ताजा अपडेट »

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

बुधबार, ०४ माघ २०७९

बुटवल । लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

सभामुख घर्ती मगरले शपथ लिएपछि उपसभामुख मेनुका केसी खाँडलाई पद तथा गोपनियताको शपथ गराए । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित एक समारोहमा सभामुख र उपसभामुख दुवैले शपथ लिएका हुन् ।

लुम्विनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड मंगलबार निर्विरोध निर्वाचित भएका थिए । सोही दिन दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा एक–एक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको थियो । उपसभामुखमा तीन जनाको मनोनयन परेको थियो । नागरिक उन्मुक्तिले उपसभामुखका उमेदवार निर्मलादेवी चौधरी र कांग्रेसले विश्वप्रेम पाठकलाई उपसभामुखबाट उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि राप्रपाकी मेनुका केसी खाँड निर्विरोध भएकी हुन् ।