गाई जात :
विश्वमा करिब एक हजारभन्दा बढी गाईका जात छन् । विश्वमा कुल गाई सङ्ख्या ९९३.३ मिलियन (९९ करोड ८३ लाख) छ । करिब २६४ मिलियन दूधालु गाईबाट वार्षिक करिब ६०० मिलियन मे.टन दूध उत्पादन हुन्छ । सबैभन्दा बढी गाई सङ्ख्या भारतमा ३०० मिलियनभन्दा बढी, दोस्रो स्थानमा ब्राजिल २१० मिलियन र त्यसपछि चीनमा १०० मिलियनभन्दा बढी छ । सबैभन्दा बढी दूध उत्पादन गर्ने देश क्रमशः अमेरिका, भारत, चीन, ब्राजिल, जर्मनी, रुस, फ्रान्स, न्यूजिल्याण्ड हुन । (एफएओ २०१७) ‘सुपर काउ’ ले दैनिक एक सय लिटर दूध दिएको पाइन्छ ।
नेपालमा कुल गाई सङ्ख्या ७३ लाख ४७ हजार ४८७ रहेकोमा दूधालु गाई सङ्ख्या १० लाख २९ हजार ५२९ (१४ प्रतिशत) बाट दूध उत्पादन ६ लाख ६५ हजार २८५ मे.टन रहेको छ । यसको कुल दूध उत्पादनमा ३५ प्रतिशत योगदान रहेको छ । दूधालु जातका गाईहरूमा विदेशी जातहरू खास गरी जर्सी र होल्स्टीन फ्रिजियन जात नै प्रमुख छन् । यिनको सङ्ख्या कुल गाईको करिब १५ प्रतिशत रहेको छ ।
(पशु पक्षी डायरी,२०७५)
होल्स्टीन फ्रिजियन :
उत्पत्ति : नेदरल्याण्डको फ्रिजल्याण्डमा भएको हो ।
रङ : सेतो, कालो, टाटेपाटे
विशेषता : यो गाई संसारकै सबैभन्दा बढी दूध दिने, सेतो, कालो, टाटेपाटे, ढाड अलि कुप्रेको, लामो र साँघुरो मुख, गाई शान्त स्वभावको र साँढे हिंस्रक स्वभावको हुन्छ ।
शारीरिक तौल : साँढेको शारीरिक तौल एक हजार के.जी र माउ ६७५ के.जी.सम्म हुन्छ ।
दूध उत्पादन : दूध उत्पादन प्रति बेत ६ हजार पाँच सयदेखि नौ हजार लिटरसम्म भए तापनि ११ हजार लिटरभन्दा बढी दूध दिएको पाइन्छ । यसको दूधमा औसत चिल्लो पदार्थ ३ दशमलव ४५ प्रतिशत र एस.एन.एफ.८ दशमलव ५६ प्रतिशतसम्म हुन्छ ।
भैँसी जात :
विश्वमा खासगरी तीन प्रजातिका भंैँसीहरू (वाटर, केप, अमेरिकन) रहेका छन् । जस्तै विश्वमा कुल भैँसी सङ्ख्या १८५ दशमलव २९ मिलियन छ । भैँसीको दूध उत्पादन वार्षिक ९ करोड २१ लाख ४० हजार १४६ मे.टन रहेको छ । सबैभन्दा बढी भैँसी सङ्ख्या भारतमा १०५ दशमलव १ मिलियन (५६ दशमलव ७ प्रतिशत) भन्दा बढी रहेको छ । सबैभन्दा बढी भैँसीको दूध उत्पादन गर्ने देश क्रमशः भारत, पाकिस्तान, चीन, इजिप्ट, नेपाल, म्यानमार, इटली, श्रीलङ्का, इरान, टर्की रहेका छन् ।
नेपालमा कुल भैँसी सङ्ख्या ५१ लाख ७७ हजार ९९८ रहेकोमा दूधालु भैँसी सङ्ख्या १५ लाख नौ हजार ५१२ ( २९ प्रतिशत) बाट दूध उत्पादन १२ लाख ४५ हजार ९५४ मे.टन रहेको छ । यसको कुल दूध उत्पादनमा ६५ प्रतिशत योगदान छ । दूधालु जातका भैँसीमा विदेशी जातहरू खासगरी मुर्रा जात नै प्रमुख रहेको छ । यिनको सङ्ख्या कुल भैँसीको करिब ३० प्रतिशत छ । (पशुपक्षी डायरी,२०७५)
मुर्रा भैँसी :
उत्पत्ति : भारतको पञ्जाब र हरियाणामा भएको हो ।
रङ : निक्खर कालो
विशेषता : यो जातको भैँसी दूध उत्पादनका लागि विश्वप्रसिद्ध छ । यो निक्खर कालो शरीर, लामो घाँटी, छोटा नजिकैबाट घुमेको कस्सिएको सिङ, कल्चौंँडो तथा थुनहरू पूर्ण विकसित, लामो पुच्छर र पुच्छरको बीचमा सेतो फुर्को हुन्छ ।
शारीरिक तौलः वयस्क भैँसी र राँगाको शारीरिक तौल ४५० देखि ५०० के.जी. सम्म हुन्छ ।
दूध उत्पादनः प्रतिबेत औसत दूध उत्पादन एक हजार ५०० देखि दुई हजार ५०० लिटर हुन्छ । राम्रो व्यवस्थापनमा ३१० दिनको अवधिमा दुई हजार २०० लिटर दूध उत्पादन भएको पाइन्छ । भारतमा दैनिक ३२ के.जी. दूध दिएको रेकर्ड छ । दूधमा औसत चिल्लो पदार्थ सात प्रतिशत र एस.एन.एफ.१० देखि १२ प्रतिशतसम्म, प्रोटिन ४ दशमलव ५ प्रतिशत र ल्याक्टोज ४ दशमलव ८ प्रतिशत पाइन्छ ।
बाख्रा जात :
