भेनेजुयलाको आर्थिक सङ्कटका पछाडि कैयौं तत्वहरू छन् तर तपाईं संरा अमेरिकी, ल्याटिन अमेरिकी दक्षिणपन्थी नेताहरू र व्यापारिक मिडियालाई सुनेर त्यो थाहा पाउन सक्नुहुन्न ।
अमेरिकी तल्लो सदन हाउस अफ काङ्ग्रेसको अध्यक्ष नान्सी पेलोसी र पूर्व अमेरिकी उपराष्ट्रपति जो विडेनले ह्वाँ गुआइडोलाई भेनेजुयाली राष्ट्रपतिको मान्यता दिने पछिल्लो प्रदर्शनले निकोलस माडुरो सरकार बढारेरै पठाउने सहमति वासिङ्टनमा भइसकेको देखाउँछ ।
अहिले भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस माडुरोबारे जति राक्षसीकरण गरेर प्रचार गरिएको छ, त्यति त फिडेल क्याष्ट्रो सत्तामा आएपछिदेखि अन्तसम्ममा पनि गरिएको थिएन । तर, १९६० को दसकमा त शितयुद्ध चरमचुलीमा थियो र क्युवा सिधा र स्पष्ट रूपमा शत्रु खेमामा थियो, त्यसैले दुष्प्रचार गर्नु अस्वाभाविक थिएन । तर, भेनेजुयला त्यस्तो होइन, न त्यहाँ एकदलीय शासन व्यवस्था नै छ ।
उपरोक्त वासिङ्टन सहमतिको क्षेत्रको व्यापकता हालै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कडा आलोचक रहेकी रिपब्लिकन सिनेटर अलेक्जान्ड्रिया ओकासियो कोर्टेजबीचको सौहाद्र्धपूर्ण भेटवार्ताले पनि दर्शाएको छ । आफ्नो स्टेट अफ युनियन सम्बोधनमा ट्रम्पले भेनेजुयलाको आर्थिक सङ्कटलाई त्यहाँको समाजवादी प्रणालीको असफलता भनी जोड दिएका थिए । ओकासियो कोर्टेजले पनि प्रतिक्रिया दिँदै भेनेजुयलाको मामिला ‘एउटा निरंकुश शासन विरूद्ध प्रजातन्त्र’ को विषय भएको बताएकी थिइन् ।
ट्रम्पको भनाइ र ओकासियो कोर्टेजको प्रतिक्रिया एक अर्काको परिपुरक देखिन्छन् । वासिङ्टनबाट आएका धेरैजसो भनाइहरूका अनुसार भेनेजुयला आर्थिक र राजनीतिक दुवै दृष्टिकोणबाट विध्वंसको सङ्घारमा छ । त्यस गम्भीर आरोप अनुसार देशको अर्थतन्त्रको दयनीय अवस्था र देशमा कथित निरंकुश शासनका निम्ति माडुरो र उनका सहकर्मीहरू जिम्मेवार छन् ।
मूलधारका मिडिया भनिएका पुँजीवादी सञ्चारमाध्यमले कुनै प्रश्न नै नगरी यिनै पूर्वानुमाहरूलाई व्यापक प्रचार गरिरहेका छन् । तिनीहरूका धेरैजसो समाचारहरू राज्यको अक्षमता र भ्रष्टाचारप्रति औंला सोझ्याउँछन् तर संरा अमेरिकी सरकारले लागू गरेका आर्थिक प्रतिबन्धहरूका कारण सिर्जित घातक अवस्थाबारे उच्चारणसम्म गर्न जरूरी ठान्दैनन् ।
संरा अमेरिकाका अधिकांश वामपन्थीहरू भेनेजुयलाको बढ्दो आर्थिक कठिनाइका निम्ति संरा अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध जिम्मेवार भएको मान्छन् । तर, तीमध्ये पनि केही मानिसहरू मूलधारका सञ्चारमाध्यमकै प्रचारमा बहकिएर भेनेजुयलाको प्रजातन्त्रको अवस्थामाथि प्रश्न उठाउन पुग्छन् । केही मानिसहरू प्रतिबन्धहरूको विरोध गर्छन् तर माडुरो सरकारको विरोध गरिरहेका विपक्षीहरूलाई समर्थन गर्छन् ।
