ताजा अपडेट »

उद्यम विकास : केही यक्ष प्रश्नहरु

आइतबार, १३ माघ २०७५


–दलबहादुर गुरुङ


उद्यमशीलताले उद्यमको सिर्जनालाई जनाउँछ । उद्यमशीलताको विकास गरी रोजगारी सिर्जनासँगै आर्थिक हैसियत सुधार गर्न विभिन्न समयमा सरकारले उद्यम विकास सम्बन्धी योजना,कार्यक्रमहरु तय गरी अघि बढिरहेको सत्य हो । वैदेशिक रोजगारमा गएका व्यक्तिले पठाएको विप्रेषणबाट अहिले नेपालको अर्थतन्त्र टिकेको देखिन्छ । आन्तरिक अर्थतन्त्रमा लगानी बढ्न नसक्दा रोजगारी सिर्जना हुन सकि रहेको छैन । रोजगारी सिर्जना गर्न सक्ने औद्योगिक क्षेत्रको स्थिति ज्यादै दयनीय छ ।


राष्ट्रव्यापी रुपमा उद्यमशीलताको विकास गर्दै उत्पादन वृद्धि गरी आर्थिक–सामाजिक रुपान्तरणका व्यावहारिक रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता हो । सोही प्रसंगलाई जोडेर अर्थात् स्थानीय स्तरमा उद्यमशीलता विकासका निम्ति गर्न सकिने कामका सन्दर्भलाई समन्वय र सहकार्य गर्ने प्रयास रुवरुप बुटवलमा रहेको कञ्चनजंघा पोलिटेक्निकल इन्स्टिचूट नेपाल र श्रीनगर अनलाइन मिडिया,बुटवल मिलेर गएको असोज ११ गतेका दिन रुपन्देहीका उपप्रमुख र उपाध्यक्षहरुका लागि एक दिवसीय उद्यमशीलता विकास सम्बन्धी अन्तक्र्रियात्मक गोष्ठी सञ्चालन गरेको थियो ।त्यो कार्यक्रमको मूल उद्देश्य भनेको स्थानीय सरकारले उद्यम विकास योजना तयार पारेका छ कि नाइँ ? उद्यमशीलताका लागि स्थानीय सरकारले वजेटिङ्ग गरेको छ कि छैन ? सो सम्बन्धी बुझ्नु नै थियो । साथै स्थानीय सरकारका उपप्रमुख र उपाध्यक्षहरुको उद्यमशीलता सम्बन्धीको बुझाईका बारेमा जानकारी समेत लिनु थियो । ती दुबै संस्थाले आफ्नौ आर्थिक लगानी एवम् प्राविधिक जनशक्ति प्रयोग गरेर सो विषयमा अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न गरेको थियो ।

गोष्ठीमा रुपन्देहीका १६ वटा स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्षहरुको सार्थक सहभागिता रहेको थियो । गोष्ठीका प्रमुख अतिथिका रुपमा प्रदेश सरकारका उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल थिए । उक्त गोष्ठीमा पटेरको मूढा,घरेलु तानबाट बुनिएको ढाकाको लुगा,मह उत्पादन र चुरा एवम् प्लाष्टिकका झोला जस्ता सामग्रीको प्रदर्शनी समेत गरिएको थियो । सहभागीहरुले ती प्रदर्शित सामग्रीहरुको खरिद समेत गरेका थिए । रुपन्देहीका स्थानीय सरकारमा उपप्रमुख एवम् उपाध्यक्षहरु महिलाहरु नै भएको कारणले समेत ती उत्पादित सामग्रीहरुको विक्री बट्टा राम्रै भएको थियो ।


सो गोष्ठीले स्थानीय उद्यम विकास समिति गठन गर्ने निर्णय गरेको थियो भने संयोजकमा बुटवल उपमहानगरपालिकाकी उपप्रुमख गोमादेवी आचार्यलाई चयन गरेको थियो । अन्य उपप्रमुख र उपाध्यक्षहरु समितिमा सदस्यका रुपमा चयन भएका थिए । दोस्रो बैठक सियारी गाउँपालिकामा गर्ने सहमति भइ सो कार्यको संयोजन र व्यवस्थापन गर्ने काम उक्त गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङलाई दिइएको थियो ।


