ताजा अपडेट »

भोलिदेखि सुरुहुने टी-२० विश्वकप छनोटमा नेपाललाई कति सहज ?

आइतबार, १२ कार्तिक २०८०
2 Shares

बुटवल । काठमाडौंको कीर्तिपुरस्थित टीयू खेल मैदान र मूलपानी क्रिकेट मैदानमा भोलि सोमबारदेखि आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर सुरु हुँदैछ । पहिलो खेल नेपालले भोलि विहान ९ बजे सिँगापुरसँग खेल्दै छ । ८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी-२० विश्वकप खेल्नेछन् ।

घरेलु टोली नेपाल टी-२० विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ । यसअघि नेपाल लिग टु मा शीर्ष तीनमा रहेर वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको थियो । पछिल्ला खेलको प्रदर्शनले नेपालको फाइनल यात्रा सुरक्षित नै देखिन्छ। यद्यपी छनोट प्रतियोगिताअघि काठमाडौंमै भएको त्रिदेशीइ अभ्यास खेलको फाइनलमा यूएईसँगको पराजयले नेपालले थप मेहन गर्नुपर्ने देखिन्छ । नेपाल टी–२० वरीयतामा छनोट खेल्नेमध्ये सबैभन्दा माथि १६औं स्थानमा छ । यूएई १७औं, ओमान २०औं, हङकङ २१औं, मलेसिया २५औं, कुवेत २७औं, बहराइन २८औं र सिंगापुर ३६औं स्थानमा छ ।

छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपालले लिग चरणमा यूएई र हङकङविरुद्ध सबै चार खेल जितेको थियो । फाइनलमा भने नेपाल युएईसँग पराजित भयो । गत महिना यूएईलाई हराएर गल्फ क्रिकेट टी(२०को उपाधि जितेको ओमान पनि लयमा छ र विश्वकप पुग्ने दाबेदारीमा छ । उक्त प्रतियोगितामा लिग चरणमा यूएईले चार खेल जितेर शीर्ष स्थानमा रहेपनि फाइनलमा भने अकिव इल्यास र आयान खान सम्मिलित ओमनानसँग पराजित भयो ।

तर यूएईले खेललाई जतिबेला पनि टर्न गर्न सक्छ । उसले २०२२ मा अष्ट्रेलायमा भएको विश्वकप खेलेको थियो । हङकङले छनोटअघि काठमाडौंमा त्रिकोणात्मक शृखंला खेलेको थियो र त्यसले पनि राम्रो तयारी भएको छ । कुवेत र मलेसिया एसिया सब रिजल क्वालिफायरमा आफ्नो समूहमा शीर्षमा रहँदै एसिया क्वालिफायर फाइनलमा छनोट भएको हो र उसको मनोबल पनि उच्च छ ।

३० अक्टोबरदेखि ५ नोभेम्बर (१३–१९ कात्तिक) सम्म चल्ने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । ३ नोभेम्बरमा हुने सेमिफाइनलको विजेता दुई टिमले वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी(२० विश्वकपमा स्थान पक्का गर्नेछन् । यस्तै छनोट हुने दुई टिमबीच ५ नोभेम्बरमा हुने एसिया क्वालिफायरको उपाधिका लागि फाइनल खेल हुनेछ ।

समूह एमा नेपालसँगै मलेसिया, ओमान र सिंगापुर रहेको छ । समूह ए को सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । यसैगरी समूह बी मा बहराइन, हङकङ, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह बी को सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।