बुटवल । नेपालले टि२०आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङबाट ९५ रनको सामान्य लक्ष्य पाएको छ । नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको हो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो । पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सिमित हुन पुग्यो । हङकङका लागि मध्यक्रमका यासिम मुर्तजाले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । उनी अभिनाश बोहोराको ५० औं टि२०आई विकेट बनेका थिए ।
नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १/१ विकेट लिँदै साथ दिए । त्यसअघि इनिङको पहिलो बलमै करणको इनस्वींग बलमा कप्तान निजाकत बोल्ड भएका थिए । त्यसपछि तीव्र गतिका बलरले लगातार विकेट लिएपछि शीर्षक्रम धराशायी बनेको थियो ।
तेस्रो ओभरको तेस्रो बलमा अंशुमन रथ करणकै बलमा कट बिहाईन्ड भए । चौथो ओभरको अन्तिम बलमा सोमपाल कामीले २ रन जोडेका मार्टिन कोट्जीलाई बोल्ड गरे । पाँचौ ओभरमा बाबर हायातले ठूलो सट खेल्दा कुशल भुर्तेलको हातबाट क्याच भए । करणको बलमा मिड अफमा कुशलले डाइभ दिँदै उत्कृष्ट क्याच गरे ।
एक समय ३३/५ को स्थितिमा रहेको हङकङलाई मुर्तजा र जिशान अलीले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए । जिशानले २० बलमा २ चौकासहित १७ रन जोडे । उनी श्यामको राष्ट्रिय टोली करिअरको पहिलो शिकार बने । त्यसपछि तल्लोक्रमका ब्याट्सम्यान ठूलो सट खेल्ने क्रममा लगातार आउट हुँदा नेपालले सामान्य लक्ष्य पाएको हो । हङकङका ९ ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।
प्रतिक्रिया