बुटवल । एसिसी प्रिमियर कपमा समूह विजेता बन्ने दाउमा नेपाल रहेको छ । समूह ए मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा आज बिहीबार कतारसँग टियु मैदानमा खेल्दै छ।
समूह ए बाट ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । नेपाललाई समूह विजेता बन्न आज हुने अन्तिम खेलमा जित वा १ अंक आवश्यक छ ।
नेपाल विजयी हुँदा ७ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ । वर्षा वा कुनै कारण खेलमा १/१ अंक बाँडेमा पनि नेपाल समूह विजेता बन्नेछ । अंक बाँड्दा नेपाल र ओमान दुबैको समान ६ अंक हुनेछ । नेपालको नेटरनरेट १.७२५ छ । ओमानको ०.३७७ छ । तर अन्तिम खेलमा नेपाल पराजित भएमा उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ ।
नेपालले सेमिफाइनलमा कुन टोलीसँग खेल्ने आजका अन्तिम दुई खेलले निर्धारण गर्नेछ । समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । बिहीबार मुलपानी मैदानमा हुने हङकङ र कुवेतबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ।
हङकङ ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । हङकङ विजयी हुँदा समूह विजेता बन्नेछ ।
कुनै कारण अंक बाँड्नु परेमा भने हङकङ उपविजेता बन्नेछ । कुवेत विजयी भएमा समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ । युएईको नेटरनरेट २.४६८, हङकङको २.२०४ र कुवेतको ०.०७२ को छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।
शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिप्समा एसियाका टेस्ट टोलीका यू-२३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।
प्रतिक्रिया