विकास के हो भन्ने प्रश्नको विकास को स्वरुप निर्धारण गर्छ । विकासका बुझाईबारे म दुईवटा परिकल्पना गर्छु ।
परिकल्पना एक
खासै शहर नडुलेको कुनै दुर्गम गाउँको मानिसलाई बुटवल ल्याउने, उसलाई एसी कारमा मणिग्रामदेखि बुटवलको ६ लेन बाटोमा गुडाउने, भाटभटेनीको इस्केलेटरमा चढाउने, स्वीमिंग पुलयुक्त ड्रीमल्याण्ड वा डेनोभोमा राख्ने, पब, बार, क्याफेको अनुभव दिलाइदिने । उक्त मानिसले गाउँ फर्केर बुटवल शहरबारे छर छिमेकीलाई के व्याख्या गर्ला ?
परिकल्पना दुई
न्युयोर्क शहरको मानिस जसले तेस्रो विश्वको मुलुक देखेकै छैन । उसलाई भैरहवाको एयरपोर्टमा ओरोलेपछि ८ वर्षदेखि पनि पूर्णता नपाएको खाल्डाखुल्डी भएको भैरहवा–बुटवल सडकखण्डमा कोचाकोच माइक््रmोमा उभ्याएर यात्रा गराउने, फोहोर तन्ना भएको सस्तो होटलमा राख्ने, डम्पिङ साइटको छेउमा टीनले बारेर बसेको सुकुम्बासी बस्तीमा डुलाउने । उक्त मानिसले न्युयोर्क पुगेर बुटवल शहरबारे कस्तो व्याख्या गर्ला ?
कहाँ पुग्ने भन्ने प्रश्नले कुन बाटो हिंड्ने भन्ने निर्धारण गर्छ । हामी सामाजिक न्याय सहितको आर्थिक उन्नतिलाई विकासको अर्थको रुपमा बुझ्छौँ भने केही फरक बाटो हिंड्ने आँट गर्नैपर्छ ।
कहाँ छ प्रदेश पाँच ?
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गत जेठमा प्रकाशन गरेको ‘नेपालको जनसांख्यिकी, सामाजिक, आर्थिक तथा वित्तिय प्रोफाइल’का केही तथ्यांकले प्रदेश नम्बर पाँचका सम्भावना र चुनौती प्रष्ट पार्छ ।
देशको कुल गार्हस्थ उत्पादनलाई हेर्ने हो भने सबैभन्दा बढी योगदान प्रदेश नम्बर तीनको छ (३१.९ प्रतिशत) । प्रदेश नम्बर पाँच भने १०.६ प्रतिशत योगदान सहित चौथो स्थानमा आउँछ । प्रदेश २ भने तेस्रो स्थानमा आउँछ १६.२ प्रतिशत सहित ।
क्षेत्रगत उत्पादन हेर्ने हो भने समग्र कृषि उत्पादनमा प्रदेश १ ले २१.५ प्रतिशत सहित पहिलो स्थान ओगटेको छ भने १६.९ प्रतिशत सहित प्रदेश ५ ले तेस्रो स्थान ओगटेको छ । त्यस्तै १८ प्रतिशत सहित प्रदेश २ दोस्रो स्थानमा छ । उद्योग क्षेत्रमा प्रदेश ३ ले ३१ प्रतिशत सहित पहिलो स्थान ओगटेको छ, प्रदेश ५ ले १०.४ सहित पाँचौ स्थान ओगटेको छ भने प्रदेश २ ले २४ प्रतिशत सहित दोस्रो स्थान ओगटेको छ ।
सेवा क्षेत्रमा पनि ४४.५ प्रतिशत सहित प्रदेश नम्बर १ ले पहिलो स्थान ओगटेको छ भने प्रदेश ५ ११.७ प्रतिशत योगदान सहति चौथो स्थानमा छ । प्रदेश २ ले १३.४ प्रतिशत सहित दोस्रो स्थान ओगटेको छ ।
