२०वर्ष अगाडि हिन्दी फिल्मका नायक ऋतिक रोशनले नेपाललाई घृणा गर्छु भनेर दिएको एक अन्तवार्ताको कारण त्यतिबेला नेपालमा ठूलो आन्दोलन भयो । जनताको आवाजलाई तत्कालिन सरकारले सम्बोधन गर्दै कुटनीतिक पहलमार्फत उक्त विषयमा चासो पनि राख्यो । फलस्वरुप भारतीय फिल्महरु नेपाली हलहरुमा सञ्चालन गर्न केहि समय निषेध पनि गरियो । ऋतिकले पछि गल्ती स्वीकार्दै माफी समेत मागे तर, अहिलेसम्म त्यतिबेला ऋतीकको विरुद्धमा आन्दोलन गरेका नेपालीहरु उनले अभिनय गरेको फिल्म हेर्न रुचाउदैंनन् । किनकी उनीहरु हिजो ऋतिक र भारतीय हेपाहा प्रवृत्तिको विरुद्ध सडक आन्दोलनमा उत्रिएका थिए । ऋतिकको पुुत्ला दहन गरेका थिए ।
बीसवर्ष पछि खोलो पनि फर्किन्छ भने झै फेरि यतिबेला अर्का भारतीय कलाकारले नेपाली महिलाहरुको बद्नाम गर्ने ढंगले फिल्मी डायलयगमा अभिनय गरेका छन् ।
भारतीय एक वेभ सिरिजमा नेपाली चेलिको बद्नाम गर्नेगरी छायांकन गरिएको भिडियो सम्वाद राखिएको छ । फेरि भारतीय कलाकारले नै नेपाली चेलीहरुको इज्जतमाथि मात्रै नभएर सिङ्गो नेपाल र नेपालीको बदनाम गर्ने कोसिस गरेका छन् । सामाजिक सञ्जाल तथा एमेजोन प्राइम भिडियोमा निकै नै चर्चामा आएको ‘पाताल लोक’ नामको भारतीय ‘वेवसिरिज’ ५ मे, २०२० मा रिलिज भएको हो । जुन वेव सिरिज अभिनास अरुब र प्रसिद रोयले निर्देशन गरेका छन् । यसका लेखक सुदिप शर्मा रहेका छन् भने उक्त वेवसिरिज प्रसिद्ध भारतीय नायिका अनुष्का शर्माको प्रोडक्शन हाउसबाट प्रोडक्सन गरिएको हो । जुन सिरिजमा अश्लिल शब्द ‘नेपाली र..डी’ भनेर एउटा महिला प्रहरीले अर्को महिला माथि कुटपिट गरेको दृष्य देखाइएको छ । नेपाली महिलाहरु विश्वमा अग्रपंतिमा रहेका छन् । नेपालमा महिलाहरुलाई परापूर्वकालदेखि कुमारी (जिउँदो देवी)को रुपमा पुजिन्छ ।
जुनसुकै राष्ट्रका महिलाहरुलाई पनि सम्मान तथा इत्जतका साथ जीवनयापन गर्ने अधिकार रहेको हुन्छ । तर,उक्त सिरिजमा नेपाली चेलीको नाममा गरिएको अश्लिल शब्दको प्रयोगले सिङ्गो नेपाली महिलाहरुप्रति प्रश्न चिन्ह खडा गरेको छ । हो, मान्न सकिन्छ । नेपाली चेलिहरु रोजगारीको सिलसिलामा अहिले पनि देश–विदेशमा रहेका छन् । कामको सिलसिलामा महिलाहरुलाई दलालहरुले जबरजस्ती यौनदासी बनाएका घटना पनि छन् । भारत लगाएत विश्वका विभिन्न देशमा महिलाहरुलाई जबरजस्ती यौनधन्दामा सामेल पनि गराइएको छ । उक्त काममा नेपाली सोझा साझा चेलिहरुलाई विभिन्न प्रभोलनमा पारी दलाल मार्फत जीवन बर्बादी पनि बनाइदिएका छन् । अधिकांश महिलाहरु यौन व्यवसाय रहरले भन्दा पनि बन्धक बनाएर उक्त पेशामा लगाइएका छन् । यसरी एक दुईजनाले गरेको गल्तीलाई लिएर सिंगो नेपाली महिलाहरुमाथि धारणा बनाईनु सर्वथा गलत हो ।
उक्त सिरिजमा भारतीय प्रहरीले नेपाली महिला जो वेश्यालयमा काम गर्दछिन् । तिनलाई लछार–पछार गर्दै अश्लिल शब्द प्रयोग गरेका छन् । उक्त शब्दले नेपाली चेलीहरुमाथि मात्रै नभएर सिङ्गो महिला जगतमाथि नै प्रहार भएको छ ।उक्त अपशब्द निकैनै निन्दनिय छ । जसले गर्दा नेपाली महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सक्छ । यसरी महिलाको सम्मानमाथि ठेस लाग्ने अपशब्दको प्रयोग गर्दा विश्वसामु नेपाली महिलाको नराम्रो सन्देश जान्छ । उक्त शब्दलाई हटाउन लागाउनुपर्ने र सम्बन्धित व्यक्तिले माफी माग्नुपर्ने देखिन्छ । नेपाल सरकारले तत्काल विशेष कदम चाल्नु पर्दछ । नेपाल स्थित महिला अधिकारकर्मीहरुले कानमा तेल हालेर बस्ने बेला होइन यो । नेपालका केहि चर्चित कलाकारहरुले उक्त सिरिजमा नेपाली चेली माथि गरिएको व्यवहार र अपशब्द आपत्तिजनक भएको बताएका छन् ।
