ताजा अपडेट »

दशैंको सम्झना

शनिबार, २२ असोज २०७९

हिन्दुहरुको महान पर्व बिजयादशमी मनाउनको लागि मिति २०७९-६-१४ गते बुटवलबाट जन्मघर अर्घाखाँची छत्रदेव-६ केरुङ्गाको यात्रा प्रारम्भ भयो । यात्रामा सँगै रहेका सरहरु मोहन र यमन अनि म कपिलवस्तुको गोरुसिङ्गेमा पुगेर जुस पिइयो अनि यात्राकै क्रममा रहेका सुशील सरसँग त बात पनि मारियो । अब हाम्रो यात्रा पुरानो व्यापारीक बजार पत्थरकोट हुँदै अर्घाखाँचीतर्फ लागियो ।

प्राकृतिक सौन्दर्यतासँगै आनन्द लिँदै अगाडि बढियो । ठाउँ–ठाउँमा पहिरो झरेको थियो । जसले यो पालीको दशैं यात्रा कष्टकर हुने कुराको संकेत गरेको थियो । सडक यातायातका लागि अर्घाखाँची पहाडी जिल्लामा नमुना नाम कमाएको भएता पनि सडकको दुरावस्था हेर्दा नमुना त केबल भाषण र निर्वाचनको घोषणा पत्रमा मात्रै भए जस्तो लागेको थियो।अर्घाखाँचीको महत्त्वपूर्ण र ऐेतिहासिक व्यापारीक बजार ठाडा अमराईमा केहि समय विश्राम लिएर भर्खरै पानी परेर रोकिएको गाउँले सडकमा चिप्लिदै हामी अगाडि बढियो ।

प्रसिद्ध सुपा देउराली मन्दिर आसपासको मुटु सिरिङ्ग बनाउने बाटोमा मोटर साइकल कुदाउँदै बल्ल–तल्ल सुपा मन्दिर सम्म पुगियो । खाना खाएर गएकोले मन्दिरको बाहिरी ढोकाबाट दर्शन गरि फोटो खिचेर सन्धिखर्कतर्फ लागियो । नरपानी क्षेत्रको बाटो अविस्मरणीय छ, त्यसमाथि बाटोमा राखेका दुर्घटना क्षेत्रका बोर्डले मनको सातो उडाएको थियो । छिन–छिनमा आउने आफन्तको फोन र चिप्लो बाटोले यात्रालाई थप चुनौतिपूर्ण बनाएको थियो । बाटो अवस्था हेर्दा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि जवाफदेही र जिम्मेवार बन्न नसकेको स्पष्ट बुझ्न सकिन्थ्यो। केही जनप्रतिनिधि चिनजानका पनि थिए ।

‘बाटो अत्यधिक बिग्रेको छ यस्तो चाडवाडको समयमा त श्रमदान गरेर भए पनि अलि सजिलो बनाएको भए हुन्थ्यो’ भन्दा ‘बजेट छैन ।’ भन्ने जवाफ पनि आयो । जनतालाई अप्ठ्यारो पर्दा आवश्यक सहयोग गर्न नसक्ने जनप्रतिनिधि वास्तविक रुपमा कमाउ धन्दाका ठेकदार नै हुन् ।

अर्घाखाँचीको प्रसिद्ध घुम्ति भन्ने स्थानबाट फुतवाङ्ग पुग्न सामान्य समयमा २५ मिनेट लाग्ने गर्थ्यो तर यसपालि १ घण्टा १० मिनेटमा पुगियो । फुतवाङ्ग पुगेपछि बल्ल मनले शान्ति महशुस गर्यो । गोरुसिङ्गेबाट १ बजे हिँडेका हामी ५ः२५ फुतवाङ्ग पुगियो । बाटोको अवस्था सामान्य हुँदा केरुङ्गाबाट ४ घण्टामा बुटवल पुग्ने म यसलाई ७ घण्टामा घर पुगे । पूर्व उपप्रधानमन्त्री र उपसभामुखको गृह जिल्ला त्यसमाथि पूर्व गृह सचिवको जिल्लामा सडकको यो दुरावस्था हेर्दा विकासमा साच्चिकै कागजी नमूना बनेको महशुस भएको छ ।

गाउँमा आजका मितिसम्म बस्दा यहाँका स्थानीय बासिन्दाले वर्षाको कारणले घर बगाउन लागेको र जोगाउनको लागि त्रिपाल मागेको र जनप्रतिनिधिले देखाएको एकपक्षीय व्यवहारले गर्दा मनमा बेचैनी छ । केही वाडका जनप्रतिनिधिको काम नजिकैबाट नियाल्ने मौका यो पालीको दशैंले दिएको छ ।

आफ्नो पालिकाका वाड न १, २,३,४ र ५ नम्बर वाडका जनप्रतिनिधिको कार्यशैली र जवाफदेहीता नजिकैबाट हेरियो जसमा ५ नम्बरको जनप्रतिनिधिको व्यवहार शालिन र जिम्मेवार लाग्यो । दशैमा बेमौसमी वर्षा भएको कारणले गर्दा टीका प्रसाद ग्रहणका लागि आफन्तकोमा जान सकिएन । मेरो अनुभवमा दशैमा पानी परेकाले आफन्तकोमा आशिर्वादका लागि नपुगेको पहिलो घटना हो ।

भुसालहरुले दशंैमा कालरात्रिका दिन देवीको पूजा गरि बडा दशैं मनाउने रितिरिवाज रहेकोले भुसालहरुको कुलायन मन्दिर बाहेक अन्य देवि देवालयहरुमा वर्षा र यसले बिगारेको सडकले गर्दा पुग्न सकिएन । केरुङ्गाको कालिका भगवती र छत्रदेवको छत्रमहाराज मन्दिर पुग्ने ईच्छा अधुरै रहेता पनि राणा प्रधानमन्त्री जंग बहादुरको जन्मस्थल लामपाटी मथुरा र न्वारान गरिए ऐतिहासिक स्थल बल्कोट पौवा भने पुगियो । जंग बहादुरको जीवनी बुझ्न चाहनेहरुले एक पटक बल्कोट पौवा र लामपाटी पुग्र्ने पर्ने स्थलहरु हुन् । गाउँमा अहिले संघीय र प्रादेशिक निर्वाचनका बारेमा अनेक बहस र आंकलन भएको पाएँ ।

सबैभन्दा राम्रो पक्ष सबैले नयाँ अनुहारले मात्रै नमूना अर्घाखाँची व्यवहारमा बनाउन सक्ने बताएका छन् । यद्यपी गाउँमा चाडपर्व मनाउन आउने युवाको आह्वान यहाँका स्थानीय बासिन्दाले सहज रुपमा स्विकार्न सकिरहेको पाइएन । पानी परेको समयमा मोबाइलमा नेटवर्कदेखि खानेपानी र विद्युत आपूर्ति समेत अवरुद्ध भएको घटना दशैंको समयमा यो पहिलो भने होइन । गाउँमा पुगेर पिउने पानी धारामा नआएकोले बोतलको पानी किनेर खाएको घटना मेरा लागि पहिलो हो ।