कृषि र सिंचाइको आँकडा हेर्ने हो भने प्रदेश २ अगाडि आउँछ । प्रदेश २ को ६६.३ प्रतिशत खेती गरिएको जमिनमा सिंचाई सुविधा पुगेको छ । प्रदेश ५ मा ४०.३ प्रतिशत खेती गरिएको जमिनमा सिंचाई छ, यो चौथो स्थान हो । त्यस्तै कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा खेती गरिएको क्षेत्रफल पनि प्रदेश २ मा सबैभन्दा बढी ८८.९ प्रतिशत छ भने प्रदेश ५ ले पाँचौ स्थानमा छ ७४.८ प्रतिशत सहित ।
सबैभन्दा धेरै उद्योग ९६५ वटा प्रदेश ३ मा छ, प्रदेश ५ मा ८२७ वटा छ जुन दोस्रो स्थान हो भने ८ सय १२ वटा उद्योग सहित प्रदेश २ दोस्रो स्थानमा छ ।
कुल सडकको अंशमा प्रदेश ३ पहिलो छ २४.४ प्रतिशत सहित, प्रदेश ५ चौथो स्थानमा छ १५.४ प्रतिशत सहित भने प्रदेश २ पाँचौ स्थानमा छ १० प्रतिशत सहित ।
सडकको घनत्व (प्रति वर्ग किमी क्षेत्रफलमा किमी लम्बाई सडक)को सापेक्षमा हेर्ने हेर्ने हो भने तथ्यांक फरक छ । प्रदेश ३ पहिलो स्थानमा छ ०.८५ किमी प्रति वर्ग किमी, प्रदेश ५ तेस्रो स्थानमा छ ०.६३ किमी प्रति वर्ग किमी सहित भने ०.७३ किमी प्रति वर्ग किमी सहित प्रदेश २ दोस्रो स्थानमा छ ।
केही भौतिक पक्षको यो तथ्यांकले प्रदेश पाँच चौथो र पाँचौ स्थानमा रहेको देखाउँछ भने प्रदेश ३ सबैभन्दा अगाडि भएको देखाउँछ । प्रदेश २ को स्थान पनि बलियो नै छ ।
अब केही सामाजिक पक्ष हेरौं । प्रदेश २ को औसत आयु ७०.४ वर्ष छ जुन समग्र प्रदेशको पहिलो स्थान हो । ६७.६ सहित प्रदेश ५ चौथो स्थानमा छ जुन राष्ट्रिय औसत आयु ६८.८ भन्दा कम हो । बाल मृत्युदरमा भने प्रदेश २ अगाडि छ ५८.४ प्रतिहजार जन्म सहित । प्रदेश ५ ४३.७ सहित चौथो स्थानमा छ, जुन राष्ट्रिय औसत बाल मृत्युदर ४०.८ भन्दा बढी नै हो । मानव विकास सूचकांकमा प्रदेश ३ अगाडि छ ०.५१३ अंक सहित भने प्रदेश ५ चौथो स्थानमा छ ०.४६८ सहित (जुन राष्ट्रिय माविसू ०.४९० भन्दा कम नै हो) । प्रदेश दुई छैठौ स्थानमा छ ०.४२१ अंक सहित ।
मानव गरीबी सूचकांकमा प्रदेश २ अगाडि छ ४१.९ अंक सहित, प्रदेश पाँच चौथो स्थानमा छ ३१.६ अंक सहित जुन राष्ट्रिय मागसू ३१.१भन्दा थोरैमात्र बढी हो । साक्षरता प्रतिशतलाई हेर्ने हो भने प्रदेश ३ सबैभन्दा साक्षर देखिन्छ ६९.३ प्रतिशत सहित, प्रदेश ५ तेस्रो स्थानमा छ ५९.४ सहित जुन राष्ट्रिय साक्षरता प्रतिशत ५९.६ भन्दा थोरै कम हो भने प्रदेश २ को साक्षरता सबैभन्दा कम छ ४०.९ प्रतिशत मात्र ।
