ताजा अपडेट »

मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारीमा वृक्षरोपण

विहीबार, २१ असार २०८०

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबार) ले बिहीबार वृक्षरोपण गरेको छ । ५ औं अधिवेशन तथा १५ औं साधारण सभाको पूर्वसन्ध्यामा उद्यान परिसरभित्र विभिन्न प्रजातिका करिब पाँच सय विरूवा लगाएको हो । वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले धेरै मेहनत र निरन्तरताबाट उद्यान नमूना बन्न सफल भएको बताउँदै थप विकासको लागि नगरको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन ।

उपप्रमुख अर्यालले शहरमा हरियाली संरक्षणमा उद्यानहरुको योगदान रहेको भन्दै यो कामलाई थप निरन्तरता दिन सुझाव दिइन् । उनले फूलबारी आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्त्व्य बनेकोले यसको अझै विकास गर्न आवश्यक रहेकोमा जोड दिइन । कार्यक्रममा समितिका अध्यक्ष खेम प्रसाद लुइँटेल वर्षभरी नै विविध कार्यक्रम मध्ये वृक्षरोपण महत्वपूर्ण कार्य भएको बताए । गत एक वर्षको अवधिमा फूलबारीमा एक हजार बिरुवा लगाएको भन्दै उनले विस्थापित पुराना रूखको ठाउँमा हरियाली गराउने लक्ष्यसहित कार्यक्रम गरिँदै आएको बताए ।

कार्यक्रमम संयोजक माधव नेपालले रुद्राक्ष, अमला, जामुन, कल्की, धुपी, सुगर चट, एभोगार्डो, तेजपत्ता लगायत विरूवा रोपिएको जानकारी दिए । सो अवसरमा बुटवल सामुदायिक वन उपभोक्ता समूह (१–४) का अध्यक्ष बाबुराम पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष सुनील शाक्यले शुभकामना दिए । कार्यक्रमको सञ्चालन समितिका सदस्य गौतमलाल शाक्यले गरेका थिए । संघको साधारणसभा तथा अधिवेशन शनिबार हुँदैछ ।