ताजा अपडेट »

एमाले भित्र गुटबन्दी छ भन्नू हल्ला मात्रै हो : पोखरेल

शनिबार, १६ भदौ २०८०
3 Shares

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै विवाद नरहेको बताएका छन् । एमाले भित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै उनले एमालेलाई बलियो बनाउन उपाध्यक्ष विष्णु पौडेल र आफ्नो बलियो एकता रहेको बताए ।

शनिवार बुटवलमा एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले केही दिनयता केही मिडीयामा आएका अनावश्यक टिप्पणीको कुनै अर्थ नभएको बताए ।

‘लुम्बिनीमा एमाले बलियो देखेर केही शक्तिले यस्तो प्रचार गरेका हुन्, यसमा कुनै सत्यता छैन, एमाले बलियो बनाउन हामी दुईको एकतामा केही समस्या छैन, उनीहरूको अफवाह चिर्न हामीले लुम्बिनीबाट सन्देश दिनेछौँ, आम कार्यकर्तामा यो मेरो प्रतिबद्धता हो’ उनले भने, ‘एमालेभित्रको विवाद देखाएर केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरू खेल्न खोजेका छन्, एमाले एक बनाउन विष्णु पौडेल र शंकर पोखरेलको एकता कहिले टुट्न दिने छैनौँ’।

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले सुर्खेतमा एमालेभित्र ठूलो पहिरो जाने बताएको प्रसंग उल्लेख गर्दै पोखरेलले अब एमालेमा होइन माओवादी केन्द्रमा ठूलो पहिरो जाने समय आएको बताएका छन् ।

उनले अब देशमा माओवादीजस्ता कम्युनिष्ट पार्टीहरू आवश्यक नभएकाले पहिरो एमालेमा होइन माओवादीमा जान थालेको बताए । देशमा अब धेरै पार्टी आवश्यक नभएको र देशको सम्वृद्धिका लागि माओवादीसहित अन्य दलमा रहेका व्यक्तिहरू धमाधम एमालेमा आइरहेको बताए ।

एमालेविरुद्ध सत्तारुढ दलको गठबन्धनले दुनियाँलाई आश्चर्यमा पारेको बताए । पार्टीभित्रको लोकतन्त्रमा एमाले सबैभन्दा अगाडि रहेको नेता पोखरेलको भनाइ थियो ।