सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकास्थित सालझण्डीमा आधुनिक दुग्ध प्रशोधन भवन निर्माण, मेसिन उपकरण खरिद, गुणस्तरीय दुग्ध संकलन र प्रशोधनका लागि सार्वजनिक सुनुवाई भएको छ । सालझण्डीमा रहेको तीनधारा सामूहिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र दुग्ध प्रशोधन ब्यवसायमा सुधार मार्फत उद्यमशीलता विकासको संयुक्त आयोजनामा प्रशोधन केन्द्र स्थापना हुन लागेको हो ।
गुणस्तरीय दुध, दही, पनिर, घीउ, छुर्पी र आईसक्रिमलाई आधुनिक उपकरणको प्रयोग गरी उत्पादन गर्ने मूख्य उद्देश्यसहित तीनधारा सहकारी र आयोजनाको पूरक अनुदानबाट कूल दुई करोड लागतमा योजना अगाडि बढाइएको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरमा रहेका वडाहरु मध्ये वडा नं. ११ दुध उत्पादनमा उत्कृष्ट वडा रहेको बताए । कार्कीले यस आयोजना सम्पन्न हुँदा किसानलाई थप प्रोत्साहनसँगै उत्साह मिल्ने धारणा बताए । पालिकाले कृषि तथा पशुपालनलाई क्षेत्रमा प्रथामिकता दिदैँ अनुदान,कृषि तालिम लगायतका कार्यहरु गर्दै आएको प्रमुख कार्कीको भनाई छ ।
तीनधारा दुग्ध उत्पादक सहकारीका अध्यक्ष कमल अर्यालका अनुसार आयोजना आगामी माघ मसान्तसम्म ६७ प्रतिशत, २०७९ को असारसम्म बाँकी ३२ प्रतिशत र कार्तिक मसान्तसम्म एक प्रतिशत गरि सम्पन्न हुनेछ । सुरुवातको अवस्थामा दैनिक करिब १ सय लिटर दुध संकलन गरी दुधको बजारीकरण गरेको सहकारीले हाल दैनिक २५ सय लिटर दुध संकलन गर्दै आएको छ भने आयोजना सम्पन्न भएपछि दैनिक ५ हजार लिटर दुध संकलन गर्ने लक्ष्य लिएको छ ।
३४ जना किसानबाट स्थापना भएको दुग्ध सहकारी संस्थामा अहिले आएर ३५१ सेयर सदस्यबाट २५ सय लिटर दुध संकलन गरि दुधसहित दुग्धजन्य परिकार विक्री हुँदै आएको छ । सहकारीले एक लघु दुग्ध प्रशोधन उद्योग समेत सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया