ताजा अपडेट »

एसीसी प्रिमियर कप : नेपाल र युएई बीच भोली हुने खेल वर्षाले स्थगित भए के हुन्छ ?

आइतबार, १७ बैशाख २०८०

बुटवल । जल तथा मौसम पूर्वामुमान महाशाखाका अनुसार काठमाण्डौं लगायत देशका अधिकांश भू–भागमा आगामी विहिबारसम्म नै वर्षाको सम्भावना छ । निरन्तर वर्षा भएमा एसीसी प्रिमियर कप अन्तरगत भोली सोमबार हुने नेपाल र युएई बीचको खेल पनि प्रभावित हुने भएको छ । सोमबार खेल हुन नसकेको अवस्थामा मँगलबार प्रतियोगिता हुने छ ।

नेपाल पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेताको रुपमा फाइनलमा पुगेको हो। युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभर गराउन प्रयास गरिनेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसिसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसिसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । यदि खेल र सुपर ओभर कुनै नभएमा खेल रद्द हुनेछ । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् ।

शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप विश्वकप अघि एसिया टोलीको अन्तिम तयारी हो । एकदिवसीय विश्वकप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुनेछ । विश्वकप खेल्न भने नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने १० टोली सहभागी विश्वकप छनोटमा समूह चरण, सुपर सिक्स हुँदै फाइनलमा स्थान बनाउनु पर्ने हुन्छ।

एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । आज हुने तेस्रो स्थानका लागि ओमान र कुवेतबीचको विजेता टोलीले पनि एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।