म आँफैमा शक्तिहीन,गरिब,एउटा बबुरो मतदाता । स्यानीय निर्वाचन नजिकिँदै छ । विभिन्न दलका उम्मेदवारहरु प्रणाम गर्न दैलोसम्म आउने क्रम जारी छ । हिजोसम्म बाटो हिड्दा नचिन्ने उनीहरु आज चिन्न थालेका छन् । आफ्नै मान्छे झैँ गरी निकट भाव देखाउँछन् । घरसम्मै आउछन् । मैले पीडा पोख्छु,उनीहरुले गहन तरिकाले सुन्छन् ।
मेरा समस्याहरु उनीहरुका नै हुन कि झँै गर्छन्, मनन् गर्छन् । भावुक भएझैँ गर्छन् । अनि पूरा गरीदिने पूर्ण आश्वासन दिन्छन्, प्रत्याभूति पनि दिन्छन् । त्यतिमात्र नभयर थप आश्वासनका पोकाहरु फुकाउँछन् । यसअघि जेसुकै भएपनि अव चाही गरिबी निवारणका कार्यक्रमहरु लागु हुने विश्वास दिलाउछन् । अनि फर्कन्छन् । यो क्रम केही दिनदेखि चलिरहेको छ । निर्वाचनको दिनसम्म चल्ने पक्का छ ।
विगतदेखि हालसम्म विभिन्न दलका उम्मेदवारहरुले आशा जगाइदिएका कारण म रनभुल्ल परेको छु । एक दलका नेताले माग सम्वोधन गर्छन् कि भनि एउटा निर्वाचनमा म त्यतै लाग्छु, हँुदैन । फेरी अर्को निर्वाचनमा अर्कोतिर लाग्छु । अहँ, त्यहाँबाट पनि केही पार लाग्दैन । भएका सबै दलतिर पालैपालो लाग्छु, कहीँबाट मलाई राहत मिल्दैन । मेरो चुलो बल्दैन । नेताहरुले यतिका वर्ष मलाई भकुण्डोलाई झँै हानेर यता र उता गरे । विश्वासले म पनि त्यसै गर्न बाध्य भएँ ।
जब निर्वाचन नजिकिन्छ तब केही मिलिहाल्छ कि भनेर म बबुरो झन् बेस्सरी यो कुना र त्यो कुना गर्छु । आशमा यता र उता भौतारिइरहन्छु । एउटाले हल्ला गर्छ पल्लो गाउँमा सबैले रकम पाए रे । नेताको खल्तीबाट फुत्त हात्ती खसिपो हाल्छ कि भन्ने आशाले त्यहाँ पुगेर उनीहरुका खल्ती नियाल्छु, हाता लाग्छ शून्य ।
अर्को टोलमा भोज आयोजना भएको छ रे भन्ने खबर पाउँछु । एक छाक मासुभात पो पाइन्छ कि भनेर खोजनिती गर्छु । चासो लिन्छु । त्यहाँ पनि केही मिल्दैन । गरिबका नाम भजाएर चुनावमा समेत खाने समुह हुँदा रहेछन् । नेताबाट रकम झार्ने अनि आँफै कुम्ल्याउने । म अभागी भनौँ वा परिस्थिति नै प्रतिकूल भनौँ । जता भौंतारिए पनि सोह्र दुना आठ जस्तै हुन्छ ।
म सानै थिएँ पंचायतलाई तिलाञ्जलि दिँदा । उतिबेला धेरै आशा थियो जनतामा । जनताको शासन अर्थात् प्रजातन्त्र प्रति अगाध विश्वास थियो । त्यसैले हर्षौल्लासका साथ प्रजातन्त्रको पुनसर््थापनालाई सबैले स्वागत गरे । खासगरी म जस्ता गरीबलाई थप राहत होला भन्ने आश थियो । भोका पेटले जाउलो पाउलान् । नाङ्गा शरिर ढाक्न पाइएला । जाडोमा सिरक ओढेर निदाउन पाइएला । आफू असाक्षर भएपनि छोराछोरीलाई शिक्षा दिन पाइएला ।
