ताजा अपडेट »

विदेश छाडेर स्वदेशमै गाईपालन, बाछाबाछीबाट कमाइ गर्ने सोच

मंगलबार, ३० कार्तिक २०७८

नवलपरासी । प्रेमलाल खरेल राजनीतिकर्मीसँगै सफल किसान । विदेशको लामो बसाई पछि स्वदेशमै केही गर्नुु पर्दछ भन्ने भावनाका साथ अहिले निरन्तर कर्म क्षेत्रमा तल्लीन खरेल मिजासिला र कर्मक्षेत्रमा अरोरात्र खटिईरहने कृषकका रुपमा आफनो परिचय बनाउन सफल भएका छन् ।

तीन बर्षको डेनमार्कको बसाई ,दुई बर्ष कतार र दुई बर्ष भारतको बसाइपछि स्वदेशमा बसेर स्वदेशमै केही गर्नुपर्दछ भन्ने उर्जा बोकेर खरेलले अहिले संयुुक्त नमूना कृषि फार्म संचालनमा ल्याएर सफल किसानका रुपमा आफूलाई अब्बल साबित गरे । गाई पालनमा सबै किसानको चाहाना दूध बिक्री गरेर मनग्ये आम्दानी लिने हुुन्छ तर खरेलको चाहना भने फरक छ ,उहाँले अहिले आफनो फर्ममा ८२ वटा होल्स्टेन र जर्सी क्रसका गाईहरु पालेका छन् र दैनिक तीन सय लिटर दुध बिक्री गर्छन तर लगानी अनुसार दूधले मुनाफा लिन नसकेको बताउँछन् कृषक खरेल।

उनले दूध बिक्रीभन्दा पनि फर्ममा बाच्छी उत्पादनमा लागेको छ उनको फर्ममा अहिले पनि २० भन्दा बढी साना बाच्छी छन् र ती बाच्छीहरु बिक्री गरेर मुनाफा लिने सोचका साथ उनी अगाडि बढेको बताउँछन् । फर्ममा रहेका गाईहरुबाट जन्मेको बाच्छीहरुको स्याहारसुुसार गरेर उनीहरुलाई राम्रोसँग हुकार्उन सकियो भने दूध बिक्रीले भन्दा बाच्छी उत्पादन पछि बिक्री गर्दा राम्रो आम्दानी हुुने कृषक खरेल बताउँछन् ।

राम्रो नश्ल बाच्छी को एक लाख रुपियासम्ममा बिक्री हुने र दूध बिक्रीभन्दा बाच्छी बिक्रीले बढी फाइदा मिल्ने कृषक खरेलले बताए ।
बजारमा अहिले सबै चीजको मूल्य बढेको ,दूधको मूुल्य कमी भएको ले पनि लागत अनुसार मुल्य नपाउँदा दूध किसानहरु मर्कामा परेका कृषक खेललको भनाइ छ । उनले अहिले दुई बिघा जग्गामा घाँस रोपेका छन् भने दाना आफैंलै बनाउने गरेको पाँच कठ्ठामा गाईको गोठ बनाएर गाईपालन गरेको बताए ।

फर्ममा छ जनालाई रोजगारी दिएको सरकारी अनुदान कतैबाट नपाएको गुनासो गरे । राज्यले दूधमा जसरी मुल्य निर्धारण गरेको छ दानामा पनि मुल्य निर्धारण हुनुपर्ने कृषक खरेलको भनाइ छ । भारतबाट दूधको आयात बन्द गरी स्वदेशमै दूधको उत्पादनलाई बढावा दिनुपर्दछ खेरलले भने दूधमा अहिले कायम भएको सरकारी मूल्यले किसानलाई राहत होइन आहत पुगेको छ ।

राजनीतिमा सकृय खरेल नवलपरासी पूर्ब गैंडाकोट नगरपालिका वडा नं १० का नेपाली काँग्रेसका वडा सभापति समेत हुन् । सफल किसानका रुपमा आफनो ब्यक्त्त्वि बनाउन सफल खरेल पार्टीमा पनि भद्र र शालीन नेताका रुपमा परिचित रहेको स्थानीय बताउँछन । ३७ वर्षीय खरेल मुकुन्दपुरका सफल कृषकका रुपमा परिचित मात्रै होईन गाई भैंसीपालन गर्ने कृषकका लागि सहयोगी पनि भएको स्थानीय समाजसेवी बिमल राउत बताउँछन् ।-होमराज रानाभाट/गोरखापत्र