ताजा अपडेट »

कोशी प्रदेशसभा सचिवालयअघि पुगेका २५ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

आइतबार, १४ जेठ २०८०

बुटवल। पहिचानवादी आन्दोलनकारीले प्रदेशसभालाई लक्षित गरी विरोधको तयारी गरिरहेका बेला कोसी प्रदेशसभा सचिवालयअघिबाट २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा पून संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेशसभा भवन अगाडि पुगेका उनीहरुलाई आइतबार विहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेशसभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उनले बताए । आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेशसभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । विराटनगर आउने सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाई गरेको छ ।

कोशी प्रदेशको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोबाट सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ । गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पून नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले प्रदेशसभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो ।

आन्दोलनकारीले प्रदर्शन गर्ने भएपछि प्रहरीले सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जन दाहालले सुरक्षा सतर्कता उच्च बनाएको बताए । पहिचान आन्दोलनका नेता प्रेम येक्तेनले प्रदेशसभा भवन घेर्ने तयारी रहेको बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । प्रदेशको नाम संसोधन गर्ने थलो प्रदेशसभा नै रहेकाले प्रदेशसभा केन्द्रीत आन्दोलन सुरु गरेको उनको भनाई छ ।

प्रदेशसभा अधिवेशनको प्रथम बैठकको कार्यसूची तयार भइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार प्रदेश प्रमुखले पठाएको पत्र सुनाएपछि केही प्रदेश ऐन संसोधन विधेयक पेश हुनेछ । प्रदेश सरकारले जारी गरेको २ वटा अध्यादेश टेवल गर्ने र दलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची पनि छ । गत फागुन १७ गते नाम राखेपछि पहिलो पटक बैठक बस्न लागेको हो।