ताजा अपडेट »

दाहाललाई बजारेर स्वाद चाख्छन् ओली

बुधबार, २९ फागुन २०७५
फाइल तस्विर

फागुन २९,
काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सोही पार्टीका अर्का अध्यक्ष केपी ओलीको लात त होइन बात चाहिं पटक–पटक खाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन फागुन २४ गते राजधानीमा आयोजित राजनीतिक घोषणा कार्यक्रममा अध्यक्ष दाहालकै सामु ओलीले मधेस टुक्राउन आन्दोलनरत स्वतन्त्र मधेस गठबन्धनका नेता सीके (चन्द्रकान्त) राउतसँग तुलना गरे । सिके राउतझैँ माओवादी ‘जनयुद्ध’ छोडेर शान्तिपूर्ण बाटोमा आएको कारण अध्यक्ष दाहाललाई एउटै ड्याङमा राखेको अड्कल राजनीतिक वृत्तमा नभएको होइन । के नेता राउत दाहालसँग दाँज्न मिल्ने नेता हुन् ? राउत दाहालसँग तुलना गर्दा कतै दाहाल पनि एक समयमा देश टुक्राउन लागिपरेका नेता त होइनन् ? भन्ने शङ्का गर्ने ठाउँ छ ।
अध्यक्ष दाहाल यसअघि पनि ओलीको शब्द वाणबाट धेरैपटक सिकार भइसकेका छन् या बात खाइसकेका छन् । विचरा दाहाललाई बात खाएर नबसी सुखै छैन । पार्टी अध्यक्षमात्र होइन प्रधानमन्त्री पद पाउने लालसाले पनि ओलीको बात खान बाध्य छन् दाहाल । तर, केपी ओलीको अभिव्यक्ति हेर्दा दाहाल आशा गर्दागर्दै भोकै बास पो हुने हो कि भन्ने शङ्का पनि भएको होइन । एमालेसँग नमिलेको भए माओवादीको स्थिति ओरालो लाग्नेबाहेक उकालो लाग्ने स्थिति पनि छैन । अनि ओलीमा घमण्डको पारो नचढ्नु पनि कसरी ! पार्टी जोगाउन उनले केसम्म गरेनन् ? सिद्धान्त र विचारलाई बन्धकमा राखेर उनी सरकारमा पुगेका छन् । विगतको क्रान्तिकारीपन सबै उनले सिंहदरबारमा थन्काएका छन् । अनि उनले संसदीय व्यवस्थामै रमेर, रजाइँ गरेर देशमा आमूल परिवर्तनको आशा नदेखे अरु के देख्छन् ?
बातमात्रै खाएरै जहिल्यै निरास भएर हिँड्ने दाहालले पालैपालो सरकारको नेतृत्व गर्नेबारे ओलीबीच सहमति भएको कुरा सायद भारतीय शासकसामु त्यतिकै फुकेका होइनन् । सिके राउतलाई राजनीतिक मूल धारमा आउन आग्रह गरिएको सो कार्यक्रममा राउतकै सूचीमा नेता दाहाललाई राख्नुपर्ने हो र ! कतै दाहाललाई उचालेर बजारेको त होइन ? अरुलाई बजार्न पाएपछि आनन्दको अनुभूति गर्ने प्रम ओलीको त स्वभावै भयो नि होइन ? जेहोस्, प्रम ओलीले त्यो दिन आफ्नै पार्टीका अध्यक्ष दाहाललाई बजारेर मज्जाले स्वाद लिएकै हुन् ।
– गौरव प्रधान