बुटवल । पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टि-२० किर्केट प्रतियोगिताकाे लागि मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो विभागीय टिमकाे छनाेट प्रक्रिया अगाडि बढाएको छ। शक्ति किर्केट एकेडेमी पडसरीमा एक कार्यक्रमकाे आयोजना गरि छनाेट कार्य अगाडि बढाइएको हाे।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा एकेडेमीका यू-१९ दुई वटा राताे र निलाे टिम, सात प्रदेशका टिम र विभागीय ३ टिम गरी १२ समूहको सहभागिता रहने बताइएको छ। एकेडेमीका किर्केट विभाग प्रमुख शक्ति गाैचनकाे अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यकाे प्रमुख आतिथ्यता, एकेडेमीका किर्केट विभाग सचिव गणेश गाैडेल, केन्द्रीय सदस्य सुनिल कुवर, रितु श्रीवास्तवकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
छनाेट कार्यक्रममा विभिन्न जिल्लाबाट करिब १३० जना खेलाडीहरूकाे सहभागीता रहेको थियोे । छनाेट कार्यक्रममा बाेल्दै एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले वर्तमान अवस्थामा अनेक सम्भावना हुँदाहुँदै पनि राज्यको उदासीनताकाे कारण खेलाडीहरू विदेश पलायन भएको हुँदा राज्य गम्भीर हुन आग्रह गरे ।फरक प्रसङ्गमा कुरा गर्दै आचार्यले जबसम्म खेलाडीहरूमा लगानी गर्न सकिदैन तबसम्म राष्ट्र अन्तर्राष्ट्रिय स्तरमा चिनिन नसक्ने दाबी गरे । आफुहरूले एकेडेमीबाट राष्ट्रव्यापी रूपमा विभिन्न खेलकुद गतिविधि गर्दै आएको बताए । छनाेट प्रतियोगितामा पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले पाेखरामा हुने खेलकाे लागि आफूहरू दसैं लगत्तै खेलाडीहरूलाई चार समुहमा विभाजन गरि उत्कृष्टताकाे आधारमा अब्बल टिम निर्माण गरि बन्द प्रशिक्षण समेत दिने बताए ।
खेलमा प्रथम पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले बताए । आइसिसीको नियम अनुसार खेलाइने उक्त प्रतियोगितामा म्यान अफ द सिरिजले नगद रु ३० हजार रूपैयाँ, बेस्ट बलरले नगद रु २० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद रु ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।
प्रतिक्रिया