ताजा अपडेट »

राजनीति: आफू र आफ्नाका लागि कि समाजका लागि ?

शुक्रबार, ०६ साउन २०७९

राजनीतिभन्दा बित्तिकै सबैको मनमा विगतमा मुलुक र जनताका निम्ति त्याग र समर्पित राजनेताहरुको नाम झट्ट दिमागमा झल्किन्छ किनकि नेपालमा राजनीति धेरै लामो समयदेखि चलिरहेको छ । अनि वर्तमानमा त नहुने कुरै भएन। तर, हामिले हिजो र आजको राजनीतिलाई नियाल्दा भिन्नता आँफै छर्लङ्ग देखापर्छ ।

हिजोको राजनिित देश र जनताको हितको निम्ति हुन्थ्यो भने आजको राजनिति स्वार्थ र भष्ट्राचारको निम्ति हुनलागेको छ । नजिकबाट हेर्ने हो भने हिजोको भन्दा आजका जनताहरु शिक्षा र चेतनाको स्तरमा धेरै नै माथि भएको पाइन्छ। तर, आजका जनतामा सैद्धान्तिक ज्ञान बाहेक अरु केही छैन तर हिजोका दिनमा लेखपढ निकै कठिन भएता पनि मानिसहरु ब्यवहार र अनुभवले शिक्षित र परिपक्क थिए।

अचेल गाउँ समाजमा पनि फोहोरी राजनिति हाबी भएको पाइन्छ । प्रत्येक ब्यक्तिहरुले आफूलाई आँफै सबैभन्दा ठूलो ,आफू मात्र बौद्धिक शिक्षित , ज्ञानी र विद्वान छु भन्ने अहम् पालेको देखिन्छ । हिजोको तुलनामा आज म मेरो समाजलाई हरेक दृष्टिकोणले बिकसित देख्छु। मेरो गाउँ र समाजका सबै व्यक्तिमा एक नेताको रुपमा परिवर्तन भएको झैँ देख्छु ।

यसको प्रत्यक्ष असर म मेरो समाजमा देखिरहेको छु। हिजोआज गाउँ समाज र छिमेकमा राजनीति र पार्टीगत विचार, द्वन्द्व , बिभेदहरु हाबि भएको छ । छिमेकमा अचेल मन मिलेर हुदैन पार्टी र पार्टिगत आस्था मिल्नु पर्छ हैन भने एंैचो–पैंचो तथा सुखदुख साटा–साटमा छिमेकीकै साथ हराउन थालेको छ । गाउघरमा हुने विवाह,पूजा–पाठ, तथा मान्छेको मुत्युमा सहभागिमा पनि पार्टीगत आवद्धता हाबी हुँदै गएको छ।

मान्छे धेरै जान्ने सुन्ने भएर हो कि अशिक्षित भएर हो–त्यो त थाहा छैन । तर, यस्तो गतिविधि र कार्य सिङ्गो समाजको लागि नै हानिकारक मात्र होइन घातक पनि छ । यस्तो ब्यवहारले समाज ,गाउँ र सिङ्गो देशमा नै विभाजन ल्याउछ,आपसी मनमुटाव पैदा गर्छ र सामाजिक सद्वभाव खलबलाउँछ। छिमेकी भनेको त ‘जिउँदाको जन्ति र मर्दाको मलामी’ हो। सबैलाई सबै जना काम लाग्छ । हामी एउटै समाजमा छौं । जब हाम्रो सम्बन्धमा राजनिति प्रबेश हुन्छ । हामी बीचमा मनमुटाव र द्धोयष सुरुवात हुन्छ ।

यो पक्कै पनि राम्रो होइन । मनमा जुनसुकै पार्टीगत राजजीतिको आस्था भए पनि आवश्यकताबिना कहि कसैलाई देखाउनु राम्रो होइन । एउटा समाजको विकास गर्न सर्वप्रथम त हामी सबैमा एकता हुन आवश्यक छ तर यो कदापि सम्भव छैन किनकि मानिसहरुमा यतिसम्मको पनि चेतना छैनकि, भोलि गाउँ समाज र छरछिमेकीहरु पनि आवश्यक पर्छ । मानिसहरु देशको झण्डा भन्दा पार्टीको झण्डा मै रमाएको देख्दा अचम्म लाग्छ । आखिर कहिलेसम्म शिक्षित भएर पनि राजनैतिक नेताको चाकडी गरेर बस्छौं ? भनेर प्रश्न सोध्न मन लाग्छ तर, सोध्ने हिम्मत जुट्न सक्दैन ।
अहिलेको स्थानीय सरकारलाई हेर्ने हो भने पनि सरकारबाट पनिआफ्ना कार्यकर्ता र सर्वसाधारणमा विभेदको भावना बढ्दै गएको पाइन्छ । स्थानिय सरकारबाट प्राप्त हुने विभिन्न राहत , अनुदान तथा विभिन्न सिपमुलक कार्यक्रममा पनि पार्टिनै हेरेको देखिन्छ । राजनितीलाई ब्यापार,पेशा र धन्दाको रुपमा हेर्दा केन्द्रका ठूला राजादेखि गाउँपालिका र वडाका ससाना राजाहरुको हालीमुहाली बलियो हुँदै गएको छ ।

प्रशासनमा सामान्य नागरिकताको सिफारिस लिन जाँदा पार्टीगत निकटता हेरिन्छ, विकास आयोजना विस्तार गर्दा आफ्नो पकड भएको क्षेत्रलाई प्राथमिकता दिइन्छ। आएका अनुदान र तालीमहरु पहुँचवालाको वरिपरि मात्र सिमित छन्। सायद त्यही भएरै होला ‘ठूलालाई चैन सानालाइ ऐन’ भन्ने उखान चलेको।

मानिसहरु जति सुकै गरिब किन नहुन् यदि उनको पार्तीगत साँठ–गाँठ छ भने उसैलाई धनी हुन समय लाग्दैन किनकि गाउँ टोलको विकास भन्दा पहिले उसले आफ्नो आर्थिक हैसियत विकास गर्छ। प्रत्येक समाजमा यस्ता झोलेहरु देख्न सकिन्छ जसले लाभ आफूले लिन्छ अनि समाजका व्यक्तिहरुलाई लडाउने काम गर्छ ।

यदि यसरी नै समाजमा चलिरहने हो भने एकदिन गाउँघर रणभूमि बन्न बेर लाग्ने छैन । कुरूप राजनीतिले समाजमा मात्र होइन परिवारमा पनि उत्तिकै असर गरेको पाइन्छ। दाई र भाइको विचार मिल्दैन ,बाबू र छोराको बिचार मिल्दैन । यदि हामी समयमै सचेत नभएमा वा विचार नगरेमा भोलि गाउँ,गाउँ रहँदैन । यसरी नै चल्दै जाने हो भने हामी समाजको अस्तित्व नै रहँदैन त्यसैले समयमै सचेत बनौ र राजनीतिक विचारका आधारमा छर–छिमेकमा भेदभाव । दोष नदेखाउँ । हामी–हामी बीचमा र हाम्रो नाता सम्बन्धको बीचमा राजनीतिलाई नल्याउँ किनकि दुःख सुखमा काम लाग्ने भनेकै समाज हो।–(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिएएलएलबी अध्ययनरत छन्)