माथिका यी तथ्यांकहरुले केही प्रष्ट संकेत गर्छन् । प्रदेश पाँच भौतिक पक्षको दृष्टिले चौथो र पाँचौ स्थानमा छ र सामाजिक पक्षमा पनि चौथो स्थानमा देखिन्छ । शिक्षामा भने तेस्रो स्थान छ ।
माथिको तथ्यांक प्रस्तुत गर्दा प्रदेश २लाई पनि समेट्नुको कारण एउटै हो । भौतिक पक्षमा प्रदेश २ दोस्रो स्थानमा देखिए पनि सामाजिक पक्षमा कमजोर देखिन्छ । रोचक त बाल मृत्युदर पनि बढी छ, औसत आयु पनि बढी छ । कुल गार्हस्थ उत्पादन, कृषि, उद्योग, सेवा, खेती योग्य जमिनको सदुपयोग, सिंचाई, सडक जस्ता पक्षमा दोस्रो र तेस्रो स्थान ओगटेको प्रदेश २ को सामाजिक पक्ष किन कमजोर छ ? मानव विकास सुचकांक र गरिबी दर किन बढी छ ? नेपालको आगामी विकासको बहस यो प्रश्नको समाधानतर्फ उन्मुख हुनुपर्छ । होइन भने भौतिक पक्षको विकासले मात्र सुखी र खुशी जीवन हासिल गर्न सकिदैन ।
माथिको आंकडाले प्रदेश पाँचका चुनौती प्रशस्त छन् भन्ने प्रष्ट पार्छ । यी चुनौतिको सही सामनाले नै प्रदेशको विकासको भविष्य कोर्छ । एउटै देशमा पनि फरक प्रदेशको फरक नीतिले फरक परिणाम ल्याउँछ भन्ने उदाहरण भारतको केरला र उत्तर प्रदेश हुन् । स्वतन्त्रताको समयमा लगभग लगभग उस्तै स्थितिमा रहेका केरला र उत्तर प्रदेश बीच पछि किन उल्लेखनीय फरकपना भेटियो ? यो प्रश्नको समाधानको क्रममा ‘भारतीय राज्योंका विकास’ पुस्तकमा ज्याँ द्रीज र हैरिस गजदर लेख्छन्— ‘केरलाको अनुभवले विकासको शुरुवातदेखि नै प्रतिबद्ध सामाजिक सक्रियताले सकारात्मक योगदानको सम्भावना उजागर गर्दोरहेछ भन्ने बताउँछ भने उत्तर प्रदेशको अनुभवले अकर्मण्यताको भारी कति गहंै हुन्छ भन्ने प्रष्ट पार्छ । केरलाको सफलतामा भुमिसुधार, महिला–पुरुष समता, प्राथमिक शिक्षा, स्थानिय लोकतन्त्र आदिको महŒवपूर्ण भूमिका छ । यिनै विषयमा व्याप्त सामाजिक निष्क्रियताले उत्तर प्रदेशले भारी मुल्य चुकाउनु परेको छ ।’
हामीले केरला र उत्तर प्रदेशको फरकपनाको शिक्षा लिनु जरुरी छ । हिंड्ने त आफ्नै बाटो हो ।
सामथ्र्यको विकास
दीर्घकालिन विकासको चाहना राख्ने हो भने र सामाजिक समानतातर्फ उन्मुख हुने हो भने मानवीय सामथ्र्यको विकासमा जोड दिनैपर्छ । मान्छेको क्षमतामा अभिवृद्धि गर्ने हो भने सम्भावनाका असंख्य बाटा आफँै खुल्नेछन् । मानविय सामथ्र्यको विकासमा आर्थिक समृद्धिले भूमिका खेल्छ तर यसका साथै अन्य कैयौ सामाजिक, सांस्कृतिक पक्षको पनि उत्तिकै भूमिका हुन्छ । शिक्षा