमा उल्लेख गरिएका ब्यक्तिहरुलाई पक्राउ गरि सोधपुछ गर्यो। “सोधपुछ गरिएका ब्यक्तिहरु निर्दोष जस्ता देखिए जबकि उनका श्रीमानको ब्यवहार सुरु देखी नै शंकास्पद रहेको थियो ।” एसपी प्रवीण पोखरेलले भने

मृतकका श्रीमानलाई श्रीमतिको मृत्यु हुदा जुन पिडा हुनु पर्ने हो त्यो उनले ब्यक्त नगर्दा उनी प्रहरीको शंकाको घेरामा परे । प्रहरीले उनको परिवारमाथी गोप्य निगरानी बढायो । यस संगै कुशुमका पति शैलेश कुमार लोधको भारतीय नम्बर प्लेटको गाडीमा प्रहरीले झिंगा भन्केको देख्यो । चेकजाँचको क्रममा उक्त गाडीमा तल रगतका टाटा र रौ देखियो । यसले प्रहरीको शंकालाई थप बल पुग्यो । त्यसपछि उनका पतिलाई केन्द्रमा राखी प्रहरीले भिसेरा चेक, लुम्बिनी बिकास कोषको सिसिटीभि फुटेज र अन्य जैविक बिश्लेषणको आधारमा मृतकका पति शैलेश कुमार लोध र उनका देवर राजेश कुमार लोधलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । सोधपुछको क्रममा दुवैले आफ्नो अपराध कबुल गरेको एसपी पोखरेलले पत्रकारहरुलाई जानकारी दिए ।

बीमा एजेण्ट समेत रहेका शैलेशले श्रीमतिको नाममा भारत र नेपालकै बीमा कम्पनीहरुमा मोटो रकम बिमा गरेका थिए । यस्तै बैंकमा रहेको ऋण पनि श्रीमतिको मृत्यु पछि छुट हुने र उल्टै बैंकले क्रियाखर्च समेत दिने भए पछि शैलेशले आफ्नो भाईको सहयोगले श्रीमतिको हत्या गरेको प्रहरीको दावी छ । उनले आफ्नै गाडीबाट पटक पटक ओहोरदोहोर गरि श्रीमतिलाई किचेर मारेको प्रहरीको भनाई छ । अहिले शैलेश र उनका भाई राजेश दुवै जना ईलाका प्रहरी कार्यालय लुम्बिनीमा थप अनुसन्धानको लागी राखिएका छन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेले रुपन्देही आए पछि जिल्लामा ७ वटा हत्याका घटना भएको बताउछन् । “कुनै जटिल र कुनै सिधा रुपमा देखिने हत्याहरुको अनुसन्धान गरि घटना बाहिर ल्याएका छौ ।” पोखरेलले भने । यो अवधिमा ७ वटा हत्याका घटना घटेकोका ६ वटा प्रहरीले अनुसन्धान गरि अदालती कार्यवाही अगाडी बढाएको छ । गैडहवा गाउँपालिकामा ५५ बर्षिय कलावती धोबीको हत्याको भने प्रहरीले अझै सम्म हत्यारा सार्वजनिक गरेको छैन । “यो घटनाको पनि धेरै नजिक पुगेको छौ, शंकास्पद ब्यक्ति भारतमा रहेको कारण ढिलो भई रहेको छ ।” पोखरेलले भने “चाडै नै यो घटनाको हत्यारा पनि सार्वजनिक गर्छौ ।”

https://www.globalaawaj.com/archives/76944