माननीय मन्त्री ज्यू, नमस्कार
मेरो आजको छाक टर्यो । अब बेलुका के खाने भन्ने चिन्ता छ । तपाइँको ज्यूनार भएहोला । मन्त्री क्वाटरमा विभिन्न परिकारहरु बने होलान् । म जस्ता जनताका पेट कंैयौं दिन भोका भएतापनि तपाइँहरुलाई त्यस्तो कहिल्यै भएन । भविष्यमा पनि हुने छैन । किनकि तपाइँहरु सधैँ सत्ता र भत्तामा रमाउन सक्षम हुनुहुन्छ । मन्त्री ज्यू, वर्षातको मौसम छ । घरको छाना चुहुने छ । पानी परिहाले राति सुत्न कष्टपूर्ण हुन्छ । म त जसरी तसरी रात काटुला । बिरामी, बढी आमा छन् । सानो बच्चा छ । उनीहरुलाई कसरी न्यानो पार्ने भन्ने चिन्ता छ ।
हामी जनताले जसरी तपाइँहरुलाई सम्मान गर्छौ, त्यसरी नै तपाइँहरु किन गर्न सक्नु हुन्न ? देशका सबै नागरिक बराबर हुन भन्ने सोच तपाईँहरुमा कहिले पलाउला ? अस्तिको घटनाले तपाइँहरु प्रतिको सद्भावमा बेस्सरी ठेस पुगेको छ । त्यो स्तरमा गिरेको अलि सुहाएन कि ? छिः सुन्न पनि काननै पाटिने । भन्न पनि लाजमर्दो । घृणित प्रतिकार्य । मन्त्री जस्तो व्यक्तिको हर्कत । बिनाकारण निहुँ खोज्ने । झगडा गर्ने । हप्काउने । त्यो पनि म जस्तो आफैमा शक्तिहीन । गरीब । बबुरो श्रमजीवी । मजदुर । सुरक्षा गार्डसँग ।
तपाईं आँफै जोरी खोज्ने । थुतुनो खेलाउने । म माथि आई लाग्ने । द्वन्द्व गर्न खोज्ने । फिल्डमा उत्रने । सेखी झार्न खोज्ने । आफू गैरजिम्मेवार रुपमा प्रस्तुत हुने । अशोभनीय हर्कत गर्ने । अनि उल्टो मलार्ई पक्राउ गर्न ठाडो आदेश दिने । हिरासतमा लिने । थुनाउने । मानसिक पीडा दिने । सजायको धम्कि दिने । सारै अनुचित कार्य । नाजायज । सत्ताको दम्भ । पदको चरम दुरुपयोग । शक्तिको उम्माद । अनि माफ नै नमागेको मलाई माफ मागेकाले रिहाइ गरिदिए भन्ने । झुटमाथि झुट ।
मन्त्रीज्यू, तपाईँसँग आँट भए निर्मला पन्त जस्ता हत्याका कैंयौं हत्यारालाई पक्राउ गर्न लगाउनु । भ्रष्ट, घुसखोरी, अपराधी, देशद्रोही, राष्ट्रघातीहरुलाई पक्राउ गर्न लगाउनु । एसपिपिका सुत्रधारहरुलाई हिरासतमा लिन लगाउनु । सत्ताको चरम दुरुपयोग गर्नेको कठालो समाउनु । कुशासनमा लिप्त नेताहरुको पर्दाफास गर्नु । मानव अधिकार हनन् गर्नेलाई सजाय दिलाउनु । देश बेच्ने अपराधीहरुलाई सवक सिकाउनु । त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याउनु । जेलमा कोच्न लगाउनु । सडाउनु । हिम्मत छ ? हैन भने दाइलाई सक्दिन भाउजूलाई राख्दिन भन्ने कहावत चरितार्थ हुनेगरी एउटा श्रमजीवीलाई बिना कारण कठघरामा उभ्याउने जस्ता घृणित काम नगर्नु ?
म जस्तो साधारण नागरिकले सिकाउदा अन्यथा नलिनु होला । तर, भन्नै पर्ने भयो । मन्त्रीज्यू, म सुरक्षा गार्ड हुँ । मेरो को काम के हो ? दायित्व के हो ? यसबारे मन्त्री जस्तो व्यक्तिले नजरअन्दाज गर्न मिल्छ ? बुझ पचाएर अपमान गर्न मिल्छ ? म जस्तो कर्मठ, अनुशासित सुरक्षागार्डले नियम बुझ्छु । मात्र विधि वुझ्छु । कसैको मन बुझ्न सक्दिन । सबैलाई समान व्यवहार गर्छु । ग्राहकलाई अन्याय हुन नदिने मेरो प्रण होे । सेवाग्राहीलाई पालो मिच्न नदिने । भिड हुन नदिने । ठाउँ अनुसार लाइनमा रहन लगाउने ।
अनुसाशित तवरले सबैलाई सेवा लिन लगाउने । कार्यालयको कामलाई चुस्त दुरुस्त बनाउन सहयोग गर्ने । नियम मिच्न खोज्नेलाई सम्झाउने । बुझाउने । अभद्र रुपमा प्रस्तुत भए नियन्त्रणमा लिने । सामान्य वल प्रयोग गर्ने । वल समेतको प्रयोग गर्न पर्ने स्थीति आउने भएकोले हामी पूर्व सुरक्षाकर्मी वा तालिम प्राप्त व्यक्ति मात्र सुरक्षा गार्डको रुपमा काम गर्न पाउछौँ । यो विश्व व्यापी मान्यता हो । तपार्इँको हर्कतअनुसार त मैले नै थोरै बल प्रयोग गर्नु पर्ने थियो । सम्हालिएर बस्दा समेत उल्टो मलाई नै दोष । यो कहाँको नियम हो, मन्त्रीज्यू ?
मन्त्रीज्यू, मलाई सिकाइबक्सियोस के सुरक्षा गार्डले लाइन मिच्न खोज्नेलाई सलाम गर्नुपर्ने हो ? तपाइँले राम्रो काम गर्नुभयो भनेर स्याबास दिनु पर्नेहो ? के त्यस्तालाई बोकेर भित्र पुराउनुपर्ने हो ? संस्थाको नियम उलङ्घन गर्नेप्रति आभारी हनुपर्ने हो ? पक्का हैन होला । त्यसैगरी सबै ग्राहकलाई चिन्न सक्नु पर्नेहो ? को उपस्थित हुनेछ भनेर पूर्ववतः रुपमा जानेर बस्नु पर्ने हो ? तीन, छ महिने मन्त्रीलाई क्याविनेटका सबैले त चिन्दैनन् । अनि म जस्तो एउटा श्रमजीवी सुरक्षा गार्डले कसरी चिन्ने ? अनि चिनिहालेमा पनि कसरी लाइन मिच्न लगाउने ? मेरो जागिरको सवाल छ । रोजिरोटीको सवाल छ । आफ्नो र परिवारको पेटको सवाल छ ।
कम्पनिले नै तालिमका क्रमका सबैलाई समान व्यवहार गर्न सिकाएको हुन्छ । सम्वन्धित सस्थाले पनि कसैलाई पक्षपात नगर्न अह्राएको हुन्छ । अनि मैले आफ्नो स्वविवेक कसरी प्रयोग गर्ने ? कति जनालाई प्राथमिकतामा राख्ने ? एउटालाई मात्र ध्यान दिएर भएन । सबै सेवाग्राही भगवान सरह हुन् । समान व्यावहार गर्नै पर्यो । तपाइँलाई राम्रोसँग थाहा होला कि कसैलाई लाइनमै बस्न लगाएर अरुलाई सिधै भित्र प्रवेश गर्न दिनु सुरक्षा गार्डको अधिकार क्षेत्रभित्र पर्दैन । त्यसो गरेमा म सजायको भागिदार बन्नु पर्छ ।
दण्डजरिवाना तिर्नुपर्छ । सास्ती भोग्नुपर्छ । मेरो जागिर गुम्न पनि सक्छ । यस्तो जीवन मरणको अवस्थामा आफ्नो पेटमा लात हानेर कसरी विशिष्टहरुलाई नियम मिच्न सहयोग गरौ मैले ? मैले आफ्नो दायित्य पुरा गर्नै पर्छ । जिम्मेदारीबाट पछि हट्न मिल्दैन । नुनको सोझो गर्नैपर्छ । अमुक ग्राहकलाई निमय मिच्न लगाएर भित्र पठाउदा संस्थाले ममाथि कारवाही गर्ने पक्का थियो । अनि त्यो कारवाहीको जिम्मेवार तपाइँले लिन सक्नुहुन्थ्यो ? मेरो परिवार, बालबच्चाको बाँच्ने आधार ग्यारेन्टी गर्न सक्नुहुन्थ्यो ? उनीहरुको लालन–पालनको जिम्मा लिन सक्नुहुन्थ्यो ?
