ताजा अपडेट »

कठै बुढा–बुढीले थामिदिएको संस्कार !

सोमबार, ०२ भदौ २०७६

अपत्यारिलो अनुभव ! आज प्रभातकालीन हिँडाइमा जाँदै थिएँ । अचानक निकै ठूलो पानी पर्‍यो । एउटा घरको पेटीमा ओत लागेँ । उक्त घरमा छोरा–बुहारी रहेछन् ओहोर–दोहोर गरी रहे । पछि छोरा छाता ओढी दूध लिन डेरीतर्फ लागे, दुध लिएर फर्किए , त्यतिञ्जेलसम्म पनि म त्यही उभिइरहेको थिए । न त उनले मलाई सोधे न त मैले नै । पछि एक जना बूढी आमा बाहिर आउनुभयो । उहाँले मलाई नमस्ते गर्दै मेरो नाम र ठाउँ सोध्नु भयो । मैले पनि नमस्ते सहित सबै बताउँदै गएँ ।

वहाँको पहाड घर गुल्मी दिगाम रहेछ जहाँ मेरो पनि घर हो । ती बुढी आमा खुसी हुनुभयो र मलाई भित्र बोलाउनु भयो, म भित्र गएँ । उहाँले पानी खानुहुन्छ भनेर सोध्नुभयो । घरको परिवार, छोराछोरी, बुवा, आमा सबैको बारेमा सोध्नु भयो । मैले सबै बताएँ । तर पनि छोरा–बुहारीले सोध्न चाहेनन् वा भ्याएनन् नत मैले नै । छोरालाई खुसी हुँदै उहाले भन्नुभयो–हेरत बाबु उहाँको पनि घर गुल्मी दिगाम रहेछ । छोराले केबल ए हो र ? मात्र भने बाँकी केही बोलेनन् ।

त्यतिकैमा १ जना १०–१२ वर्षको नाति त्यही कोठा भित्र छिरे, ती आमाले नमस्ते भन् भन्नुभयो । उनले हात त जोडे तर उनका हातहरु उत्तर र टाउको दक्षिण फर्काएर । यसप्रति मैले केही भनिन केवल मनमनै सोचे–“कठै बुढा–बुढीले थामिदिएको संस्कार !”