भैरहवा । २०७७ साल साउन ७ गते लुम्बिनी प्रदेशको रुपन्देहीमा पहिलो पटक लम्पी स्किन रोगको पहिचान भएको थियो । त्यस यता लुम्बिनी प्रदेशमा ५ हजार ७ सय ४८ वटा पशुहरुको मृत्यु लम्पी स्किनकै कारण भएको छ । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ ले महामारीको रुप लिदा लुम्बिनी प्रदेशको पशुपालक प्रभावित बनेका छन् ।
यद्दपी यस रोगबारे जनचेतना वृद्धिका साथै खोपको ब्यापक प्रयोगले लुम्बिनीमा लम्पी स्किनको संक्रमण तुलनात्मक रुपमा घटेको सरकारी अधिकारीहरुको भनाई छ । लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट कुल १ लाख ८० हजार ९ सय ७८ वटा पशु संक्रमित भएको लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले तथ्यांक उपलब्ध गराएको छ । लुम्बिनीमा सबै भन्दा बढी बाँकेमा ४० हजार ८ सय १ पशुमा यो रोगको संक्रमण देखिएको निर्देशनालयकाम निमित्त निर्देशक परवेज आलमले जानकारी दिए ।
सबै भन्दा कम नवलपरासीमा ४ सय ९७ पशुमा रोगको संक्रमण देखिएको छ । प्युठानमा ३४ हजार ७ सय १५, रोल्पामा ३० हजार ९ सय ३२, दाङ्गमा २८ हजार ७ सय ८४, रुकुममा १२ हजार ३ सय ४, कपिलवस्तुमा ८ हजार १ सय ३ वटा पशुमा लम्पी स्किन संक्रमण देखिएको छ । यस्तै अर्घाखाँचीमा ७ हजार ९१, रुपन्देहीमा ६ हजार ८ सय ८७, पाल्पामा ६ हजार ५ सय ७९, गुल्मीमा ३ हजार ४ सय ५८ र बर्दियामा ८ सय २७ वटामा रोगको संक्रमण रहेको आलमले बताए । लुम्बिनीमा लम्पी स्किन रोगबाट सबैभन्दा बढी पशु मृत्यु हुनेमा रोल्पा रहेको छ ।
रोल्पामा २ हजार ५४ वटा पशुको मृत्यु भएको छ । सबै भन्दा कम नवलपरासीमा २३ वटा पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा लम्पी स्किन बिरुद्धको खोपलाई अभियानको रुपमा सञ्चालन गरिरहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख आलमले बताए । उनले निर्देशनालय आफैले र स्थानिय तहहरुको समन्वयमा सबै जिल्लामा खोप लगाउने काम भई रहेको बताए “यसको लागि हामीले प्रदेशमा ६ सय ३८ जना प्राविधिकहरु परिचालन गरेका छौं ।” आलमले भने “ खोप खरिद र औषधी उपचारको लागि भनेर अहिले २ करोड ८३ लाख रुपैया बराबरको कार्ययोजना बनाएर माग गरेका छौं ।” निर्देशनालय र स्थानिय तह गरि प्रदेशमा अहिले सम्म ४४ हजार २ सय ५० पशुलाई खोप लगाईएको आलमले जानकारी दिए ।
यसै गरि कार्यालयबाट र स्थानिय तह गरि १ लाख ९ हजार ९ सय पशुको रोगको उपचार गरिएको छ । लुम्बिनी प्रदेशमा लम्पी स्किन बिरुद्धको खोप लाई यहाका स्थानिय तहहरुले पनि अभियानको रुपमा अगाडी बढाएका छन् । किसानलाई मर्का पर्न नदिन एवम चौपायाको संरक्षणको लागि पालिकाहरुले निति तथा कार्यक्रम मार्फत नै बजेट छुट्टयाएर खोपको ब्यवस्थापन गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका लगायतले खोपको कामलाई तिव्र बनाएका छन् ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले चौपायाको संरक्षण गर्न सके मात्र पनि किसानलाई ठूलो नोक्सानीबाट जोगाउन सक्ने बताए । “किसानको आर्थिक स्थिति बलियो भएन भने नेपालकै आर्थिक स्थिति राम्रो हुन सक्दैन भन्ने हामीलाई लागेर लम्पी स्किन बिरुद्धको खोपको ब्यवस्थापन गरेका छौं ।” खाँणले भने “अहिले गाईको लागि निशुल्क रुपमा यो खोपको थालनी गरेका छौं, यसले हामीले किसानका गाईलाई बचाउन सक्छौं भन्ने हामीलाई विश्वास छ ।” नेपालमा सबै भन्दा बढी गाईमा यो रोग देखिएको छ । यस्तै भैंसी, बाच्छा–बाच्छी, गोरु, पाडा–पाडीमा पनि यो रोग देखिएको छ । सुत्केरी अवस्थामा रहेका पशु, रोगी एवम् बिरामी पशु र धेरै दूध दिने पशुहरुमा भएको संक्रमणले ज्यान लिने गरेको छ ।
रोग लागेका पशुहरुको रोग प्रतिरोधी क्षमता कम हुने हुदा ज्यानै नगए पनि उनिहरु बाँझो हुने सम्भावना रहेको पशु चिकित्सकहरुको भनाई छ । लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ७६ वटा भैसीमा पनि लम्पी स्किनको संक्रमण देखिएको छ । यसबाट ६३ वटा भैसीको मृत्यु भएको छ भने ४३ हजार ५ सय ५३ वटाको उपचार गरिएको छ । यस्तै १ हजार ३ सय ३२ वटा भैसीलाई लम्पी स्किन बिरुद्धको खोप दिईएको छ । रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने यो रोगको संक्रमण लागेका पशुहरुलाई उच्च ज्वरो आउने, नलिका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरु आउने हुन्छ ।
यस्तो खटिराहरु नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरु बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ । यस्तो संक्रमणका कारण दूध उत्पादन घट्ने र संक्रमित पशुको मृत्यु नै हुने गरेको छ ।
प्रतिक्रिया