कुनै मुलुकले आर्थिक समृद्धिको साथसाथै मानव संशाधनको विकासमा श्रेष्ठता प्राप्ति गर्नका लागि सक्रिय युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहने गर्दछ । नेपाली अर्थतन्त्रमा देशको मेरुदण्डका रुपमा युवा जनशक्ति रहने कुरा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमले मात्रै स्वीकार गरेका छन् । देश सञ्चालनका लागि नीति निर्माण गर्ने राजनीतिक पार्टीका कार्यक्रममा युवा विनाको विकास मुर्दा विकास हो भन्ने सामान्य चेतना समेत नभएको कारणले आज हरेक दिन २ हजार बढी सक्रिय जनशक्तिले मुलुक छाडिरहेका छन् ।
नेपाली अर्थतन्त्रले दीगो, फराकिलो तथा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नका लागि, उत्पादनशील अर्थतन्त्रमा आफूलाई परिणत गर्नका लागि आवशयक पर्ने सक्रिय जनसङ्ख्या प्राप्त गरेको पक्षलाई जनगणना २०७८ को प्रतिवेदनले प्रमाणित समेत गरेको छ । जनगणना २०७८ को प्रतिवेदन अनुसार कुल जनसंख्याको ६५.५ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय रहेकोमा जनसंख्याको ४२.५६ प्रतिशत युवाहरु (१५ वर्ष देखि ४० वर्षसम्म) छन । यस्तो उमेर समुहको संख्या वि.स. २०६८ मा कुल जनसंख्याको ४०.३५ प्रतिशत मात्रै रहेको थियो ।
देशको विकास योजना तथा कार्यक्रममा प्रत्यक्ष रुपमा युवाको सहभागिता रहेमा देशको आर्थिक सामाजिक क्षमता, प्रशासनिक दक्षता, शैक्षिक गुणस्तर, उत्पादकता, संगठनात्मक क्षमता र दूरदृष्टि सहित क्षेत्रमा आमूल परिवर्तन आउने कुराको ईतिहासका रुपमा जापान, चीन, उत्तरकोरियाली अर्थतन्त्रलाई मान्न सकिन्छ । युवा मानव पूँजी हो, जसले देशको जनसंख्याको क्षमता, सीप र प्राविधिक ज्ञानलाई जनाउँछ । कुनै पनि देशले आफ्नो जनशक्तिको विकासका लागि जनशक्ति योजना लागू गर्नुपर्छ । आर्थिक विकासका लागि प्राकृतिक र मानव श्रोत दुवैको समुचित उपयोग गर्नु अति आवश्यक छ ।
प्राकृतिक सम्पदाको समुचित उपयोग र राष्ट्रिय सम्पत्तिको उत्पादनको स्तर मानव श्रोतको दायरा र दक्षतामा धेरै निर्भर हुन्छ । यी दुवै कार्यको व्यवस्थापन तथा सञ्चालनका लागि नेपाली विकास मोडल तथा कार्यक्रमले युवालाई प्रथमिककतामा राख्न नसक्नु दुःखद हो । नेपाली सरकारको प्राथमिकतामा आन्तरिक रोजगारी सिर्जना र स्वाधिन अर्थतन्त्रका आधार नपरेकै कारण आज ५० लाख भन्दा धेरै युवाहरु तेस्रो मुलुकको समृद्धिका लागि योगदान गरिरहेका छन् ।
वर्तमान समयमा नेपाली युवामा चरम निरासा छाएको छ । जसका लागि मुख्य रुपमा हाम्रो विकासको मोडल, समाजमा दिनप्रतिदिन बढ्दै गएको पूँजी पूजन संस्कार, आन्तरिक रोजगारीमा आएको शुन्यता, सरकारी कार्यालयमा रहेको भ्रष्टाचार, अस्थिर राजनीति आदिले नेपालमा युवा देशमा बस्न चाहन्न । यहि अवस्थालाई मलजल पुग्नेगरि विकासमा कार्यक्रमको निरन्तरता सरकारले दिईरहँदा देश युवा विहिन बन्ने खतरामा पुगेको छ ।
सामाजिक आर्थिक कल्याणको दृष्टिकोणले मानव संसाधनको विस्तृत अध्ययन गर्नु एकदमै आवश्यक छ । यसमा जोड दिनुपर्छ कि मानव वस्तु तथा सेवा उत्पादन प्रक्रियाको महत्वपूर्ण साधन हो । यसको सकारात्क प्रयोगले एकै समयमा, सबै आर्थिक गतिविधिहरूको प्रतिफलका माध्यबाट मानव जीवनको अवस्थामा आमुल सुधार हुन्छ । तसर्थ, यसको महत्वलाई ध्यानमा राख्दै, नेपालको जनसंख्याको आकार, वृद्धि दर, संरचना, वितरण र अन्य सबै जनसांख्यिकीय विशेषताहरू दुवै मात्रात्मक र गुणात्मक रूपमा जान्नु एकदमै आवश्यक छ । वर्तमान समयमा विकसित मुलुकमा पुगेका देशहरुले पनि विगतमा आफ्नो देशको बजेटलाई युवा लक्षित कार्यक्रम मार्फत मानव संसाधनको विकासमा प्रयोग गरेकोले नै आज त्यो उपलब्धि सम्भव भएको हो ।