मानविय सामथ्र्यको विकासको सबैभन्दा बलियो हतियार हो । तर यस्तो शिक्षा ज्ञान, सीप र रोजगारीसँग जोडिएको हुनुपर्छ । सामाजिक न्याय मानवीय सामथ्र्य वृद्धिको अर्को महŒवपूर्ण पक्ष हो । यसको लागि प्रदेश ५को सामाजिक बनोटको मसिनो अध्ययन हुन जरुरी छ । सामाजिक अन्तरलाई घटाउँदै, मूलधारभन्दा पर रहेका समुदायको उन्नतिमा विशेष योजना र कार्यक्रम लागु गर्नुपर्नेछ ।
गरीबी अन्त्यको उयाय
गरीबीलाई आर्थिक पूँजीसँग जोडेर हेर्ने चलन प्रबल छ । तर गरीबी सामाजिक पूँजीसँग पनि उत्तिकै निर्भर छ । मानवशास्त्री सुरेश ढकालले पूर्वी तराईको अध्ययन गरेर लेखेको अनुसन्धानमूलक लेख ‘गेटिङ इन्टु एण्ड आउट अफ पुर्भटीः एन एक्स्पोलोरेसन् अफ पुर्भटी डाइनामिक्स इन इस्टर्न तराई’ले गरीबीमा धकेलिनु र बाहिरिनुमा सामाजिक पूँजीमाथिको पहुँच, त्यसको विस्तार, उत्पादन र पुनर्उत्पादनको ठूलो भूमिका हुने प्रष्ट पारेका छन् ।
प्रदेश ५मा गरीबी व्याप्त छ । नेराबको माथि उल्लेखित प्रतिवेदन अनुसार प्रदेश ५ को गरीबीको दर २५.८ (राष्ट्रिय २५.२), गरीबीको विषमता ६.५ (राष्ट्रिय ५.४३), गरीबीको गहनता २.३ (राष्ट्रिय १.८१) रहेको छ । यो गरीबीबाट मुक्त हुने उपाय भनेको आर्थिक प्रगति मात्र होइन सामाजिक पूँजीको वृद्धि पनि हो । यदि सामाजिक पूँजीको वृद्धि भएन भने आर्थिक प्रगति हुँदै जाँदा सामाजिक पूँजी बलिया हुनेको पहुँच झनै बढ्दै जाने र स्तर उकासिने तर सामाजिक पूँजी न्युन हुनेहरु पहुँच विहिन हुँदै गरीबीको जालोमा जाँकिदै जाने अनि आर्थिक असमानता चुलिदै जाने परिणाम आउनसक्छ ।
प्रदेश ५ सिंगो देश जस्तै सामाजिक विविधताले युक्त छ । ब्राह्मण, क्षेत्री सहित बहुमत संख्यामा मगर, थारु र मुसलमानको बस्ती हो यो । त्यस्तै अवधि र थारु भाषाको जनसंख्या पनि उच्च छ । यी फरक फरक समुदायको गरिबीको तथ्यांक, सामाजिक पूँजीमा उनीहरुको पहुँचको विश्लेषण गरेर सामाजिक पँुजी वृद्धिको कार्यक्रमले मात्र गरीबीको जालोबाट मुक्त हुनसकिन्छ । यो प्रदेशमा सुकुम्बासी, भूमिहिन पनि ठूलो संख्यामा छन् । त्यसैले भूमि समस्याको सही समाधानले सामाजिक पूँजी वृद्धि गर्न ठूलो योगदान गर्नेछ ।
स्थानिय ज्ञानको प्रयोग