दोस्रो बैठक यही माघ ११ गते शुक्रवारका दिन सियारीको छपियामा स्थानीय उद्यम विकास समितिकी संयोजक गोमा देवी आचार्यको संयोजकत्वमा बसेको थियो । बैठकले रुपन्देहीका सबै स्थानीय सरकारहरुले स्थानीय तहमा उद्यम विकास योजना निर्माण गर्ने, उद्यम विकासका लागि आवश्यक सीपमूलक तालिमका आयोजना र व्यवस्थापन गर्ने,उद्यम विकासका लागि सरकारी र गैह् सकारी निकायहरुसँग सहकार्य र सम्बन्ध विस्तार गर्नका निम्ति सक्दो पहल गर्ने निर्णय समेत गरेको छ ।


बैठकमा स्थानीय सरकारका उपप्रमुख एवम् उपाध्यक्षहरुले बुटवलमा आयोजना गरिएको उद्यमशीलता विकास सम्बन्धी कार्यक्रमबाट सिकेका सिकाईहरुलाई आफ्नो क्षेत्रमा लागू गर्दाका सहजता र जटिलताका सन्दर्भमा प्रकाश पारेका थिए । कतिले त उद्यमशीलताका बारेमा आफूहरु अझ्ै अनभिज्ञ रहेको,बुटवलको बसाइले उद्यमशीलताका बारेमा बुझ्नका लागि भोक जगाएको समेत बताइ रहँदा स्थानीय सरकारहरुले उद्यम विकासका योजनाहरु तयार गर्न नसकिएको समेत स्वीकार गरेका छन् । योजना नै नबनेपछि वजेट विनियोजनका कुरा के गर्नु र ?
सहभागीहरुले आफ्नो स्थानीय सरकारले सिलाई कटाइ,मुढा बुन्ने तालिम,झोला बनाउने र बुन्ने तालिम,फेसन डिजाइन,मोटर साइकिल मर्मत तालिम,आधारभूत कम्प्युटर तालिम,कृषि तालिम लगायतका तालिममा पैसा लगानी गरेको बताए । तालिमका लागि आवश्यक पर्ने योजना,वजेट, बजार र बजारीकरणका बारेमा जानकारी हुन नसकेको समेत उनीहरुले बताए । छोटा किसिमका तालिम र सो तालिमको बजारका सन्दर्भमा थाहै नपाइ गरिएका अभ्यासहरुले पक्कै पनि स्थानीय सरकारलाई उद्यमशीलता सम्बन्धीको गन्तब्यमा कहाँ पुराउला ?


