ताजा अपडेट »

३ खेलाडी परिवर्तन गरेर नेपाल युएई विरुद्ध फिल्डिङमा

आइतबार, १७ असार २०८०

बुटवल । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईविरुद्ध टस जिते फिल्डिङा उत्रेको छ । जिम्बावेको हरारेमा अवस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी प्रतियोगितामा नेपालले आज टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ ।

लामो समयपछि पूवृ कप्तान ज्ञानेन्द्र मल्ल टोलीमा फर्किएका छन् । ज्ञानेन्द्र आइसिसी विश्वकप लिग २ मा मार्चमा पपुवा न्युगिनीपछि पहिलो पटक टोलीमा फर्किएका हुन् । नेपालले ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र अर्जुन साउदलाई मौका दिएको छ । नेपालले आसिफ शेख, ललितनारायण राजवंशी र कुशल मल्ललाई बाहिर राखेको छ ।

ज्ञानेन्द्र नेपालका टोलीमा भएका सर्वाधिक अनुभवी खेलाडी हुन् । तेस्रो नम्बरमा भीम सार्कीले राम्रो प्रदर्शन गरेपछि नेपालले ज्ञानेन्द्रलाई बाहिर राख्दै आएको थियो । ज्ञानेन्द्रले आज कुशलसँग ओपनिङ वा तेस्रो नम्बरमा खेल्नेछन् । आसिफ शेखलाई विश्राम दिएको हुँदा उनको स्थानमा अर्जुन साउद वा ज्ञानेन्द्र मल्ल मध्य एकले ओपनिङ गर्ने छन् ।

अर्जुन डिसेम्बरमा स्कटल्यान्डविरुद्ध खेलपछि नेपालको प्लेइङ ११ मा फर्किएका हुन् । उनी आक्रामक ब्याटिङसँगै किपिङका लागि चिनिन्छन् । उनी तल्लोक्रममा पनि त्यतिनै राम्रो ब्याटिङको क्षमता राख्छन् ।

उता प्रतिश जि.सी बायाँ हाते तीव्र गतिका बलर हुन् । नेपालबाट दुई ओडिआई खेल खेलेका प्रतिश आइसिसी विश्वकप लिग २ मा युएईविरुद्ध दुबई इन्टरनेशल मैदानमा खेलपछि टोलीमा पहिलो पटक फर्किएका हुन् । उनी तल्लोक्रममा राम्रो ब्याटिङ समेत गर्दछन् । नेपालले स्पिनर ललितनारायण राजवंशीको स्थानमा प्रतिशलाई मौका दिएको हो ।

नेपाल विश्वकप दौडबाट बाहिरि सकेको हुँदा यो सातौं स्थानको लागि प्रतिस्पर्धा हुँदैछ । नेपाल विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड र पराजित भएमा नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

नेपालको प्लेइङ –११

कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र अर्जुन साउद ।