-भूमिराज पिठातोली
काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्यूनिष्ट पार्टीले आफ्नो शक्ति प्रदर्शन गर्यो। जहाँ करिब ४०/५० हजार मान्छेकोे घुँईचो लागेको थियो। नेकपा विप्लव समूहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिताले देशमा अर्को शक्ति प्रदर्शन भएको जो कोहीले अनुमान लगाउन सक्थे। जुन सहभागिता २०६४ चैत २८ गतेको निर्वाचनमा नेकपा माओवादीले जित हासिल गरेपछिको उत्सब कार्यक्रममा थियो। त्यो शक्ति दोश्रो पटक देखिएको पनि सर्वसाधारणले महसुस गरेका थिए।
विप्लवले नेपालमा केही गर्न सक्दैन, ठाउँठाउँमा २÷४ जना कराउँदैमा देशमा कुनै हलचल आउन सक्दैन भन्ने प्रचण्डलाई नै त्यो शनिवारको शक्ति प्रदर्शनले हलचल गरायो।जब माओवादीको १० वर्षीय जनआन्दोलनमा २०५७ माघ–फागुनमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले ५ वर्षका जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचार श्रृंखला सहित प्रचण्डपथ संश्लेषण ग¥यो । त्यसपछि २०५८ साल जेठ १९ गते दरवार हत्याकाण्ड भयो त्यसपछि माओवादीले युद्ध विराम गर्यो।
त्यसपछि फेरी युद्ध सुरु गर्यो । २०५९ माघ १५ गते दोश्रो पटक युद्धविराम गर्यो । फेरि २०६० जेठमा बसेको केन्द्रीय समितिको बैठकले इतिहासका अनुभव र २१औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज पारित गरेपछि २०६१ असोजमा केन्द्रीय समितिको बैठकले जनयुद्ध प्रत्याक्रमणको चरणमा प्रवेश गरेको निष्कर्ष निकाल्यो ।
२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता पश्चात् माओवादी नेपालकै ‘बाघ’ बन्यो। नेपालका गल्ली गल्लीहरुमा पनि माओवादीमय बन्यो। २०६४ साल चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा ने.क.पा.(माओवादी) ले प्रत्यक्षतर्फ स्पष्ट बहुमत र समानुपातिकतर्फ अत्याधिक अन्तरले अग्रता कायम गर्यो। जसको परिणाममा ६०१ स्थानमध्ये ने.क.पा.(माओवादी) २२९, कांग्रेस ११४, एमाले १०९, फोरम ५१ र अन्य २५ साना दलहरु विजयी भए। त्यसपछि २०६५ श्रावण ३२ गते संविधानसभाको दुईतिहाई बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित गर्याे र माओवादीको नेतृत्वमा एमाले, फोरम, जनमोर्चा, संयुक्त बाममोर्चालगायतका दलहरुको सहभागितामा संयुक्त सरकार निर्माण भयो।
शान्ति सम्झौतापछि २०६९ सालसम्म त नेपालमा अर्को कुनै शक्तिको अब उदय हुनै सक्दैन भन्ने तर्कहरु जताततै छरिए । तर ती वाक्यहरु ०६९ सालसम्म मात्र टिके।
नेपालको पहिलो शक्तिको रुपमा उदाएको माओवादीमय वातावरण एकैछिनमा धुजा धुजा हुन पुग्यो। जसमा कारण थियो माओवादीका शीर्ष नेताहरु “मपाँई” पवृृति। जसकारण माओवादी कहिल्यै एक बन्न नसक्ने जस्तै भयो।पार्टी अध्यक्ष प्रचण्डलाई सत्ताको खोलले कहिल्यै ब्यँुझाउन सकेन । अब समय बदलिएको छ। नेकपा नामधारी भिमकाय पार्टीको दोस्रो अध्यक्ष छन् यतिबेला प्रचण्ड । तर, उनमा प्रचण्डको राप छैन । कम्यूनिष्टको जग भत्किएको छ । नाम नेकपा भएपनि सो पार्टीको चरित्र तथा गतिविधिमा कम्यूनिष्टको बासना छैन बरु गन्हाएको छ ।
