ताजा अपडेट »

उपल्लो तम्घासमा भोलिदेखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा

मंगलबार, १४ कार्तिक २०८०
2 Shares

गुल्मी । गुल्मीको उपल्लो तम्घासमा भोलि बुधबारदेखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । सदियौं पुरानो शत्तिपिठलाई प्रचारप्रसार गर्नेगरि यहि कार्ति १५ गतेदेखि प्रथम एतिहासिक गुल्मी महोत्सव आयोजना हुने भएको हो ।

गुल्मी उद्योग संघको आयोजनामा उपल्लो तम्घास खालाकाचौर स्थित तम्घासस्थान मन्दिर परिसरमा महोत्सव हुने भएको छ । संघका महासचिव सुर्दशन खनालले महोत्सवको तयारी बारे जानकारी गराउँदै अहिलेसम्म गुल्मीमा भएका महोत्सवहरूमा भन्दा बढी स्टल राखिएको र स्थानीय उत्पादनलाई बढवा दिईएको दाबी गरे । महोत्सवमा ३ सय स्टल बुकिङ भइसकेका छन् भने थप स्टलका लागि माग भइरहेको उनले बताए । महोत्सवमा करिब २ दर्जन स्टल थप हुन सक्ने उल्लेख गरे ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि ५० वटा स्टल छुट्याएर ती स्टलहरुमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए । महोत्सवको तयारीका लागि काठमाडौ, बुटवल लगायतका ठूला शहरमा रहेका गुल्मेलीहरूसँग भेटघाट गर्नुका साथै गुल्मीका १२ वटै पालिकामा पुगेर सहयोगका लागि आह्वान गरिएको उनले बताए ।

मेलाको रेसुंगा नगरपालिकाका मेयरखिलध्वज पन्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने पहिलो दिन कलाकारहरू बैकुण्ठ महत, रामचन्द्र चन्द लगायत स्थानीय कलाकारहरु र महिला समुहले बजाउने नौंमति बाजा प्रस्तुत गरिने आयोजकले जनाएको छ । उद्घाटन अघि बुधबार विहान उपल्लो तम्घासबाट खानिगाउँ, बाख्रेछेडा, हुँदै नयाँबजार लगायतका ठाउँको परिक्रममा गरी स्थानीय भजनकिर्तन, नौमति बाजा, विभिन्न झाकी प्रदर्शन गरिने भएको छ ।

मेला अवधिभर बसपार्क र तल बजारदेखि महोत्सव स्थलसम्मका लागि निःशुल्क बस सेवा उपलब्ध गराइएको छ । महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । कार्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब ६० करोड कारोबार हुने लक्ष्य लिईएको छ ।

तम्घासस्थान मन्दिर क्षेत्रलाई चिनाउनु, औद्योगिक क्षेत्रको विकास तथा रेसुंगा नगरपालिकाको जाउँ हिँड रेसुंगा अभियानलाई सफल पार्ने उद्देश्यसहित मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको मुख्य प्रायोजक नेशनल प्याथल्याब तथा सहप्रयोजक सिजि मोटर्स बुटवल रहेको छ ।

सहप्रायोजकका रूपका रेसुंगा नगरपालिकाको जाउँ हिँड रेसुंगा अभियान समेत रहेको महासचिव खनालले जानकारी दिए । उदघाटन शत्रको पहिलो दिन गुल्मीको उज्यालो अभियानका परिकल्पनाकार उपल्लो तम्घासका माधव मरासिनीलाई सम्मान गरिनेछ । त्यस्तै गुल्मीमा उन्नत जातको गाई भित्र्याएर गुल्मीमा दुग्ध उत्पादन अभियान सुरु गरेका पूर्व सांसद कमलराज श्रेष्ठ, पहिलो पटक तम्घासमा होटल सञ्चालन गरी हाल ९३ वर्षको उमेरसम्म होटल व्यवसायमा रहेका हिरामणि सापकोटा र गुल्मीमा पहिलोपटक महोत्सव आयोजना गरेका समाजसेवी अशोक थापालाई सम्मान गरिने बताइएको छ । संघका उपाध्यक्ष जनक पन्तका अनुसार गुल्मीका ६८ जना कलाकार हुनेछन् भने जम्मा २३ जना अन्य जिल्लाका कलाकार हुनेछन् ।

महोत्सवले उत्साहित उपल्लो तम्घासका महिला

महोत्सवलाई उपल्लो तम्घास बासिले ठूलो प्रतिष्ठा र महिमाका रूपमा ग्रहण गरेका छन् । उपल्लो तम्घासको प्रत्येक घरघरबाट महिलाहरू महोत्सव स्थल सिङ्गारपटारमा लागेका छन् । माला उन्ने र दुना टपरी फुट्नेहरूको भ्याइनभ्याई देखिन्थ्यो । हालसम्म सदुपयोग गर्न नसकिएको खालाकाचौर बेहुली झै सिङ्गारिएको छ ।