ईलम सिक्न चाहनेहरुलाई कसरी ईलम सिकाउने,ईलम सिकेपछि उनीहरुलाई कहाँ कस्तो अवस्थामा रोजगारी दिने र ईलमप्रति कसरी इमान्दार बनाउने भन्ने कुरा प्रमुख हुन आउँछ । देखासिकीका लागि गरिएका तालिमले क्षणिकता बाहेक अरु के पो देला र ? स्थानीय सरकारले योजनाबद्ध रुपमा स्थानीय तहमै आवश्यक उद्यम विकास योजना तयार गर्नु पहिलो सर्त हुन सक्छ ।
केही स्थानीय सरकारहरुले बिटीआई,अटो एशोसियसन,सीप विकास तालिम केन्द्र,श्रम तथा रोजगार विकास केन्द्र,जिल्ला उद्योग तथा घरेलु कार्यालय,उद्योग,व्यापार संघ जस्ता संस्थाहरुसँग आफ्ना उद्यमशीलता सम्बन्धी कार्यक्रमलाई सफल बनाउन सहकार्य र सम्बन्ध विस्तार गरेको पाइयो भने केही स्थानीय सरकारले उद्यम विकासका प्रारम्भिक योजना निर्माण समेत गर्न नसकिएको देखियो । उनीहरुले सहयोगी संस्थाहरुसँग सहकार्य र सम्बन्ध स्थापित गर्न नसकेको सत्य हो ।
दैनिक एक हजार बढीमा वैदेशिक रोजगारका लागि गएका युवाहरुलाई स्वदेशमै स्वरोजगार अवस्था कसरी सिर्जना गर्न सकिएला ? केन्द्र र प्रदेशले सोच्न र थाम्न नसकेको यो चिन्ताको भारी अब कसरी स्थानीय सरकारले सम्बोधन गर्न सक्ला यक्ष प्रश्न यहींनेर छ । प्रश्न यो पनि हो कि स्थानीय सरकारले युवाहरुलाई स्वदेशमै राख्ने र विदेशमै पठाउनु पर्ने अवस्था आइ हालेमा पूर्णरुपमा दक्ष र योग्य जनशक्तिका रुपमा पठाउन सकेमा पक्कै पनि स्वदेशमा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सको मात्रामा केही वृद्धि हुन सक्ने थियो ।


कृषिलाई सम्मानजन पेसाका रुपमा स्वीकार गर्न सक्ने हैसियत आज पनि हामीहरुका बीच छैन । सरकार,सहकारी र सामाजिक संघसंस्थाहरुका बीच समन्वय र सहकार्य हुन सकि रहेको छैन । उद्यमशील हुनका लागि आवश्यक पर्ने प्राविधिक सीपहरु,क्षमताहरु प्रदान गर्न राज्यले सकि रहेको छैन । जलविद्युत निर्माणका लागि खोलाका लाइसेन्सहरु झोलामा बोकेर हिड्नेहरु आज पनि छन् । पर्यटनको पहिचान,प्रचार प्रसार र प्रसिद्धिका लागि गर्नुपर्ने पहलकदमीमा कमजोरी देखिन्छ । बेरोजगारीको तथ्यांक देखाएर रोजगारी प्राप्त हुँदैन । त्यसका लागि उद्यमशीलतालाई जोड दिनुपर्ने हुन्छ । उद्यमशीलतामा प्रवद्र्धन हुन सकेमा गरिवी व्यवस्थापन गर्न सम्भव छ । गरिवी व्यवस्थापनका निम्ति गर्नुपर्ने पहलहरुको एक हिस्सेदार स्थानीय सरकार पनि हो । स्थानीय सरकारले उद्यमशीलता विकास योजना र त्यसको कार्यान्वयनमा जोड दिन सकेमा पक्कै पनि आफ्नै घर आगनमा उद्यमशीलता प्रवद्र्धनका कार्यहरु हुन सक्छन् र वैदेशिक रोजगारका लागि पासपोर्ट बनाउन लाइन लाग्नु पर्ने छैन ।


स्थानीय सरकारहरुले आफ्नो कार्यकालको बाँकी साढे तीनवर्षको दौरानमा उद्यम विकासका योजनाहरु तयार पार्लान् ? सोही तयार पारिएको योजना अनुसारको वजेट विनियोजन होला ? स्थानीय सरकारका जनप्रतिनिधिहरु मुढा बनाउने र सिलाई कटाई तालिम नै उद्यमशीलता हो भन्ने साँघुरो सोचबाट माथि उठ्लान् ? उद्यमशीलता भनेको उद्यमको नयाँ सोच,शैली,उत्पे्ररणा र रोजगारीको सिर्जना हो भन्ने बुझेर सो कुरालाई ठोस योजनामा ढालेर कार्यान्वयनको नयाँ ढाँचामा आफूहरुलाई रुपान्तरण गर्लान् ? उद्यम विकासका निम्ति यी कुराहरु नै यक्ष प्रश्नका रुपमा वर्तमानमा उभिएका छन् । -बुद्धभूमि