बिरामी पर्दा उपचार पाइएला । अशक्त हुँदा सहयोग मिल्ला । काकाकुल झैँ खानेपानी खोज्दै भाँैतारिने दिनको अन्त्य होला । विभिन्न पेशा संचालन गर्न अनुदान मिल्ला । सहुलियतमा ऋण मिल्ला । कृषिमा आधुनिकीकरण होला । औजारहरु पाइएला । समयमै मल पाइएला । बिउ पाइएला । सडक संजाल बिस्तार होला ।
गाउँका उत्पादन शहरमा पुराउने वातवरण मिल्ला । बिचौलियाले ढाड सेक्ने समयको अन्त्य होला । निचोडमा किसान मैत्री सरकार होला । युवाहरुका सपना साकार होलान् । उच्च तहको रोजगारी हैन कि योग्यता अनुसारको रोजगारी मिल्ला । सबैको मर्का बुझेर यथोचित सम्वोधन होला ।
तथापि अपेक्षामाथि कुठाराघात हुदै आयो । गणतान्त्रीक नेपालको स्थापना पश्चात पनि अधिक म जस्ता नेपालीहरुले अपेक्षित सेवा सुविधा पाउन सकेका छैनन् । आजसम्म देशभर विकासका पूर्वाधारहरु तयार हुन सकेका छैनन् । विकास निर्माणका प्राथमिकता निर्धारण भएका छैन । जनताका आधारभूत आवश्यकता पुर्ती हुन सकेका छैनन् ।
जनताको जीवन स्तरमा अपेक्षित सुधार आएको छैन । गरीब र धनीको दुरी झन् बढ्दो छ । विज्ञानको आविष्कारले विश्व कहाँ पुगिसकेको छ । धेरै देशका नागरिकहरु आधुनिक सुविधा सम्पन्न छन् । तथापि हाम्रो देशका नागरिकहरु न्यूनतम आवश्यकता पूरा गर्नका लागि सरकारसँग सिघौँरी खेल्नु परेको छ ।
प्रजातन्त्र स्थापना पछिका तीन दशक भन्दा बढी समयमा पनि उही गास, वास, कपास, सामान्य रोजगारी, न्यूनतम पूर्वाधार, शिक्षा, सडकका खाल्डाखुल्डी मरम्मत जस्ता सामान्य कुराहरुमा सरकारसँग जनताले भिख माग्नु परेको छ । संघीय गणतन्त्रको स्थापना पछि केही राहत होला भनेको झन करको मारमा जनता परेका छन् । कागजात बनाउन कर लाग्ने गरेको छ । सेवा लिएबापत समेत पनि कर नै थोपरिएको छ ।
लाजमर्दो त यस मानेमा छ कि मानव अधिकारको रक्षा, हत्या, बलात्कार, हिंसा आदिमा संग्लग्नलाई कारवाहीको माग गर्दै सडक, सडक भौतारिइरहनु परेको छ । यो सारै खेदजनक कुरा हो । यसरी नै एउटा कुनाबाट अर्कोमा फ्याँकिएको छ मलाई । प्रत्येक निर्वाचनमा कुनै न कुनै आश्वासनको पोको फ्याकिन्छ । बाचा गरिन्छ । प्रतिवद्धता व्यक्त हुन्छ । म विश्वास गर्छु । उनीहरुतिरै दौडन्छु । शासनमा पुगेपछि त्यो सब मर्लक्कै भुलिन्छ ।
लोकतन्त्रमा जनप्रतिनिधिहरू शासक होइन, सेवक हुनुपर्छ । तर हाम्रोमा सेवक हैन शासक बनेर शासन गर्छन् । अझ वादशाह जस्ता बन्छन् । सेवकहरूलाई निश्चित सर्तमा आफ्नो काम गर्न निर्वाचन मार्फत जनतानले आदेश गर्छन । त्यसैले निर्वाचन स्वयं मतदातालाई अझ बलियो, सार्वभौम र स्वतन्त्र बनाउने बृहत्तर अभियान हो । निर्वाचनले प्रतिनिधिहरू छान्न मतदातालाई जागरुक मात्र गर्दैन, जनप्रतिनिधिहरू माथि थप नियन्त्रण बढाउन उत्प्रेरित समेत गर्छ । तर यो सब सिद्धान्त नेपालमा लागु हुदैन ।