प्रचण्डमा राप नहुँदा उनी कम्यूनिष्ट आन्दोलनको गोरेटोमा विमुख भइरेका छन् । अब उनी अर्कै गोरेटको सारथी बनिरहेका छन् । उनकै भाषामा त्यो गोरेटो नाम कम्यूनिष्ट, चरित्र दक्षिणपन्थी, फ्यूजन गोरेटो अथवा खच्चड गोरेटो । कुनै आफ्नै चरित्र नबोकेको । अर्काको भारीमात्र बोक्ने।
निहित स्वार्थपूर्तिका लागि पछाडी लाग्ने कार्यकर्ताहरुले घेरिएका छन् प्रचण्ड । त्यागी र सिद्धान्तबादीले उहिल्यै छाडिसके । अनि शुरु हुन्छ प्रचण्डको बिलयको यात्रा प्रकाण्डहरुको उदयको यात्रा । ‘प्रकाण्ड’ नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहमा दोश्रो बारियताका नेता हुन्। पार्टीको प्रमुख नेताका रुपमा विप्लव भएपनि प्रकाण्डको चर्चा बडी छ। अहिले सो पार्टीमा विप्लव अर्धभूमिगत अवस्थामा छन्। भने प्रकाण्डले संगठनको प्रमुख जिम्मेवारीमा छन्।
क्रान्ति जहाँ अत्याचार, अहिंसा, भ्रष्टाचार, विकृति हुन्छ त्यो ठाउँमा आफैं जन्मिने गर्छ। नेपालमा पनि त्यस्तै भएको हो। कम्यूनिष्ट आन्दोलनका विचारदाताहरुबाटै प्रभावित भएर प्रचण्डको क्रान्ति नेपालमा सुरु भएको हो । तर पछिल्लो केही वर्ष यता ‘प्रचण्ड’ सत्ताको लोभमै सीमित हुन पुगे। परिवर्तनका लागिसंगै युद्ध लडेका सहयोद्धा तथा कार्यकर्तालाई बिर्सदै भ्रष्ट तथा नातावादमै कायम हुन पुगे। आज हेर्ने हो भने प्रचण्डको नाता पर्ने कोही पनि बेरोजगार तथा सानो पदमा आसिन भएका छैनन्। कतै रोजगार, ठूलो लगानीमा व्यवसाय वा ठूलो पद। यो प्रचण्डका आफन्तले कमाएको शक्ति।जसरी प्रचण्डका सुरुका लडाँईमा उनका समर्थकको बाहुल्यता थियो, त्यसरी खस्कियो। प्रचण्डले जसरी कम्यूनिष्टका माओको सिद्धान्त अँगाले त्यसरी नै त्यागे। विलासी जीवन जिउनेको विरुद्धमा लड्नेहरु आफैं विलासी भएर बसे। त्यसपछि उनले कम्यूनिष्ट होइन कमाउनिष्ट भएको संकेत देखाए।
नेपालमा कम्यूनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। २००६ साल बैसाख १० गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिली नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। त्यसपछि विभिन्न कालखण्डहरुमा नेतृत्व, गुटउपगुट, पार्टी विभाजन, एकता भइरह्यो। थोरै समय एकता र धेरै समय विभाजनमै बित्यो। त्यसैमा माओवादीले त आफ्ना ‘ध्रुव’ नै बदल्यो। जसले गर्दा आन्दोलनका योद्धाहरुको विचल्ली भयो। नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता ‘प्रकाड’ दुई तिहाई बहुमत पाएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्डको कार्यकालकै मन्त्री बनेका थिए। उनलाई केही महिना अघि सरकारले झण्डै ७ करोड चन्दा संकलनको आरोपमा प्रहरीले पटक पटक पक्राउ गर्दै र अदालतले छोड्ने आदेश दिएपनि पुनः प्रकाण्ड पक्राउ परिरहे। यो अवस्थाले प्रकाण्डलाई चर्चामा मात्र पुर्याएन दुई तिहाईको कम्यूनिष्ट सरकारलाई पनि च्यालेन्ज दिएको हो।कम्यूनिष्ट सरकारमा पनि राणाको जस्तो लगाम भएको आम जनताले तर्क दिन थाले। त्यसको प्रत्यक्ष फाइदा भने प्रकाण्डलाई भयो ।
