ताजा अपडेट »

चुपचाप मनाई दिन्छु नारी दिवस

बुधबार, २४ फागुन २०७९

म पिंडालुको गानो हुँ
देखिन्छु
कर्कला जस्तै !
हाँसिरहन्छु
लुकाएर पीडा
खसालेर आँसु
पिएर दुस्खहरु !
तिमी के गर्छ्यौ थाहा छैन रु
मभने
चुपचाप मनाई दिन्छु नारी दिवस ।

भोगटेको रुखबाट
सल चुँडेर बाँचेकी थिएँ
ऐसेलुको झाँङमा
जीवन साटेकी थिएँ
हजारपटक लुछिएर गिद्दबाट पनि
यही देख्न बाँचेकी थिएँ
तिम्रो अधरको लालीसँग मेरो छैन प्रश्न
म मेरै लागि बाँचेकी नारी हुँ
तिमी सोच्छ्यौ के थाहा छैन रु
चुपचाप मनाई दिन्छु नारी दिवस ।
चूक घोप्टिएका रातमा
बालेर मनको उज्यालो
बाँच्न खोजेकी नारी हुँ म !
हजार श्रापले नगलेकी
लाखौं बातले नढलेकी
बाँच्नकै लागि बाँच्न खोजेकी हुँ म
तिमी के गर्छ्यौ थाहा छैन ?
मभने
चुपचाप मनाई दिन्छु नारी दिवस ।
नारी दिवसमा
लोग्नेमान्छेको करतुत गाउनु छैन मलाई
मजस्तै नारीको उल्टो भजन गाउनु छैन मलाई
जीवन बगाउने योगमायाको कहानी भन्नू छैन मलाई
खोक्न नसक्ने सासू

बोक्न नसक्ने लोग्नेको
कथा सुनाउनु छैन मलाई
भन,जे भन्नू छ तिम्ले मलाई
चुपचाप मनाई दिन्छु नारी दिवस !

गाग्रीले पानीसँगै थिचेको कविता सुनाउनु छैन
माईतीले दाईजो नदिएर
सुन्नु परेको ईतिहास सुनाउनु छैन
गृहकार्य नगरेको निहुँमा
गोदाई खाएको
प्रमाण जुटाउनु छैन मलाई
होलीको नाउँमा विपरित साथीले
मुसारेको चीत्कार सुनाउनु छैन मलाई
बताउ जे बताउन छ नारी दिवस बारे तिमी
मभने
चुपचाप मनाई दिन्छु नारी दिवस !