उदाहरणका लागि हालै ज्याकोविन (Jacobin) र नाक्ला (NACLA) मा प्रकाशित ग्याब्रियल हेटल्याण्डको ‘अमेरिकाको प्रतिवेदन’ शीर्षक लेखमा माडुरोले ‘निरंकुशताको माध्यमले सत्तामा पकड राखिराखेको’ दाबी गरिएको छ । त्यही लेखक हेटल्याण्ड त्यस देशको आर्थिक कठिनाइका लागि संरा अमेरिकी प्रतिबन्ध जिम्मेवार भएको लेख्छन् । साथसाथै आर्थिक कठिनाइका लागि प्राथमिक कारण सरकारको तेलको आम्दानीको गलत व्यवस्थापन र भ्रष्टाचार भएको दाबी पनि गर्छन् ।
गत वर्ष संरा अमेरिका र क्यानाडामा दुई महिना लामो भेनेजुयला ऐक्यवद्धता यात्रा गर्दा मैले यो भनाइ फरक–फरक स्थानमा फरक–फरक व्यक्तिहरूबाट पटक–पटक सुनेँ – भेनेजुयलाको आर्थिक र राजनीतिक समस्या आफ्नो ठाउँमा होला तर त्यो महत्वपूर्ण होइन । आधारभूत विषय भनेको ट्रम्प प्रशासनको प्रतिबन्ध अवैधानिकता र भेनेजुयलामाथि सैनिक हस्तक्षेपको धम्की हो । तर के कुनै अन्तर्राष्ट्रिय कानुनले यो विवादलाई समाधान गरेको छ ?
यदि माडुरो एक तानाशाह र पूर्णतया अक्षम शासक भएको भए उनको पछाडि बहुमत जनता र सेना त्यति उत्साहपूर्वक लाग्ने थिए ? र विपक्षीहरूका लागि के विदेशी हस्तक्षेप आवश्यक हुन्थ्यो ? मलाई त्यस्तो लाग्दैन । त्यसैले भेनेजुयलाबारे चासो राख्ने सबैले भेनेजुयलाको राजनीतिक र आर्थिक दुवै मोर्चामा भइरहेको सङ्घर्षबारे नजिकबाट अध्ययन गर्नैपर्छ । माडुरोका बारेमा बहुसङ्ख्यक पश्चिमा सञ्चारमाध्यमहरूले प्रचार गरेका पूर्वाग्रहलाई नै सत्यको रूपमा लिनुहुँदैन । भलै उनीहरूका समाचार कहिलेकाहिँ सत्य हुन्छन् ।
आर्थिक समस्या कति टाढासम्म जानेछ ?
भेनेजुयलाका दक्षिणपन्थी विपक्षीहरू देशको आर्थिक कठिनाइका लागि न अमेरिकी प्रतिबन्धहरू न त तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावटलाई जिम्मेवार मान्छन् बरू सरकारको अर्थतन्त्रको अव्यवस्थान नै मूल दोषी भएको दाबी गर्छन् । उनीहरूका अनुसार घट्दो तेलको मूल्यले समस्या केही बढाएको जरूर हो तर मूल कारण त्यो होइन । केही विपक्षी विश्लेषकहरू तेलको मूल्यमा आएको गिरावट अर्थतन्त्रको सङ्कटको तत्व नभएको दाबी गर्दै त्यस्तै हो भने भेनेजुयलाजस्तै तेलमा निर्भर अरू ओपेक देशहरूको अर्थतन्त्र किन त्यति स्तरमा ह्रास भएनन् ? भनी प्रश्न गर्छन् । यो प्रश्न गरिरहँदा तिनीहरू अन्य ओपेक देशहरूले आर्थिक प्रतिबन्ध सामना गर्न नपरेको र सामाजिक कल्याणका क्षेत्रमा लगानी नगरेको तथ्यलाई भने उल्लेख गर्दैनन् ।
