ताजा अपडेट »

केबलकार सर्किट पर्यटनमा नयाँ आयामः अध्यक्ष ढकाल

मंगलबार, २६ असार २०८०

बुटवल । नेपालउद्योग बाणिज्य महासंघका अध्यक्षचन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार प्रालिले पाल्पाको बसन्तपुरमा गरेको पत्रकार सम्मेलनमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्किट, रामायण सर्किट जस्तै अब केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवद्र्धनमा नौलो प्याकेज हुने बताए ।

नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुबै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालले बताए । आईएमई ग्रुपको अगुवाईमा अबको ५ वर्षमा पांचतारे होटेलसहितका थप ४ वटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले बताए । नेपालमा सयौं हिल्स एरिया रहेका र त्यहाँ केबलकार लगायत पर्यटकीय पुर्वाधार बनाउन सके सय डेढ सय किलोमिटर दूरीमा रहेका भारतीय शहरहरुका नागरिक रमाउन आउने सम्भावना रहेको ढकालले बताए । पर्यटन लगायतका क्षेत्रमा नेपाली र भारतीय पक्षको संयुक्त लगानी आवश्यक रहेको समेत अध्यक्ष ढकालले बताएका छन् ।

लुम्बिनी केबलकार बेलहियानाका र बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेकाले पाल्पा बसन्तपुरको मनोरम प्राकृतिक भूगोल, कामाख्या देवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए । अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, खानी र खनिज पदार्थ, कृषिजस्ता क्षेत्रहरुमा भारतीयसँग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्तगर्न सकिने समेत औंल्याए । भारतीय पर्यटकहरुलाई नेपाल आगमनका क्रममा सीमानाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे ।

सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल संख्यामध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए । केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शका लागि नेपालीसँगै भारतीय नागरिकको आकर्षण रहेको उनले बताए ।
लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पांचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पर्यटन पत्रकार नरेश केसी लगायतले नेपाल र भारत बीच सरकारी स्तरसँगै नागरिक स्तरको सहकार्यबाट दुबै देशका पर्यटकीय गन्तव्यको प्रचार प्रसार हुने बताए ।