ताजा अपडेट »

सराङकोटमा पर्यटन साहित्य उत्सव

आइतबार, २८ कार्तिक २०७८

गण्डकी । अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङटन डिसी)को आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीयस्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो । साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्तो बताए । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ‘ट्रस्टिज’ सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जुनका टुक्राहरू’ नामक अङ्ग्रेजी–नेपाली मुक्तक सङ्ग्रह र अधिकारीकै साधनाको स्वर्णवर्ष पुगेको अवसरमा प्रकाशित ‘साधनाको स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी’ दुई कृति लोकार्पण गरिएको थियो ।

कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास भए नयाँ कृति प्रकाशनका लागि विषयवस्तु खोज्नु नपर्ने धारणा व्यक्त गरे ।स्रष्टाको सम्मान जिउँदैमा हुनुपर्नेमा जोड दिँदै उनले कृतिकार अधिकारीको साधनाको वास्तविक सम्मान भएको बताए । अनेसासका केन्द्रीय सल्लाहकार सुमल गुरुङले भाषा, कला र साहित्यको उत्थानका लागि मात्र आफूहरू क्रियाशील नभएर पर्यटन र साहित्यलाई एकै सिक्काका दुई पाटा बनाएर अघि बढेको जानकारी दिए ।डा. जगन्नाथ रेग्मीले अधिकारीको जीवनयात्रालाई बुझ्न लोकार्पित कृति सहयोगी हुने धारणा व्यक्त गरे ।कार्यक्रममा सहभागी स्रष्टालाई सम्मान पनि गरिएको थियो । -रासस