ताजा अपडेट »

मासुमा आत्मनिर्भरताको लागि बाख्रापालन प्रवर्द्धन कार्यक्रम

आइतबार, २९ मंसिर २०७६

मंसिर २९,

हेटौँडा । प्रदेशलाई अबको ४ वर्षभित्र माछामासुमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको प्रदेश ३ सरकारले बाख्रापालन कार्यक्रमलाई प्रवर्द्धन सुरु गरेको छ। प्रदेश सरकारले ग्रामीण तथा सहर भेगका कृषकहरू बाख्रापालनमा प्रोत्साहन गर्न अनुदानको लागि सूचना सार्वजनिक गरेको छ। प्रदेश सरकार कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले अनुदान कार्यक्रमबाट कृषकलाई राम्रो सहयोग पुग्ने बताए।

कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यवसायिक बाख्रापालन प्रवर्द्धन गर्न कार्यक्रम ल्याउन लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। ‘उन्नत जातका बाख्राको अध्ययन, अनुसन्धान गरी उत्पादन बढाएर किसानलाई राम्रो आम्दानी दिन विशेष कार्यक्रम सुरुआत गर्न लागिएको हो’, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लामाले भने। उनका अनुसार मकवानपुर, चितवन, धादिङ, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही पालिकामा सो कार्यक्रम सञ्चालनमा आउनेछ। मकवानपुरको इन्द्रसरोवर र भीमफेदी गाउँपालिका, चितवनको राप्ती नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका र धादिङको बेनीघाट-रोराङ्ग गाउँपालिकामा कार्यक्रम कार्यान्वन हुनेछ।

मन्त्री लामाले बाख्रापालन फार्मलाई ५० लाखसम्म अनुदान रकम दिइने र यसका लागि सूचनासमेत प्रकाशित भइसकेको बताए। ‘यो कार्यक्रममा मुख्य लक्ष्य भनेको उन्नत जातका बाख्रा भित्र्याउनु नै हो’, उनले भने। यो कार्यक्रमले युवा शक्ति विदेश पलायन हुनबाट समेत रोक्न सकिने र विदेशबाट मासुका लागि खसिबोकालगायतको आयातमा कमि गर्न सकिने उनले बताए।- नेपालन्यूज