ताजा अपडेट »

जेसीजले सुरु गर्यो शान्तिको लागि सहकार्य

आइतबार, ०३ चैत्र २०७५


चैत ०३,

ग्लोवल आवाज

बुटवल । प्रदेश पाँच आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले द्वन्द्वरत पक्षलाई आफ्नो स्टेप बिग्रिँदा कहाँ पुगिन्छ भेन्ने हेक्का राख्न आग्रह गरेका छन् । सरकारले आफ्नो स्टेपको हिसाव गरेरै प्रतिवन्धको निर्णय गरेको बताउँदै उनले मुलुकको शान्ति र समृद्धिको पहल गर्दा स्यावासी पाउनु पर्नेमा आलोचना हुनु राम्रो नभएको पनि बताए । ‘द्वन्द्वरत पक्षले आफूले चालेको स्टेप बिग्रिदा कहाँ पुगिन्छ भन्ने पनि हिसाव गर्नुपर्छ ।’ उनले भने–‘सरकारले आफ्नो स्टेपको हिसाव गरेर निर्णय गरेको छ ।’

बुटवल जेसीजले शनिबार बुटवलमा आयोजना गरेको ‘शान्तिकालागि सहकार्य’ कार्यक्रममा बोल्दै मन्त्री केसीले स्थिर शान्तिकालागि अझै धेरै काम गर्न बाँकी रहेको र त्यो पुरा हुँदा पनि असहमती बाँकी रहने उल्लेख गरे । उनले द्वन्द्वको कहाली लाग्दो दिनबाट यहाँसम्म आएको स्मरण गर्दै सकारात्मक सोंच सहित अगाडी बढेमा शान्तिको यात्रा लामो नभएको उल्लेख गरे ।

शान्तिकालागि विकास र समृद्धि आवश्यक रहेको बताउँदै उहाँले विकास र समृद्धिकालागि प्रदेश सरकारले कृषिको व्यवसायिक विकास, कृषिमा आधारित औद्योगिकिकरण र त्यसैका माध्यमबाट पर्यटन विकासको दीर्घकालिन योजना बनाएको बताए । मन्त्री केसीले प्रदेश सरकारले प्रदेशलाई के र कस्तो बनाउने भन्ने विषयमा केही दिनमा रोडम्याप ल्याउन लागेको जानकारी गराउनु भयो ।

त्यस्तै बुटवल उप–महानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यले सरकारले ल्याएको नारा ‘समृद्ध नेपाल खुसी नेपाली’ शान्तिको आधार भएको बताउँदै नारालाई सार्थक बनाउनकालागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने धारणा राखिन् । उनले संघीय सरकार र प्रदेश सरकारले बनाउनु पर्ने कानुन नबनाउँदै स्थानीय सरकारलाई कानुन निर्माणमा समस्या भएको बताउँदै कर्मचारी समायोज नहुँदा पनि काममा बाधा पुगेको उल्लेख गरिन् ।

नेपाल जेसीजका उपाध्यक्ष अर्जुन अधिकारीले शान्ति कायम गर्न र हिंसा न्यूनिकरणकालागि नेपाल जेसीजले पहिलेदेखि नै अभियान सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा पत्रकार भवानीप्रसाद पाण्डेले युवा, द्वन्द्व र शान्ति आपसमा जोडिएको उल्लेख गर्दै विभिन्न देशका उदाहरण सहित युवालाई शान्तिमा जोड्न सकिने बताए । २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवाको संख्या रहेको बताउँदै उनले १६ देखि ४० वर्ष उमेर समुहका १ करोड ६ लाख युवा मध्ये ४० लाख युवा अध्ययन तथा रोजगारीको सिलसिलामा बिदेश पलायन भएको तथ्यांक प्रस्तुत गरे । रोजगारीकालागि बिदेश पलायन हुने युवाको संख्या घटेको भएपनि रेमिट्न्स बढेको बताउँदै उनले मुलुकको स्थायी शान्तिकालागि युवालाई स्देशमै काम गर्ने वातावरण बनाउनु पर्ने र त्यहिबाट समृद्धि प्राप्त गर्न सकिने उल्लेख गरे ।

त्यस अवसरमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले शान्तिकालागि युवाहरुको भूमिकाका बिषयमा प्रवचन दिएका थिए । कार्यक्रममा १५० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले मुलुकमा दिगो शान्ति सम्भव छ र शान्ति र समृद्धिकालागि आफ्नो ठाउँबाट थोरै भएपनि योगदान दिन सकियोस भन्ने उद्देश्यले अभियानको थालनी गरिएको बताए । कार्यक्रम बुटवल जेसीजका महासचिव राजिव गौतमको सञ्चालनमा भएको थियो ।