मन्त्री जस्तो व्यक्ति जुनसुकै परिस्थितिमा पनि संयम् हुनु जरुरी छ । मानौंकी मैले अभद्र व्यवहार गरीहाले पनि अलिक फराकिलो सोच बनाएर सम्झाउनु पर्छ । मन्त्री एकएक साधारण नागरिकसँग अनावश्यक सवाल जवाफमा सहभागि हुनुहुदैन । लोकतन्त्रमा जनप्रतिनिधिहरू शासक होइन, सेवक हुनुपर्छ । तर हाम्रोमा सेवक हैन तपार्इँ जस्ता शासक बनेर शासन गर्नुहुन्छ । अझ बादशाह जस्ता बन्ने चेष्टा गर्नुहुन्छ ।
सेवकहरूलाई निश्चित सर्तमा आफ्नो काम गर्न निर्वाचनमार्फत हामी जनतानले आदेश गर्छौँ । तर, यो सब सिद्धान्त नेपालमा लागू हँुदैन । निर्वाचनका बेला हामी जनतासँग दास झै गरी भोट माग्ने तपाईँहरु जित पछि तानाशाह बन्नुहुन्छ । थप पाँच वर्षको लाइसेन्स नवीकरण भएझैँ आफ्नो धुनमा लाग्नुहुन्छ । बजेट र सत्ता आफ्ना कट्टर कार्यकर्ताको लागि प्रयोग हुन्छ । तपाईँहरुकै आसेपासे ठेकेदार, निर्माण व्यावसायी आदि आदि बनेर देश झन् खोक्रो पार्छन् ।
मन्त्री ज्यू, हिजो राणा, राजाहरु शक्ति सम्पन्न थिए । न संविधान, न कानून केही नलाग्ने । संसद, अदालत कहीँबाट पदच्यूत गर्न नसकिने । पुस्तौ पुस्ता उनीहरुको हालीमुहाली हुने । हुकुमी शासन थियो । उनीहरुको शासन मन परोस्,नपरोस् प्रजाले लादिनै पथ्र्यो । आज नेपालमा राजतन्त्र छैन । लोकतान्त्रीक गणतन्त्र छ । जनताको शासन छ । सबै जनता समान हुन् । राष्ट्रपतिदेखि जनतासम्म ।
यस्तो समृद्ध व्यवस्थामा तपाईं जस्ता केही नायकहरु आँफूलाई संविधान अनुसार ढाल्न तयार छैनन् । लोकतान्त्रिक गणतन्त्रमा छोटेराजा बन्ने सोच छ । सुध्रन्छन् कि भन्ने आशमा हामीले वर्षौदेखि कुरिरहेका छौँ । तर छाटकाट छैन । यही अवस्था कायम रहे बिद्रोह बाहेक अन्य विकल्प छैन । अहिलेका छोटे राजाहरु विरुद्ध जहिले पनि आन्दोलनको आधिवेहरी आउन सक्छ । र त्यो बिद्रोह भयानक हुनेछ । कसैको तागतले रोक्न सक्ने छैन । त्यतातर्फ हामी जान नपरोस् ।
तपाईं र मेरो वा मन्त्री–श्रमजीवी सवालमा कस्को जित भयो ? को हार्यो ? अहिलेको जमानामा जनतालाई कुरा लुकायर आफू चोखो बन्छु भन्दा मन्त्रीज्यूको हालत के भयो । थुक चाट्नु पर्यो कि परेन ? ठाडो आदेशमा पक्राउ गर्नेले किन रिहाइ गर्न बाद्य हुन पर्यो ? मलाई पाँच दिन हिरासतमा राख्ने सिडिओको आदेश बिचैमा तुहियो । मेरो एक रत्तिपनि गल्ति भएको भए सिसि क्यामेरा मगाइन्थ्यो । अनि त्यही निहँुमा मलाई जेलमा सडाइन्थ्यो । एउटा बबुरो नागरिकलाई राज्यसत्ताको दुरुपयोग गरी पक्रनेले सानो भन्दा सानो गल्ति भेटाएको भए रिहाइ गर्थे ? किमार्थ सम्भव थिएन । । एकातर्फ म पूर्णतः निर्दोष रहेको र अर्कोतर्फ मेरो न्यायको पक्षमा देशविदेशबाट आवाज उठेका कारण मलाई रिहाइ गरियो । म माथिको अन्याय पल्लाभारी भएकाले विरोधका आवाजहरु उठे । थेग्नै नसक्ने भएकाले म छुट्न सफल भएको हु । माफी मागेको हैन ।
पत्र लामो भयो । अन्तमा, माननीय मन्त्री ज्यू, मलाई धन्यवादको साटो सजाय किन ? यहाँ तपाइँले अर्को गल्ति गर्नुभयो । जिम्मेवार पदमा आसिन भएको व्यक्तिले म प्रति कृतज्ञता व्यक्त गर्नु पर्ने हो । कम्पनीमा फोन गरेर उचित कार्य गरेवापत प्रशंसा, तारिफ गर्नु पर्ने हो । जहाँतहीँ भनसुन चलिरहने समाजमा एकादुइ इमान्दार कर्मचारी पनि रहेछन् भनेर गर्व गर्नुपर्नेहो । तर त्यसको ठीक विपरित भयो ।
त्यसकारण एउटा श्रमिकलाई बिना कारण थुन्न आदेश दिने मन्त्रीको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ । यही कारण तपाईँ सम्बद्य दलमा समेत नकारात्मक सन्देश जान सक्ने संशय बढेको छ । संस्कृति, संस्कार सिकाउने मन्त्रालयमा आसिन मन्त्री नै गैरजिम्मेवार भएपछि अन्य नागरिकले उनीबाट के अनुशरण गर्ने ? कम्न्यूष्टि पार्टीको सदस्य भएर श्रमजीवी, मजदुरमाथि अकारण धावा बोल्नेले अब कुन मुख देखाएर जनता सामु जाने हुन् ? त्यो भने हेर्न बाँकी नै छ । यस्तो बानी भएको तपाइँलाई म कसरी सलाम गरौँ ? हस्त धन्यवाद । उही तपाइँको श्रमजीवी नागरिक
प्रतिक्रिया