ताजा अपडेट »

एमाले लुम्बिनीमा चुनावको सम्भावना बढ्यो : अध्यक्षका लागि २ जनाको उम्मेदवारी

आइतबार, १७ भदौ २०८०
2 Shares

बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि हालका अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराएका हुन् । दुई पक्ष बीच सहमतिका लागि लामो प्रयास गर्दा पनि टुङ्गो नलागेपछि दुबै जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यद्यपि सहमतिको विकल्प अझै नटुङ्गीएको दुबै नेताले बताएका छन् ।

आइतबार दिनभर जारी रहेको निर्वाचन प्रक्रिया नटुङ्गिएपछि निर्वाचन मण्डलले सोमबार विहान १० बजेसम्मका लागि सबै काम स्थगित गरेको संयोजक हरिप्रसाद भण्डारीले बताए । आइतबार निर्वाचन प्रक्रिया अन्तरगत मतदाताहरुको नामावली प्रकाशन तथा मनोनयन दर्ता गराएको भएपछि थप प्रक्रिया स्थगित गरेको हो । सोमबार विहानैदेखि प्रक्रिया पूरा गरि उम्मेदवारहरुको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता लगायतका काम हुने निर्वाचन मण्डलले बताएको छ ।

यो वर्षलाई अधिवेशन वर्षको रुपमा लिएको नेकपा एमालेले पहिलो पटक लुम्बिनी प्रदेशको अधिवेशन आयोजना गरेको हो । प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठूलो महत्व राख्ने भन्दै अध्यक्ष कपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर गएका थिए ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।