कुल जनसंख्यामा युवा समूहको बढ्दो अनुपात देशको विकासका लागि वरदान मानिए पनि ठूलो संख्या हुँदैमा स्वचालित रूपमा आर्थिक विकास भने हुँदैन । आर्थिक विकास भनेको देशमा उपलब्ध साधन–स्रोतको सदुपयोग गरेर गर्ने हो, बाह्य पूँजी र प्रविधिको सहायक भूमिका मात्रै रहने हो । नेपालमा सबैभन्दा प्रचुर, सस्तो र सहज उपलब्ध विकासको साधन भनेको युवा उमेरको जनसंख्या नै हो । यसैको बढीभन्दा बढी उपयोग गर्ने नीति लिन सके मात्रै आर्थिक विकासले सही दिशा र गति लिन्छ । अनि कृषि, पर्यटन र जलस्रोत क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर देशको आर्थिक विकास गर्न सकिन्छ ।
नेपालका तिन तहका सरकारका अधिकाशं योजना तथा कार्यक्रमहरु श्रमको उत्पादकत्वमा उत्पादन तथा आयाम वृद्धि गर्न सकिन्छ भन्ने मान्यताको विपरित देखावटी र कागजप्रेमी छन् । जसले हिजोआज उत्पादनमा श्रम, पूँजी र प्रविधि बीचको सन्तुलित प्रयोगले युवाका लागि व्यापक रोजगारी सिर्जना गर्न सक्ने विश्वव्यापी तथ्यलाई नजर अन्दाज गरिरहेका छन् । युवालाई सर्वसुलभ गुणस्तरीय शिक्षा, स्वास्थ्य, तालिम आदिको विस्तारबाट राज्यले भविष्यमा श्रमको उत्पादकत्वमा अनुकूल प्रभाव पार्न सक्छ र रोजगारी सिर्जना गर्छ । व्यावसायिक शिक्षा तथा तालिममार्फत श्रमलाई उत्पादन कार्यसँग जोड्दा रोजगारीको अवसर सिर्जनामा सहयोग पुग्ने देखिन्छ ।
नेपाल अहिले सक्रिय जनसंख्याबाट प्राप्त हुने जनसांख्यिकी लाभ लिने अवस्थामा रहेता पनि राज्य र निजी क्षेत्रले समाजमा रोजगारीका अवसर सिर्जना नगरेसम्म युवा सक्रिय जनसांख्यिकीय लाभले लिन सक्दैन ।
नेपाली राजनीति वर्तमान समय सम्ममा पनि मुलुक सुहाउँदो आर्थिक सामाजिक विकासको लागि कस्तो प्रकारको युवा नीति लिने, आत्मनिर्भर अर्थतन्त्रका लागि कस्तो नीति अभ्यास गर्ने भन्नेबारे अन्योल कायमै छ । विदेशमा युवाहरूले सिकेको सीपलाई सदुपयोग गरेर अघि बढ्दा चीन अहिले विश्व अर्थतन्त्रको नेतृत्व गर्ने अवस्थामा पुग्यो । जापानले युवामा लगानी मार्फत उच्चतम प्रविधि प्रयोग गरि आज प्रविधिको हरेक क्षेत्रमा अग्रस्थानमा छ ।
त्यसकारण नेपाली विकास मोडल तथा योजनाहरु बहुराष्ट्रिय कम्पनीहरूमा काम गरेका नेपाली युवाहरूको सीपलाई स्वदेशमा प्रयोग गर्न सकिने गरि बनाउनु आवश्यक छ । यसका लागि सरकार आफैंले प्राथमिकताका साथ सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत लगानीका लागि पहल गर्न सक्छ । सरकारी जग्गाहरू भाडामा लिएर औद्योगिक ग्राम निर्माण गर्न सकिन्छ । आर्थिक क्षेत्र (सेज) मा पनि अन्तर्राष्ट्रिय लगानीलाई आकर्षण गरि वर्तमान समयको प्रतिभा पलायन रोक्न सक्ने आधार रहेता पनि तीन तहका सरकारको ध्यान नियमित कर्मबाट माथि उठ्न नसक्नु युवाका लागि दुर्भाग्य नै हो । युवाहरूले विदेशमा सिकेको सीप अन्तर्गतका उद्योगहरूलाई राज्यले प्रवर्द्धन गरिदिने हो भने आन्तरिक रोजगारी सिर्जनासँगै निर्यातमा समेत ठूलो प्रभाव पर्छ ।
प्रतिक्रिया