भेनेजुयलाका विपक्षीहरूको मुख्य दाबी त्यस देशको खराब आर्थिक समस्या ट्रम्प प्रशासनले प्रतिबन्ध कार्यान्वयन गर्नुभन्दा अगाडिदेखि नै र २०१४ को मध्यमा तेलको मूल्य गिरावट हुनुअघिदेखि नै विद्यमान छ भन्ने हो । उनीहरूका अनुसार अर्थतन्त्रमा विश्वंसात्मक असर देखिनुमा सरकारको मूर्खता मुख्य हो, त्यसपछि तेलको मूल्यमा आएको गिरावट र अमेरिकी प्रतिबन्धले पनि काम गरेको हो । विपक्षीहरूका तर्फबाट दुईपटक राष्ट्रपति उम्मेदवार रहेका हेनरिक क्याप्रिल्स भन्छन्, भेनेजुयलामा सङ्कट तेलको मूल्य गिरावट हुनुभन्दा धेरै अगाडिदेखि नै देखिएको थियो । तर लामो समयसम्म सरकारले त्यसलाई अनदेखा ग¥यो, दबाउन खोज्यो र मिलाउन खोज्यो । खुलाएर नभने तापनि क्याप्रिल्सले सत्य नै भनेका हुन् । चाभेजको सरकारविरूद्ध तत्कालीन बुश प्रशासन र दक्षिणपन्थी विपक्षीहरूले भेनेजुयलाविरूद्ध आर्थिक युद्ध थालिसकेका थिए । बहुराष्ट्रिय कम्पनीहरू र भेनेजुयाली पुँजीपति, उद्योगपति र बैङ्करहरूलाई भेनेजुयलाबाट निस्केर ‘चाभेजपन्थीहरूलाई भोकभोकै मार्न’ खुला र गोप्य आह्वान भइसकेको थियो र त्यसको कार्यान्वयन पनि भइरहेको थियो । भेनेजुयला विरूद्धको त्यस आर्थिक युद्धमा ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धहरू त पछिल्ला अस्त्रमात्र हुन्, हुनुपर्ने सबैकुरा त पहिले नै भइसकेको थियो । वास्तवमा नवउदारवादी वासिङ्टन सम्झौता तोडेर अमेरिकी प्रभुत्वलाई चुनौती दिएका ह्युगो चाभेजको पहिलो कार्यकाल १९९९ देखि नै संरा अमेरिका अल्छी मानेर चुप लागेर बसेको थिएन । वासिङ्टनका शत्रुतापूर्ण नीतिले भेनेजुयलाको अर्थतन्त्रमा गम्भीर र बहुआयामिक रूपमा नोक्सान पु¥याइरहेको थियो । भेनेजुयलाको तेलको आम्दानी र आत्मनिर्भर हुन प्रयत्नरत भेनेजुयलाका सहकारी उत्पादनमूलक क्रियाकलापले भेनेजुयलाको अर्थतन्त्रलाई तङ्ग्राइराखेको थियो ।
जर्ज डब्ल्यू वुशको प्रशासनले सन् २००६ मा भेनेजुयलाको वायु सेनालाई अमेरिका निर्मित एफ १६ युद्धक विमानको पार्टपुर्जा बेच्न प्रतिबन्ध लगाइदियो । त्यसको परिणामस्वरूप भेनेजुयला बाध्य भई रूसतिर मोडियो र २४ वटा सुखोइ एस यू ३० युद्धक विमानहरू खरिद ग¥यो । त्यतिमात्र होइन, अन्तर्राष्ट्रिय प्रतिबन्धहरू ट्रम्पसँगै मात्र आएका पनि होइनन्, सन् २०१५ मै ओबामा प्रशासनले भेनेजुुयलालाई अमेरिकी राष्ट्रिय सुरक्षाको लागि खतरा भन्दै कार्यकारिणाी आदेशमार्फत कैयौँ प्रतिबन्ध लगाएको थियो । ओबामाको त्यस आदेशले फोर्ड, किम्बर्ली क्लार्क, जेनरल मोटर्स, केलोगलगायत बहुराष्ट्रिय उद्योगहरू र सबैजसो अन्तर्राष्ट्रिय एयरलाइन्सहरू झण्डै एकैपटक फर्काएको थियो ।
माडुरो राष्ट्रपति बनेपछि कच्चा तेलको मूल्य सामान्य मात्र घटेको थिएन बरू नाकैसम्म डुबाएको थियो । प्रतिव्यारेल १०० डलरमा रहेको मूल्य ४०÷४२ डलरसम्म घटेको थियो । चाभेज राष्ट्रपति बनेको बेला ६०÷६५ डलर प्रतिव्यारेल भएको तेलको मूल्य बढ्दै गएर भेनेजुयलाको राजश्वमा निरन्तर वृद्धि हुँदै गएको थियो । देशको राजश्व धेरै बढेको बेला लागू गरिएका कतिपय कार्यक्रम आर्थिक कठिनाइ आउँदा कटौती गर्नु पर्दा त्यो समस्याको रूपमा देखापरेको हो । कतिपय जनतामा सरकारप्रति आक्रोस सिर्जना गरेको हो । अहिले तेलको मूल्य पहिला तेलको मूल्य घटन थाल्दा बखतको मूल्यको आधाभन्दा केही मात्र बढी छ । सन् २०१७ देखि तेलको मूल्य थोरथोरै वृद्धि हुँदै आएको छ ।
