ताजा अपडेट »

भैरहवा आउन नेपाल एयरलाइन्सलाई समय लाग्ने, आन्तरिक तयारी जारी

सोमबार, ०४ पुस २०७९
2 Shares

बुटवल । नेपाल एयरलाइन्सले भैरहवादेखि गर्ने भनेको उडान अझै केही दिन ढिला हुने भएको छ । सोमबार आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट उडान गर्ने मिति तोकेको एयरलाइन्सले आन्तरिक तयारी नपुगेको जनायो ।

दोहा र क्वालालम्पुरबाट भैरहवा हुँदै उडान गर्ने एयरलाइन्सले बताएको थियो। 'भैरहवा जान केही आन्तरिक तयारी बाँकी छ,' एयरलाइन्स प्रवक्ता अर्चना खड्काले भनिन्, 'उक्त विमानस्थलमा जाँदा नाफा र घाटा केकस्तो हुन्छ, त्यसको विश्लेषण गरेर पेस गर्ने र निगमको बोर्ड बैठकले स्वीकृत गरेपछि उडान सुरू गर्ने भनिएको छ।' प्रवक्ता खड्काका अनुसार नयाँ विमानस्थलमा उडान सुरू गर्दा बोर्ड बैठकले स्वीकृत गर्नुपर्नेछ। यो प्रक्रिया भइरहेकाले केही ढिलाइ हुन सक्ने उनले बताइन्। बोर्डबाट स्वीकृत हुनासाथ केही दिनमै निगमले सूचना निकाल्नेछ र तयारी थाल्ने उनले बताइन ।

एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ। प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाण्डौं-दोहा-भैरहवा-काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाण्डौं-क्वालालम्पुर-भैरहवा-काठमाण्डौं रूटमा उडान गर्नेछ।

प्राधिकरणका अनुसार दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुई वटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार (सातामा एक) उडान हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरिसकेको छ।