बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा खेल्न नपाउने सम्भावना उच्च बनेको छ । पहिलो खेलमा सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा उनको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो ।
दीपेन्द्र प्लेइङ ११ मा रहेपनि चोट लागेपछि उनको स्थानमा विवेक यादवलाई खेलाएको थियो । दीपेन्द्र उपचारपछि बैसाखी टेकेर टियु क्रिकेट मैदान फर्किएका थिए । प्रतियोगिताको अवधि एक हप्ता मात्रै हुँदा दीपेन्द्रले पूरा प्रतियोगिता गुमाउने उच्च सम्भावना रहेको हो ।
उनले ब्याटिङ, बलिङ र फिल्डिङमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालका टि२० आईका सर्वाधिक सफल र उच्च लयमा रहेका दीपेन्द्र नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ ।दीपेन्द्र नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ५२ टि२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् । उनी नेपालबाट टि२० आईमा एक हजार रन पूरा गर्ने एक्लो खेलाडी हुन् ।
प्रतिक्रिया