विकास कसको बलमा ? अहिलेसम्म नेपालको विकास नेताको खल्तीबाट आएको छ । चुनावमा पनि नेताले नै विकासको सपना देखाउँछन् । जननिर्वाचित भइसकेपछि पनि योजना निर्माणमा नेताको खल्तीबाट नै विकास चुहिन्छ । विकास थोपरिने (इम्पोज) हो वा समुदायबाटै सिर्जित (जेनेरेट) हुने हो ? सफल विकासका कैयौं उदाहरणले सिर्जित विकासलाई जोड दिन्छ । भक्तपुरमा सिद्धपोखरीको पुनःनिर्माणको क्रममा पानी चुहिने, रसाउने समस्या देखियो । त्यसको समाधानको लागि आरसीसी गर्ने उपाय थियो । तर स्थानिय जनताले स्थानिय ज्ञान दिए कालोमाटोले टाल्ने । स्थानिय ज्ञानको प्रयोगले सिद्धपोखरी पुनःजीवित भयो । प्रदेश ५ आदिबासी थारु जातिको बाहुल्यता भएको प्रदेश हो । यो जातिसँग अन्तरनिहित वनस्पतिजन्य ज्ञानको संरक्षण र प्रशोधन गर्ने हो भने विकासको नयाँ गोरेटो कोर्ने सम्भावना छ । त्यस्तै मगर जाति केवल लाहुरे हुने जाति होइन इतिहासको खानी खन्ने जाति पनि हो । यस्ता स्थानिय ज्ञानको बेलैमा संरक्षण र प्रशोधन गर्नुले विकासको अर्को डाइनामिक्सको उद्घाटन गर्नेछ ।
स्थानिय जनसमुदायको विकासका कार्यक्रममा सहभागिताको लागि स्थानिय तहको सामथ्र्य वृद्धि गर्नु जरुरी छ । संविधानले स्थानिय तहलाई प्रशस्त अधिकार दिएता पनि ज्ञान र क्षमताको अभावले उत्तर प्रदेशको जस्तो अर्कमण्यतामा फस्ने सम्भावना पनि उत्तिकै छ । स्थानिय तहको सामथ्र्य वृद्धिमा प्रादेशिक सरकारले पनि उत्तिकै जोड दिनु जरुरी छ ।
जनशक्तिको बलियो आधार
विकास मान्छेको समाजको लागि मान्छेले नै गर्छ । त्यसैले मान्छे बलियो हुनु जरुरी छ । शिक्षाले सम्भावनाको दैलो उघार्छ, सांस्कृतिक जडताबाट मुक्त गर्छ र सीपप्रदान गर्दछ । स्वस्थ नागरिक भएमात्र बलियो राज्य हुन्छ । शिक्षा र स्वास्थ्यमा प्रादेशिक र स्थानिय सरकारले प्रशस्त लगानी गर्नु जरुरी छ ।
प्रदेश ५ मा हाल दुईवटा विश्वविद्यालय छन् । दुवै विश्वविद्यालय दर्शनसँग अभिन्न ढंगले गाँसिएका छन् । नेपाल संस्कृत विश्वविद्यालय पूर्वीय दर्शनसँग गाँसिएको छ भने लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध दर्शनसँग सम्बन्धित छ । ज्ञानको उत्पादनको लागि यो सुखद पक्ष हो । तर यी विश्वविद्यालयलाई प्रादेशिक सरकारले नै सञ्चालन गर्नु जरुरी छ । नेपाल संस्कृत विश्वविद्यालयलाई कर्मकाण्डबाट मुक्त गरेर जीवनमुखी ज्ञानको खोजीमा बदल्नु आवश्यक छ । पुरातत्व, मानवशास्त्र, प्राचिन संस्कृतिको अध्ययनको केन्द्रको रुपमा नेपाल संस्कृत विश्वविद्यालयको रुपान्तरणबारे बहस हुन जरुरी छ । त्यस्तै बौद्ध विश्वविद्यालयलाई पनि उत्पादनसँग गाँस्न जरुरी छ । अन्य विश्वविद्यालयको स्थापनाबारे पनि बहस आवश्यक