बुटवल । नेपालले एसिसी यू–१९ प्रिमियर कपको सेमिफाइनल खेलमा आज जापानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७:१५ मा बायोमास ओभलमा सुरु हुँदै छ । नेपालको कप्तानी देव खनाल र जापानको कोजी हार्डग्रेभ एबीले गर्नेछन् ।
नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । जापानले हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो । हङकङविरुद्ध जापानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो ।
जापानले इन्डोनएसियालाई ३० रनमै अल आउट गरेको थियो । मलेसियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ६ रनले हराएको थियो । जापानका ओपनर आदित्य र निखिल राम्रो सम्भावना बोकेका ब्याटर हुन् । बलिङमा कजुमा र चार्ली प्रमुख बलिङ हतियार हुन् ।
नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय १ रनले हराएको थियो । नेपालका ओपनर अर्जुन कुमालले साउदी अरेवियाविरुद्ध १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
देव खनालले बहराइनविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । देव र अर्जुन नेपालका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरबाट नेपाल ठूलो इनिङ चाहन्छ । आकाश त्रिपाठी, विशाल विक्रम केसी र दीपक बोहरा पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । नेपालको बलिङ आक्रामणमा दीपेश कँडेल प्रमुख हतियार हुन् ।
दीपेशले तीन खेलमा १५ विकेट लिएका छन् । बहराइन र साउदी अरेवियाविरुद्ध दीपेशले ६–६ विकेट लिएका थिए । बहराइनविरुद्ध उनले ९ दशमलव ५ ओभरमा मात्रै ४ रन खर्चेर ६ विकेट लिएका थिए । साउदीविरुद्ध ९ दशमलव १ ओभरमा १८ रन खर्चेर ६ विकेट लिएका थिए ।
उनलाई सुवास भण्डारीले साथ दिनेछन् । नेपालको तीव्र गतिको बलिङ आक्रामणमा दुर्गेश गुप्ता, आकाश चन्द र हेमन्त धामी हुनेछन् । नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।
दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता युएई र समूह सी को विजेता सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । फाइनल मंगलबार हुनेछ । फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोली आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन् ।
प्रतिक्रिया