ताजा अपडेट »

‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’

विहीबार, १६ कार्तिक २०८०
2 Shares

वालिङ (स्याङ्जा) । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैन ।

कागतीले बजार नपाउँदा पौडेल चिन्तित हुनुहुन्छ र । उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित भएका हुन् । ‘गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो’, उनले भने, ‘यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।’ बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउनुहुन्छ । “कसैले बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ’, उनले भने ।

स्थानीय बजारमा दैनिक १०/१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । ‘दिनभर बजार डुलाउँदा मुश्किलले १०/१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ’, पौडेल भन्छन् । पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटेलमा कागती बिक्री गर्दै आएका छन् ।

उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् । आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । ‘सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ’, उनले भने, ‘कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।’

सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उनले बताए । विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो रु एक सय ३० देखि रु दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष रु १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उनी बताउँछन् । कागती भण्डारण गर्न शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । ‘भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ’, उनले भने।