छ । विभिन्न जातिको संस्कृतिको संरक्षण, तिनको उत्पादनमा परिवर्तनको लागि कला र संस्कृतिको विश्वविद्यालयको आवश्यक छ । जस्तो कि अर्घाखाँचीका नेवारहरुको भैरव नाचको बेग्लै विशिष्टता छ, थारुहरुको नाच र जीवनशैली, मगरहरुको कौडा, मारुनी, नचरी जस्ता नाचहरु र अनेकन संस्कृतिको समयानुकुल परिवर्तन सहित संरक्षणका लागि विश्वविद्यालयको आवश्यकता छ जसमा संसारबाट विद्यार्थीहरु निम्त्याउन सकिन्छ ।
नसर्ने रोेगबाट नेपाली समाज ग्रसित हुँदैछ । जघन्य रोगको उपचारको लागि राज्यको उल्लेखनीय योगदान आवश्यक छ होइन भने स्वास्थ्य क्षेत्र व्यापार बन्दैजान्छ । एकथरी व्यापारी मोटाउँदै जान्छन् र आम नागरिक स्वास्थ्य उपचारकै कारण गरीबीको जालोमा फँस्दै जान्छ ।
डिलिंक, डिलिंक, डिलिंक
प्रख्यात राजनीतिक अर्थशास्त्री समीर अमिनले अधिक परनिर्भरतालेनै गरीबीको चक्र घुमाइरहने विश्लेषण गरे । त्यसैले उनले तेस्रो विश्वका मुलुकलाई प्रगतिको लागि उपाय सुझाए— डिलिंक । अर्थात्, पश्चिमा धनी देशहरुले थोपर्ने विकासको मोडलबाट आफुलाई अलग गर । राष्ट्रिय उत्पादनमा जोड देऊ । आत्मनिर्भरतामा जोड देऊ । नेपालको सन्दर्भमा सिंगो देशको लागि समीर अमिनको उयाय जति आवश्यक छ प्रदेशमा पनि उत्तिकै आवश्यक छ । एउटा प्रख्यात पुस्तकको स्मरण गरौं, डेभिड सेडन, क्यामेरुन, ब्लाके लिखित ‘नेपाल इन क्राइसिस’ । यो पुस्तकले कसरी एउटै देशभित्र पनि केन्द्र र परिधिको निर्माण गर्छ भन्ने औल्याएको छ । प्रदेशहरु केन्द्रको परिधि बन्ने कि आफुलाई डिलिंक गर्ने ? यदि डिलिंक गर्ने हो भने आत्मनिर्भरताको बाटो खोज्नै पर्छ । पुर्णतया आत्मनिर्भरता असम्भव होला तर पूर्णतया निर्भरताको समाधान छ ।
प्रदेश ५ सामाजिक पक्षमा मात्र होइन अन्य भौतिक पक्षमा पनि चुनौतीले भरिपूर्ण छ । खेतीयोग्य जमिनको प्रचुरता र उद्योग स्थापनाको सम्भावना हुँदा हुँदै पनि पहिलो तहको नदीको कमीले गर्दा विद्युत उत्पादन र सिंचाईमा बलियो छैन । यसलाई केन्द्र सरकारसँगको सहकार्यमा समाधान गर्दै अन्तरनिर्भरतामा वृद्धि गर्ने उपायको खोजी गर्नुपर्छ । विकासको आफ्नै बाटोको खोजीले मात्र प्रदेश ५को विकासको सुन्दर भविष्य कोर्न सकिन्छ । प्रश्न त उही हो, विकासको अर्थको खोजीले नै विकासको बाटो कोरिन्छ । -रामचन्द्र श्रेष्ठ
(२०७५ असोज ११ गते बिहिबारको अन्नपूर्ण पोष्टको अतिरिक्तांक ‘समृद्ध पश्चिम’को विशेष लेखको रुपमा प्रकाशित)
प्रतिक्रिया