तानाशाहको लेवल हजारौँपटक दोहो¥याइयो
भेनेजुयलाको समाचार बनाउँदा पश्चिमसञ्चारमाध्यमहरू ‘राम्रो कुरा रोक्ने मेशिनको’ भूमिकामा रहेको अनुभव हुन्छ । भेनेजुयलाको प्रजातन्त्रबारे सत्यतथ्य कुरा बाहिर ल्याउनुभन्दा अतिवादी पूर्वाग्रह राखेका छन् । एउटा उदाहरण हेरौँ, गार्डियन (The Guardian) ले दाबी गरेको छ कि “भेनेजुयाली सरकारले त्यहाँको सबै टीभी र रेडियो स्टेशनहरू नियन्त्रण गरेका छन् र तिनमा निरन्तर माडुरो समर्थित प्रचारहरू बजाइरहन्छन् ।” सत्यको जाँच गर्दा भेनेजुयाली टेलिभिजन च्यानलहरूमध्ये ८० प्रतिशत दर्शकले मुख्य तीन निजी टेलिभिजन च्यानलहरू भेनेभिजन, टेलेभेन, ग्लोवोभिजन हेर्ने गर्छन् । ती तिनै टेलिभिजन च्यानल वैचारिक रूपमा राष्ट्रपति माडुरो र बोलिभारियाली क्रान्तिकारी प्रक्रियाका विपक्षमा छन् । बरू अधिकांश सञ्चारमाध्यम ‘स्वतन्त्र’को नाममा सरकारविरोधी छन् र विपक्षीहरूले उपयोग गरिरहेका छन् ।
माडुरोलाई ‘तानाशाह’ बताउनेहरूले आधारभूत रूपमा दुईवटा तर्क अघि सार्ने गरेका छन् । पहिलो, माडुरो सरकारले चार महिना लामो शान्तिपूर्ण आन्दोलनलाई निर्ममतापूर्वक दबायो । दोस्रो, विपक्षीहरूले बहिष्कार गरेको मे, २०१८ को निर्वाचनबाट माडुरोको पुनःनिर्वाचन वैध होइन ।
पहिलो तर्कमाथि विचार गर्दा शासन परिवर्तनको उद्देश्यले २०१४ र पछि २०१७ मा दक्षिणपन्थी विपक्षीहरूले सडक आन्दोलनका नाममा सडक हिंसा र भिडन्त गरेको थियो । त्यो आन्दोलनलाई शान्तिपूर्ण भन्न सकिँदैन । सन् २०१४ को कथित शान्तिपूर्ण आन्दोलनका क्रममा ६ जना राष्ट्रिय गार्डसका सदस्य र २ जना प्रहरी अधिकारी मारिएका थिए भने प्रदर्शनकारीहरूले काराकासमा रहेको हवाइ सेनाको व्यारेकमा समेत हमला गरेका थिए । सन् २०१७ को आन्दोलनका क्रममा ताचिरा राज्यमा कैयौँ प्रहरी थानाहरू जलाएर दर्जनौँ प्रहरीको हत्या गरिएको थियो । २०१४ र २०१७ मा भएको हताहतीको पूर्व अवस्था र हताहतीका बारेमा फरक–फरक प्रतिवेदन र भनाइहरू छन् तर ती सबैले कथित आन्दोलन शान्तिपूर्ण थिएन भनी प्रस्ट पार्छ । आन्दोलनको प्रकृतिले नै प्रहरी दमन अपरिहार्य बनाएको थियो । परिणामलाई मात्र देखाउनुभन्दा तत्कालीन अवस्थाको सही चित्र अगाडि ल्याउनु आवश्यक थियो ।
