ताजा अपडेट »

आइसिसी टि२० विश्वकप छनोट : नेपालले आज सिंगापुरलाई हराउँदै सानदार सुरुवातको योजना

सोमबार, १३ कार्तिक २०८०

बुटवल । नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा आज सिंगापुरसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ ।

नेपालको कप्तानी रोहित पौडेल र सिंगापुरको अरित्र दत्तले गर्नेछन् । नेपालका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन् । आजको खेलमा यी तीन खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ ।

स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना छैन । पछिल्लो खेलमा राम्रो सुरुवातका बाबजुद उत्कृष्ट अन्त्य गर्न नेपाल चुकेको थियो ।

नेपाल उक्त गल्ती आजको खेलमा दोहोराउन चाहदैन । ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट नेपाल उत्कृष्ट सुरुवात चाहन्छ । पावर प्लेमा सोमपाल र करणको बलिङ पनि महत्वपूर्ण हुनेछ ।

उता सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन प्रमुख हतियार हुन् । उनको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । उनी टिकेको खण्डमा टोलीको जित सहज बन्नसक्छ । तीव्र गतिका बलर जनक प्रकाश, रोहन रंगराजन र अरित्र दत्त पनि घातक बन्न सक्छन् । २०१९ मा टिम डेविड अष्ट्रेलिया लागेपछि सिंगापुरको टोली कमजोर बनेको छ ।

हालसम्म नेपाल र सिंगापुरबीच चार टि२० आई खेल भएका छन् । दुई खेल वर्षाको कारण रद्ध भएका थिए । समान एक खेलमा नेपालको जित र हार छ ।