बुटवल । रुपन्देहीको तिलोत्तमा–३ योगीकुटीस्थित द कफी हबले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कफी पसलसँगै ट्रेनिङ सञ्चालन गर्दै आएको कफी हबले ट्रेनिङ पूरा गरेका आफ्ना विद्यार्थीहरुलाई विदाई र नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो । मंगलबार एक समारोहको आयोजना गरी हबले २५ बढी विद्यार्थीलाई विदाई तथा नव आगन्तुकलाई स्वागत गरेको हो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् होटल तथा रेष्टूरेण्ट व्यवसायी संघका अध्यक्ष रामप्रसाद गौतमले कफीको बजार बढ्दो रहेको बताउँदै कफी हबले सेवासँगै जनशक्ति पनि उत्पादन गरेर ब्राण्ड बनेको बताए । उनले भने ‘ यो कफी हव कोरोना महामारीकै बीच सञ्चालनमा आएको थियो,चूनौतीका बीच सुरुवात भएको व्यवसायले सेवासँगै यसै क्षेत्रका जनशक्ति उत्पादन गरेर नमूना बन्दै छ । अर्कोतर्फ लामो समयदेखि थलिएको हस्पिटालिटी क्षेत्र विस्तारै अगाडि बढ्दै छ, आशा गरौं अब राम्रो हुने छ ।’
समारोहका विशेष अतिथि तथा प्रध्यापक मोहन भट्टराईले कफी पिउने प्रचलनलाई हबले प्रवद्र्धन गर्दै सीपयुक्त जनशक्ति समेत उत्पादन गरेको बताउँदै विस्तारका लागि सुझाव समेत दिए ।
कार्यक्रममा कफी हबका प्रबन्ध निर्देशक तथा प्रशिक्षक तिरास लामटाङ्गे मगरले विश्वव्यापी रुपमा कफीको माग र खपत बढेको बताए । उनले कफी पिउने बानीसँगै व्यवसाय विस्तारमा लागेको बताए । उनले भने ‘अहिले विश्वमा कफीको प्रयोग बढ्दो छ । कफीलाई हेबिट बनाउनुका साथै व्यवसाय र रोजगार पनि विस्तार गर्ने योजनाअनुसार प्रशिक्षण पनि गराउँदै आएका छौं । हालसम्म २५ जना भन्दा बढी विद्यार्थीहरुले वारिष्ठाको प्रशिक्षण लिइसकेका छन् ।’
कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसाल,अनुरुपता सहकारी संस्थाका संयोजक दिपेन्द्र अधिकारी,व्यवस्थापक आनन्द कुमार बराल,प्रशिक्षार्थी त्रिलोक आचार्य, कफी हबकी सञ्चाक शर्मिला लामटाङ्गे मगर लगाएतले आफ्ना भनाई राखेका थिए ।
६ महिनादेखि सञ्चालित कफी हबमा विभिन्न परिकारका कफी, प्रशिक्षण,बेकरी लगाएतका सेवाहरु उपलब्ध छन् । आगामी दिनमा अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक लामटाङ्गेले बताए ।
प्रतिक्रिया