ताजा अपडेट »

सरकारले भ्रष्टाचार विरुद्धको अभियान भन्दै ध्वङ र पाखण्ड प्रस्तुत गरिरहेको छ : ज्ञवाली

शनिबार, १६ भदौ २०८०
1 Shares

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकार आफ्ना व्यक्तिहरुलाई उन्मुक्ति दिँदै भ्रष्टाचार विरुद्धको अभियानमा छौं भनेर ध्वङ र पाखण्ड प्रस्तुत गरिरहेको बताएका छन् ।
प्रधानमन्त्रीले आफ्नो जनअदालत ब्युझाउन खोजेको आरोप लगाउँदै उनले आफू निकटका व्यक्तिहरुलाई उन्मुक्ती दिने खालका अभिव्यक्तिहरु दिने गरेको उल्लेख गरे ।

बुटवलमा शनिबारदेखि सुरु भएको एमाले प्रथम लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटनका अवसरमा बोल्दै उपमहासचिव ज्ञवालीले ललिता निवास प्रकरणमा सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले आफ्ना व्यक्तिहरुलाई उन्मुक्ति दिने काम गरिरहेको उल्लेख गरे । ललिता निवासमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रचण्डले सुनपानी छर्मीए जस्तै उनले चोखो भएको भनी बोलेर जनअदालत ब्युझाउन खोजेको आरोप लगाए । 'ललिता निवासमा मुछिएकाहरुलाई सुनपानी छर्केर चोखाउँदै हुनुहुन्छ । तपाई को हो ?'- प्रधानमन्त्रीलाई उनको प्रश्न थियो ।

देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् ।
नेता ज्ञवालीले प्रमुख प्रतिपक्षविरुद्ध मोर्चाबन्दी गरेको विषय सामान्य नभएको बताए । उनले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर बनाउन यसो गरिएको हो । देशमा अस्थिरता निम्ताउन यसरी एमालेविरुद्ध मोर्चाबन्दी गरिएको छ, हरेक एमालेका सचेत कार्यकर्ताले यो विषय बुझ्न जरुरी छ, यतिबेला पार्टी शान्तिपूर्ण युद्धमा छ, लुम्बिनीबाट देशका आम कार्यकर्तालाई सन्देश दिनुपर्ने छ, त्यसैले साथीहरुले यहाँबाट त्यो सन्देश दिनुहुनेछ ।’

सत्तारुढ दलहरू र प्रधानमन्त्रीलाई आलोचना गर्दै आफ्नो कुर्सीको दीर्घायुको लागि जस्तोसुकै सम्झौता गर्नेहरूबाट नेपालीले कुनै आशा गर्न नसक्ने उनले बताए ।