ताजा अपडेट »

काठमाडौंको फोहर विसर्जन गर्ने ठाउँ बन्चरे डाँडाका फेरी आन्दोलिन, आजदेखि फोहर फाल्न नदिने

सोमबार, ०१ साउन २०८०

काठमाडौं । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासी पुनः आन्दोलित भएका छन्।

उनीहरूले आज सोमबारदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने थलो बञ्चरेडाँडा ल्यान्डफिल साइटमा कन्टेनर प्रवेशमा रोक लगाउन लागेका हुन्। ‘फोहोर र मानव सँगै नराख भनेर हामीले बारम्बार ताकेता गर्‍यौं तर सहरी विकास मन्त्रालयको कानमा बतास लागेन’ ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले भने, ‘प्रधानमन्त्रीले दिएको निर्देशनसमेत कार्यान्वयनमा आएन।’

उनका अनुसार एक महिनाजति अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरूङ, प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुख र वडाध्यक्षसमेतको बैठक भएको थियो। बैठकमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्ने गरी दस दिनभित्र प्रतिवेदन तयार पार्न र समाधान गर्न कार्यादेश दिए पनि सहरी विकासमन्त्रीले अहिलेसम्म तदारूकता नदेखाएको उनले बताए।