दोस्रो राष्ट्रिय संविधान सभाले गराएको निर्वाचनको वैधता छैन भन्ने हो । भेनेजुयलाका सबभन्दा जानकार संवैधानिक कानुनका ज्ञाता हर्मन इस्केरा संविधानसभाको वैधताको रक्षामात्र गर्दैनन्, संविधानसभाको निर्वाचन गर्नुपर्ने संवैधानिक सङ्कट स्वयम् विपक्षी नियन्त्रित राष्ट्रिय सभाले सिर्जना गरेको बताउँछन् । मूलधारका र पश्चिमा सञ्चारमाध्यमहरूले यसबारेमा प्रचार गर्नुभन्दा अगाडि भेनेजुयलाको संविधान र सर्वोच्च अदालतका फैसलाहरू हेर्नुपर्न सल्लाह पनि उनी दिन्छन् । मूलधारका सञ्चारमाध्यमहरू २०१५ को निर्वाचनपछि विकसित राजनीतिक स्थिति र अदालतीय कारवाही र फेसलाबारे सही र निष्पक्ष विश्लेषण प्रस्तुत गर्नबाट चुकेका छन् । संविधानसभाले गराएको २०१८ को राष्ट्रपतीय निर्वाचनमा ३ वटा दक्षिणपन्थी विपक्षी दलहरूले मात्र बहिष्कार गरेका थिए । तर, त्यही संविधानसभाले गराएको राज्यका गभर्नरको निर्वाचनमा सबैले भाग लिएका थिए । यदि संविधानसभाले गराएको गभर्नरको निर्वाचन वैध छ भने राष्ट्रपति निर्वाचन किन र कसरी अवैध ? जनवरी २३ का दिन ह्वाँ गुआइडोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुको पछाडिको आधार संविधानसभाको अवैधताको तर्क नै मात्र हो ।
केही प्रजातान्त्रिक मान्यताको उल्लङ्घन र प्रहरी दमनको एक दुई घटना आफैले सरकारलाई निरङ्कुश वा तानाशाही सावित गर्दैन । यदि गर्छ भने संरा अमेरिकालाई प्रजातान्त्रिक कदापि भन्न सकिँदैन । न त प्रहरी दमनको आधारमा हेर्दा संरा अमेरिका, क्यानाडा र कुनै युरोपेली देशमा प्रजातन्त्र भएको मान्न सकिने छ । निर्वाचनलाई अवैध बनाउने भनेको कसले गरायो भन्दा पनि निर्वाचनमा धाँधली भयो वा मतगणना राम्ररी गरिएन भने मात्र हो । उग्र विपक्षी नेताहरूसित पनि निर्वाचनमा धाँधलीसम्बन्धी त्यस्तो कुनै आरोप र प्रमाण छैन ।
अहिले पश्चिमा सञ्चारमाध्यम, दक्षिणपन्थी विपक्षीहरू र अमेरिकी राजनीतिज्ञहरू खुलमुखला माडुरोलाई ‘निरङ्कुश’, ‘अधिनायकवादी’ र ‘तानाशाह’ भनिरहेका छन् । तिनीहरू अरू कुराभन्दा बढी भेनेजुयलाको आर्थिक कठिनाइबारे बोलिरहेका हुन्छन् र तिनै शब्दको प्रभाव नीति निर्माणमा परिरहेको देखिन्छ । कुनै देशको आर्थिक समस्यालाई देखाएर त्यस देशमाथिको कुनै किसिमको पनि हस्तक्षेपलाई जायज ठह¥याउन सकिँदैन । त्यसैले आजको प्रमुख मुद्दा भनेको भेनेजुयला राज्यको प्रजातन्त्र झूटा दाबीहरूका आधारमा बदनाम गरिइँदै गरेको अवस्था हो । अचम्मलाग्दो विडम्बना, भेनेजुयलाको मूलधारको विपक्षी राजनीतिमा कोही विवेकवान नेता र मूलधारको सञ्चारमाध्यम छैन, जसले ती झूटा दाबीहरूलाई चुनौती दिने इच्छा राखोस् र माडुरो सरकारमाथि सही दाबीका साथ प्रश्न उठाओस् ।-
स्टेभ इल्नर (Steve Ellver) (स्टेभ इलनर भेनेजुयलाको इस्ट विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक हुन् र हाल उनी ‘ल्याटिन अमेरिका पर्सपेक्टिभस्’ पत्रिकाका कार्यकारी सम्पादक छन् ।)
अनुवाद ः प्रकाश
प्रतिक्रिया