ताजा अपडेट »

भैरहवामा जग्गाधनी बिना 'सेटिङ' मा जग्गा पास गर्ने माफियाहरु बिरुद्ध ठगी उजुरी

सोमबार, ०८ साउन २०८०

भैरहवा । रकम नै नदिई जग्गा पारीत गराएको आरोपीहरु माथि पिडितले उजुरी दिएकी छन । जिल्ला प्रहरी कार्यालयमा पिडित कलमावती यादवले ९ जना बिरुद्ध किटाजी जाहेरी दिएकी छन् ।

मूख्य आरोपी ढाल बहादुर चौधरी सहित कलमावती यादवले जग्गा खरिद गरेका हरि प्रसाद पोखरेल, जवाहरलाल कसौधन, लेखापढि ब्यवसायी भागवत प्रसाद उपाध्याय, रामचन्द्र गुप्ता, सोमई प्रसाद लोध, साक्षी अजय चौधरी, जगदिश भर बिरुद्ध ठगी जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपक कुंवरले कलमावती यादवले रकम नै नपाई आफ्नो जग्गा झुक्याएर पारीत गरेको भन्दै जाहेरी प्राप्त भएको बताए । उनले यस बिषयमा मालपोत कार्यालय भैरहवालाई पत्र लेखेको र पत्र प्राप्त भए पछि अगाडीको कार्यवाही थालिने जानकारी दिए ।

भारत घर भई अपुताली जग्गा पाएकी कलमावती यादवले आरोपीतहरुले आफ्नो जग्गा खाईदिएको भन्दै बिभिन्न निकाय गुहारेकी छिन् । कलमावती यादवको दाजुको हत्या पछि उनको अंश बापतकोे जग्गा अपुताली पाउने अदालतले निर्णय गरेको थियो । यसरी आएको जग्गा बिदेशी भएको कारण उनले अरुलाई नै हक हस्तान्तरण गर्नुपर्छ । सोही अनुसार उनले दिगाम गुल्मी घर भै हाल बुटवल बस्ने हरि प्रसाद पोखरेल र बुटवल नै बस्ने जवाहिर लाल कसौधनको नाममा जग्गाको कारोबार हुने गरि लिखत तयार पारिएका थियो ।

पोखरेलको नाममा साविक मैनहिया गाविसको वडा नम्बर ७क कित्ता नम्बर ६७ को १४ कठ्ठा ८ धुरबाट ६ कठ्ठा ४ धुर र सोही गाविसको वडा नम्बर ७ख को कित्ता नम्बर १०० को २ कठ्ठा १३ धुर गरि ८ कठ्ठा १७ धुर जग्गा र जवाहर लाल कसौधनको नाममा साविक मैनहिया गाविसको वडा नम्बर ७ख कित्ता नम्बर १२० बाट ५ कठ्ठा साढे १३ धुर जग्गाको राजीनामा तयार भएको थियो ।

पिडित कलमावती यादवका अनुसार मूख्य आरोपी ढाल बहादुर चौधरीसंग असार २५ गते मालपोत कार्यालय भैरहवामा जग्गा पास गर्न जादा उनले आफुले पाउनु पर्ने रकम माग गरिन । तर रकम दिन आलटार गरे पछि कलमावती यादव जग्गा पास नगरि आफु घर फर्केको बताउछिन ।

असार २५ गते पारीत नभएको दुबै राजीनामा मध्ये पछि उनको अनुपस्थितिमै एउटा असार २७ गते र अर्को असार २८ गते पारीत भएको छ । मालपोत कार्यालयका मालपोत अधिकृत बाल प्रसाद श्रेष्ठले जग्गा धनि नै नभई र रकम नै नपाई आफ्नो नामको जग्गा पारीत गरिदिएको पिडितको आरोप छ । आफ्नो करोड बढी पाउनु पर्ने रकम गुमेपछि अहिले उनि बिभिन्न निकाय धाईरहेकी छिन् ।

यी सबै कामको “मास्टर माईण्ड” ढाल बहादुर चौधरी र लेखापढी ब्यवसायी भागवत प्रसाद उपाध्याय एवम हालका जग्गा धनिहरु हरि प्रसाद पोखरेल र जवाहर लाल कसौधन लाई कार्यवाही हुनुपर्ने उनको माग छ । यसै बिच लेखापढि ब्यवसायी भागवत प्रसाद चौधरीले यो कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

ग्लोबल आवाज संगको सम्पर्कमा उनले आफुले लिखत लेखे पनि जग्गा पास गराउन आफ्नो भूमिका नरहेको दावी गरे । उनले २५ गते जग्गा पारीत नभए पछि सो लिखत मालपोत कार्यालयकै कर्मचारी सुबाष बरैले आफ्नो कब्जामा राखेको बताए । उपाध्यायले आफ्नो अगाडी कुनै प्रकारको लेनदेन नभएको बताए । “बैना कागज मैले लेखे पनि मेरो रोहवरमा सहिछाप भएको हैन ।” उपाध्यायले भने “यी सबै कारोबारमा मेरो कुनै संलग्नता छैन । ”

कलमावती सित जालझेल भएको अर्को बैना कागजातले पनि पुष्टि गरेको छ । लेखापढि ब्यवसायी भागवत प्रसाद उपाध्यायले उनै कलमावती एवम जवाहर लाल कसौधन बिच बैनाको कागज पनि बनाएका थिए । कलमावतीको नाममा २०८० सालको जेठ १९ गते प्राप्त हुन आएको जग्गाको बैना बापत उनले २०७८ साल असार ४ गतेमै ८० लाख १० हजार बुझाएको देखाएका छन् ।

यस्तै अर्का ब्यक्ति हरि प्रसाद पोखरेलले २०७८ असार ५ गते ५० लाख १ हजार बैना बापत रकम दिएको कागज राजीनामा लिखतमा संलग्न राखेका छन् । तर यो दुबै बैनाको कागज किर्ते भएको कलमावतीको दावी छ ।