यस्ता अधर्मी नेताको देशमा जन्मनु परेकोमा म विक्षिप्त छु । लाग्छ म बबुरो त केवल नेताहरुलाई निर्वाचन मार्पmत देश लुट्न चाबी दिइरहेछु । पाँच वर्षका लागि ठगी गर्ने बैधता प्रदान गर्दै छु । निर्वाचन गर्नुको उद्धेश्य के हो ? केवल नयाँ प्रतिनिधि आउने मात्रै हो ।
शासकीय प्रभुत्वको नवीकरण मात्रै हो । दलहरु नवीकरण हुनु मात्र हो । नयाँ जनमत लिनु मात्र हो । विजय वा पराजय मात्र हो । निर्वाचन कसैका पक्षमा भोट खसाउने फगत एउटा क्रियाकलाप मात्र हो । पक्का होइन । यो लोकतन्त्रलाई सबल गर्ने मुख्य काम हो । निर्वाचन मार्फत जनताको अभिमत व्यालट बक्समा प्रकट गर्ने समय हो । जसको अधिक मत हुन्छ उसले विजय हुने अवसर पाउछ । सत्तामा पुग्छ ।
सपनाका साइजहरु फरक फरक हुदारहेछन् । कोही ठुला सपना देख्छन् । कोही मध्यम । कोही साना । कुनै सपना महत्वकांक्षी हुन्छन् । कुनै व्यवहारीक । जेहोस् सबैले औकात अनुसारका सपना देख्छन, बुन्छन् । अब म बबुराको सपना कस्तो होला? एउटा गरीब नेपालीले बुनेको सपना कत्रो होला ? पक्का सानै साइजको होला । उसले धेरै अपेक्षा राखेको पक्कै हुदैन । राख्ने आँट गर्दैन पनि ।
त्यो सपना कसबाट पुरा होस् भन्ने आश गरेको होला ? सरकारसँग । तथापि यहाँका सरकारहरु केवल आश्वासन मात्रै दिन्छन् । अहिल्यै जीवन कष्टकर भइरहदा भोलीको समृद्धीको समय देखाउदै गरीबलाई खेलौना बनाइरहन्छन् । प्रभाव, प्रलोभन, दवावमा पारेर आफ्नो पक्षमा तान्छन् । अनि हाता लाग्यो शुन्य । यो चक्र धेरै दशकदेखि चलिरहेको छ ।
आज दास झै गरी भोट माग्नेहरु जित पछि तानाशाह बन्छन् । थप पाँच वर्षको लाइसेन्स नवीकरण भएझैँ आफ्नो धुनमा लाग्छन् । बजेट र सत्ता आफ्ना कट्टर कार्यकर्ताको लागि प्रयोग गर्छन् । उनकै आसेपासे ठेकेदार, निर्माण व्यावसायी आदि आदि बनेर देश झन् खोक्रो पार्छन् । म टुलु-टुलु हेर्ने सिवाय केही गर्न सक्दिन । नो भोटको बिकल्प मतपत्रमा राखिएको छैन।
त्यसैले खराब आलुहरु मध्ये एउटा छान्नु परेको छ । जबसम्म राजनीति लाजनीति भइरहन्छ तब सम्म म बबुराले भोट खसाल्न बाहेक के नै गर्न सक्छु र ? मैले भोट नदिए पनि निर्वाचन रोकिने हैन । शासकहरु नचुनिने हैन । सुध्रन्छन् कि भन्ने आशमा निर्वाचनलाई विकल्पका रुपमा प्रयोग गर्नै पर्यो । यही अवस्था कायम रहे बिद्रोह बाहेक अन्य विकल्प छैन । र त्यो बिद्रोह भयानक हुनेछ । कसैको तागतले रोक्न सक्ने छैन ।
प्रतिक्रिया