कालीकोटको मालकोटमा गरिब दलित परिवारमा ०२५ सालमा जन्मेका बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका नेता हुन् । त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लिवाडेमा विसं २०११ जन्मिएका हुन्। यिनीहरुको उमेर करिव १० वर्षको अन्तर भएपनि जनयुद्धमा २०५२ सालदेखि कै पूर्णकालिन भूमिगत पात्र हुन्।
एकै मुद्दामा हिजोसँगै युद्ध लडेको एक समूह सरकारको नेतृत्वमा हुनु र अर्को समूहले भूमिगत तरिकाले आन्दोलन गर्नु नेपाली कम्यूनिष्ट राजनीतिक इतिहासमै पहिलो कालखण्ड बन्न पुगेको छ।
२००७ सालदेखि राजनीतिक परिवर्तनका लागि जनस्तरबाट थुप्रै पटक आन्दोलन, संघर्ष र क्रान्तिहरु भए । आन्दोलनकै बेलामा जहानीयाँ राणा शासन ढल्यो, प्रजातन्त्र आयो । पछि, बहुदलहुँदै सामन्ती भनिएको राजतन्त्र पनि ढलेर गणतन्त्र आयो । संविधानसभाबाट संविधान बनेको छ तरपनि फेरी किन आन्दोलन ? कतै कोही जनता अधिकारबाट बञ्चित त छैनन् ? यो विषयले सबैलाई कौतुहलता छाएको छ।राजनीतिक व्यवस्था परिवर्तनकै लागि धेरै पुस्ताले पटकपटक व्यवस्थाविरुद्ध लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गरेको हो। यसलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको दिशातिर लैजानु अहिलेको आवश्यकता हो। तर सत्ताधारीलाई यो जानकारी छ, कार्यान्वयन गर्न भने अग्रसर हुँदैन।
पछिल्लो सयममा प्रचण्डलाई काँग्रेस भन्नेहरुको जमात पनि जताततै छ। उनको भीमकाय पार्टी छताछुल्ल भएपछि प्रचण्ड भित्रको कम्यूनिष्टको कालखण्ड नै सकिएको जस्तो भएको छ। उनलाई समर्थन गर्ने भनेका उनका आफन्त र सत्ता पाएकाहरु मात्र छन्। प्रचण्ड जसरी अरुसंग मिलेर सत्ताधारी नै भइरहन्छन् त्यसरी उनलाई समर्थन गर्नेहरु बाहिरिदै जान्छन्।अहिले दन्दकालका पीडितहरु उनको साथमा छैनन्, उनकै अगाडि गएर विष सेवन गर्नसम्म पुगेका छन्। प्रकाण्डलाई हेर्दा उनको राजनीति कालखण्ड उदाउँदो जस्तै छ। उनलाई समर्थन जनाउनेहरुको झुण्डो नै छ। अपराध भएको ठाउँमा ‘यहाँ विप्लपको खाँचो छ’ भन्नेहरुको आवाज जताततै सुनिन्छ।
शक्ति थुप्रिदैछ भन्दैमा ‘प्रकाण्ड’ समूहले पनि मनोमानी गर्नुभएन। अहिलेको लोकप्रियतालाई कायम राख्न जंगल पस्न बन्द गर्नुपर्र्छ। हतियार उठाउने तिर होइन वार्तामा आएर आफ्ना पार्टीलाई स्थापित गर्नुपर्र्छ। सबैको हकाधिकार प्राप्त संविधानलाई अटेरी गर्नभएन। आवश्यक कुराहरु सरकारसंग वार्तामा गएर संविधानमा असन्तुष्टि कुराहरुलाई संसोधन तिर गराउनु पर्छ देश र जनताको हितको लागि। यदि त्यस्तो वातावरण निर्माण गर्ने हो भने आगामी १० वर्षमै प्रचण्डमयी होइन प्रकाण्डमयी देश बन्न सक्छ।
प्रतिक्रिया