ताजा अपडेट »

लुम्बिनी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जय गुरुङ निर्वाचित

मंगलबार, १२ भदौ २०८०

बुटवल । लुम्बिनी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जय गुरुङ निर्बिरोध निर्वाचित भएका छन् । सोमबार भएको लुम्बिनी प्रदेशको निर्वाचनमा सञ्जयसहित १३ सदस्य समिति निर्बिरोध चयन भएका हुन् ।

अध्यक्ष निर्वाचित सञ्जय अन्तर्राष्ट्रिय अम्पायर समेत हुन् । सञ्जय गुरुङले गत वैशाखमा एसिसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा ओमान र युएईसँगको खेलबाट माथिल्लो मुलपानी मैदानमा ओडिआई अम्पायरमा डेब्यू गरेका थिए । उनी नेपालका चौथो ओडिआई अम्पायर हुन् । नेपालले पहिलो पटक सन् १९९६ मा अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा एसिसी ट्रफी खेल्दा गुरुङ नेपाली टोलीका सदस्य थिए । सन् २००८ मा यू१७ हुँदै २००९ मा सिंगापुरमा भएको डिभिजन ६ बाट उनले अन्तर्राष्ट्रिय अम्पायर क्रिकेट करिअर सुरुवात गरेका थिए । नेपालले पहिलो पटक २०१० मा डिभिजन फाइभको उपाधि जित्दा उनी रिजरर्भ अम्पायर थिए ।

पछिल्लो पटक गुरुङले नेपालबाट अन्तर्राष्ट्रिय अम्पायरको रुपमा उनले २०१९ मा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन, २०२१ मा टियुमा भएको मलेसिया र नेदरल्यान्ड्सँगको त्रिकोणात्मक टि २० आई सिरिजमा अम्पायरिङ गरेका थिए । त्यस्तै गतवर्ष नेपाली महिला टोलीले युगान्डासँग पाँच महिला टि२० आई खेलको सिरिज टियुमा खेल्दा उनी अम्पायर थिए ।

घरेलु क्रिकेटमा नियमित अम्पायर र म्याच रेफ्रीको काम गर्दै आएका छन् । यसअघि उनले रुपन्देही जिल्ला क्रिकेट संघका सचिव काम गर्दा रुपन्देहीलाई देशकै उदाहरणीय र ब्यस्त क्रिकेट जिल्ला बनाउन भूमिका खेलेका थिए ।

यसैगरी उपाध्यक्षमा विनयराज भण्डारी, सचिवमा कैलाश कुमार रोका र कोषाध्यक्षमा राजेश श्रेष्ठ निर्बिरोध रुपमा निर्वाचित भएका छन् । सदस्यहरुमा बालकृष्ण खत्री, सुभाष तिमिल्सैना, प्रथम पराजुली, धिरज अधिकारी क्षेत्री, दुर्गबहादुर थापामगर, मेराज अन्सारी, माया ज्ञवाली, पदमराज श्रेष्ठ र अनिश कुँवर निर्बिरोध रुपमा निर्वाचित भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ । ४५ जिल्ला र पाँच प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अव कर्णाली र बागमती प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ ।