ताजा अपडेट »

इमर्जिङ कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

शुक्रबार, २९ असार २०८०

बुटवल । नेपालले एसिसी इमर्जिङ कपमा आज पाकिस्तान ए सँग खेल्दैछ । खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ । नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन् ।

पाकिस्तानको आक्रामक ब्याटर हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन् । त्यसैले आज टोलीमा युवा खेलाडीले मौका पाउने देखिन्छ । दीपेन्द्र नहुँदा नेपालले पवन सरार्फलाई मौका दिनसक्छ । सन्दीप नहुँदा मौसम ढकाल वा सूर्य तामाङ मध्य एकले मौका पाउने छन् ।

आरिफको स्थानमा सन्दीप जोरा खेल्ने सम्भावना छ । करण केसीको स्थानमा किशोर महतोले मौका पाउने सम्भावना देखिन्छ । नेपाल विना दबाब खेल्नु पर्ने हुन्छ । पाकिस्तानको सिनियर टोलीका नियमित तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको बल खेल्न नेपाली ब्याटरलाई सहज हुनेछैन । यी दुई बाउन्स र गतीका लागि चिनिन्छन् ।

अघिल्लो साता सर्ट बलमा नेपाली ब्याटरले संघर्ष गरेका थिए । त्यो कमजोरी यस प्रतियोगितामा सुधार गर्नुपर्ने हुन्छ । पाकिस्तानी बलर सर्ट बलका लागि माहिर छन् ।

नेपालसँग खेल्ने पाकिस्तान ए को टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन् । उपाधिको प्रमुख दाबेदार पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । कप्तान मोहम्मद हरिसले पाकिस्तानबाट पाँच ओडिआई र ९ टि२० आई खेलेका छन् । गतवर्ष टि२० विश्वकपमा पाकिस्तानलाई फाइनल सम्म पुर्याउन २२ वर्षीय हरिसले सानदार प्रदर्शन गरेका थिए ।

समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन् । समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ । नेपाल बाहेक अन्य सबै एसोसिएट टोलीले दोस्रो रोजाईको टोली पठाएको छ । नेपालले दोस्रो खेल भारतसँग सोमबार र युएई ए सँग बुधबार खेल्नेछ ।

नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

पाकिस्तानको टोली : मोहम्मद हरिस, ओमैर बिन युसुफ, अमद बट, अर्शद इकबाल, हसिबउल्लाह, कमरन घुलाम, मेहरान मुमताज, मुबासिर खान, मोहम्मद वासिम जुनियर, क्वास अक्रम, शहिबजादा फहरान, सैम अयुब, शाहनजाद दाहानी, सुफियान मकीम र तयाब ताहिर ।