नेपाली चलचित्रकी नायिका रेखा थापाले आपत्ति प्रकट गर्दै भनेकी छन्, ‘ पातल लोक’ नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरूलाई जुन नीच शब्द प्रयोग गरिएको छ, त्यो घोर आपत्ति जनक छ ।’ उनले आक्रोश व्यक्त गर्दै भनेकी छन, ‘सम्बद्ध पक्षले तुरुन्तै माफी मागोस् र त्यस्ता गालीलाई रेकर्डबाट हटाइयोस् । कुन देशका छोरी बहादुर छन् भन्ने इतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्नेसँग सिक्नुछैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घरघरमा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस् ।’ रेखाले झै क्रृचा शर्मा र केही अधिकारीले पनि उक्त सिरिजमा बोलिएको शब्द नेपाली महिलाहरु माथिको प्रहार भएको भन्दै तत्काल माफी माग्दै रेकर्डबाट हटाउन माग गरेका छन् ।यता भारतीय गोर्खा युवा परिसंघका अध्यक्ष नन्द देवान लगाएत भारतका नेपालीभाषीले पनि विरोध गरेका छन् । निर्मात्री अनुष्का शर्मा महिला हुँदाहुदैं पातल लोक मार्फत महिलामाथि जघन्य हिंसा गरेको आरोप उनले लगाएका छन् । उनले सृजनशीलताको नाममा नेपाली चेलिको बदनाम गरिएको बताएका छन् ।
भारतमा चर्चा बटुल्न थालेको उक्त वेभ सिरिजले छिमेकी देशको अपमान हुनेगरी गरेको क्रियाकलापले नेपाली चेलिहरुलाई भारतप्रति नकारात्मक भावना सृजना गर्न बढवा दिने देखिएको छ। रोटिबेटीको सम्बन्ध भएको नेपाल भारत सम्बन्धमा नेपाल पक्षले मात्रै कति दिन सम्बन्ध टिकाएर राख्न सक्छ र ? अहिले पनि हजारौं नेपाली चेलिहरु भारतमा बिहेबारी गरेर गएका छन् । यसैगरी हजारौ भारतीय चेलीहरु नेपालमा बिहेबारी गरेर आएका छन् । लाखौं नेपाली चेलिका छोराहरुले भारत पाकिस्तान सीमामा सुरक्षा दिएकै कारण अनुष्का शर्माहरु भारतमा खुलेआम फील्म सिरिज बनाउने र चलाउने गरेका छन् । तर पनि भारतीय एक पक्षमा अहिले पनि नेपालप्रति हेपाहा धारणा छ । यो घटना त्यसैको दृष्टान्त हो ।
नेपाली महिलामाथि प्रहार गरिएको भएता पनि अहिलेको युगमा गरिएको उक्त कार्य सिंगो मानब समाजकै लागि कलंक हो । उक्त कार्यको विश्वव्यापी रुपमा विरोध जरुरी छ । सिर्जनशिलताको नाममा गरिने हरेक उदण्ड कार्य र महिलामाथिको अन्यायको विरुद्ध नेपाल सरकार, नेपालको सदन र नेपालका सडक तातिनु जरुरी छ । नेपाली महिला नेतृहरुले पनि यो विषयमा गम्भिर रुपमा आवज उठाउनु जरुरी छ । महिलाले मात्रै होइन नेपाली पुरुष महिला सबैले उक्त कार्यको घोर निन्दा गनु जरुरी छ। किनकी सृष्टिकर्ता महिला माथि लगाइएको आरोपको खण्डन र विरोध गरेर आम माफी माग्न लगाउन सकिएन भने सिरिजमा प्रयोग गरिएको अश्लिल गालीमा झै हामी सबै र…को औलात सावित हुनेछौं ।
बलिउड अभिनेत्री शर्माविरुद्ध अल अरुणञ्चल प्रदेश गोर्खा युथ एसोसिएशनले मात्र नभएर दिल्ली बस्दै आएकी दार्जिलिङ निवासी अञ्जनी शर्माले पनि मानव अधिकार आयोग र दिल्लीको साइबर क्राइममा सोमबार मुद्दा दायर गरेकी छन्।‘पाताल लोकमा नेपालीभाषी महिलामाथि जुन प्रकारको शब्द प्रयोग गरिएको छ, त्यो अत्यन्त निन्दनीय छ। त्यो आपत्तिजनक र नश्लवादी टिप्पणी हो’, शर्मा भन्छिन् ‘त्यसैले मैले अनुष्का शर्माविरुद्ध मानव अधिकार आयोग र साइबर क्राइममा उनीविरुद्ध मुद्दा दायर गरेकी हुँ। तर, हामी नेपालीहरु भने मौन छौं ।
प्रतिक्रिया