नेपालगञ्ज । कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा सुरु भएसँगै गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज एक गतेबाट खुल्ने भएका छन् । सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेबाट पर्यटकलाई दुबै निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्ज व्यवस्थापनले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकका लागि निकुञ्ज खुला गरिएको बताए। उनले बाँकेमा पर्यटकको चाप नहुने हुँदा सूचना नै निकालेर बन्द र खुला नगरिए पनि अहिले कोभिडको जोखिम घट्दै गएकोले पर्यटक आउन थालेको बताए । यसैगरि बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले चार महिनापछि असोज १ गतेदेखि निकुञ्ज खोल्ने र पर्यटकलाई जङ्गल ड्राइभ (सफारी), (याफ्टिङ र जङ्गल वाक् गर्न मात्र अनुमति दिइएको बताए ।
पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नु पर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था गरिएको उनले बताए। प्रमुख संरक्षण अधिकृत श्रेष्ठले निकुञ्ज खोल्ने पूर्वतयारी स्वरूप करिब ३ सय मिटर सडक मर्मत र सफाइ गरिएको पनि जनाए । चार महिनापछि पर्यटकका लागि निकुञ्ज खुल्न थालेपछि पर्यटन व्यवसायीले खुसी व्यक्त गरेका छन् ।
होटल संघ नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीले निकुञ्ज खुल्ने भएपछि अब फेरी ठुलो संख्यामा पर्यटक भित्रिने आशा पलाएको जनाउँदै व्यवसाय सुरु हुने बताए। उहाँले लामो समय बन्द रहेका होटलहरु अब खुल्ने र फेरी ठाकुरद्वारा क्षेत्रमा चहलपहल बढ्ने हुँदा सबै खुसी भएको बताए। अध्यक्ष चौधरीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज आसपास २६ वटा साना–ठुला होटल सञ्चालनमा रहेका छन् । यहाँका अधिकांश होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेका छन् । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा सहजै बाघ हेर्न पाइने हुँदा स्वदेशी र विदेशी पर्यटक ठुलो संख्यामा पुग्ने गरेका छन् ।
प्रतिक्रिया