विश्वमा करिब तीन सयभन्दा बढी बाख्राका जात छन् । विश्वमा कुल बाख्रा सङ्ख्या ८७५.५ मिलियन छ । सबैभन्दा बढी बाख्रा सङ्ख्या रहेका देशहरूमा क्रमशः चीन, भारत, पाकिस्तान, बङ्गलादेश, नाइजेरिया, इरान, इन्डोनेसिया, केन्या, तान्जेनिया, मङ्गोलिया छन् ।
नेपालमा बाख्रा सङ्ख्या एक करोड ११ लाख ६५ हजार ९९ रहेको छ । यहाँ प्रायः बाख्रा मासु उत्पादनका लागि पालिन्छ । केही वर्ष अगाडिदेखि मकवानपुर जिल्लाको चित्लाङमा सरकारी स्तरमा बाख्रा विकास फार्म र त्यस ठाउँमा निजी स्तरमा सानन जातको बाख्रा पालन गरी ‘डेरी गोट’ चीज बनाउन शुरु गरिएको छ ।
(पशुपक्षी डायरी,२०७५)
सानन
उत्पत्ति : स्वीजरल्याण्डको सानन उपत्यका
रङ : सेतो
हावापानी : चिसो हावापानीमा पाल्न सकिने ।
उपयोग : दूध ।
विशेषता : दूध उत्पादनको लागि विश्वप्रसिद्ध बाख्राको जात, घाम सहन नसक्ने भएकोले चिसो हावापानीका लागि उपयुक्त जात, सीधा वा अलि थेप्चिएको अनुहार, छोटा र मसिना रौँ, ठाडा तथा अगाडितिर तेर्सिएका कान, साधारणतया सिङ नहुने, सेतो रङ भएको र वार्षिक ब्याउने, शान्त स्वभावको बाख्रा हो ।
शारीरिक तौल : वयस्क बोका कम्तीमा ८५ के.जी. र माउ कम्तीमा ६० के.जी.
पाठापाठी उत्पादन : हरेक बेतमा एकल पाठापाठी दिने ।
दूध उत्पादन : १५० देखि १८० दिनको अवधिमा ६०० देखि ७०० लिटर दूध उत्पादन हुन्छ । दूधमा औसत ३ दशमलव ५५ प्रतिशत चिल्लो र २ दशमलव ७ प्रतिशत प्रोटिन हुन्छ ।
नेपालमा ६५ दशमलव ६ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् । नेपाल पाइने स्थानीय जातका गाईहरू क्रमशः अछामी, लुलु, खैला, तराई गाई, पहाडी गाई, सिरी र याक हुन् भने आयातित जातहरूमा क्रमशः जर्सी, होल्स्टीन फ्रिजियन, ब्राउन स्वीस, साहीवाल, रेड सिन्धी, हरियाणा हुन् । यी गाईहरूमध्ये साना किसानहरूले सामान्य पशु आहार तथा व्यवस्थापनमा पाल्न जर्सी गाई नै उपयुक्त हुन्छ । त्यसैगरी नेपालमा पाइने स्थानीय जातका भैँसीहरू क्रमशः लिमे, पार्कोटे र गड्डी र आयातित जात मुर्रा हो । व्यावसायिक रूपमा साना किसानहरूले समेत पालन गर्न सक्ने उपयुक्त जात मुर्रा भैँसी नै हो ।
त्यसैगरी नेपालमा पाइने स्थानीय जातका बाख्राहरू क्रमशः तराई बाख्रा,
खरी ÷ पहाडी बाख्रा, सिन्हाल, र च्याङ्ग्रा रहेका छन् भने आयातित जातहरू जमुनापारी, बारबरी, विटल, सानन, बोयर रहेका छन् । साना किसानहरूका लागि स्थानीय हावापानी अनुसार तराई बाख्रा तराईमा, खरी /पहाडी बाख्रा तल्लो एवं मध्यपहाडी क्षेत्र, सिन्हाल बाख्रा उच्च पहाडी क्षेत्र, च्याङ्ग्रा हिमाली क्षेत्रमा पाल्नका लागि उपयुक्त स्थानीय जात हुन् । आयातित जातहरूमा स्थानीय र जमुनापारी वर्णसङ्कर जात तराई, पहाड र उच्च पहाडी क्षेत्र, स्थानीय र बारबरी वर्णसङ्कर जात तराई, पहाड र उच्च पहाडी क्षेत्र तथा जमुनापारी र बारबरी वर्णसङ्कर उत्पादन गर्न बीउका लागि तराई र मध्य पहाडी क्षेत्रको लागि शिफारिस गरिएका जात हुन ।
स्थानीय र आयातित जातका ५० प्रतिशत वर्णसङ्कर क्रस जात नै उपयुक्त हुन्छ । आयातित जातहरूको जतिजति नश्ल शुद्धतामा वृद्धि गर्दै जान्छौँ त्यति नै बढी उच्च व्यवस्थापनमा जोड दिनुपर्दछ । “बीउ राम्रो त खेती राम्रो” वा “पानी मूलको छोरी कुलकी” भन्ने उखान आजसम्म पनि सान्दर्भिक नै छ । त्यसकारण उपयुक्त स्थानमा उपयुक्त नश्लका पशुहरू उपयुक्त तवरले पालन गरेमा मात्र पशुपालनबाट मनग्ये फाइदा लिन सकिन्छ । -वासुदेव नाथ / गोरखापत्र (लेखक राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयमा पशु विकास अधिकृत हुनुहुन्छ । )
प्रतिक्रिया