बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले दुई जना बीच भएको छलफलको बारेमा सार्वजनिक गरेका छन् । भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल हुनुका साथै ओलीको जीवन शैलीको बारेमा समेत कुराकानी भएको उल्लेख गरेका छन् ।
ओलीसँग उनकै निवास बालकोटमा आइतबार साँझ भेट गरेको बताउँदै मिश्रले नेपालको चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौं विषयमा छलफल भएको बताएका छन् । भेटका क्रममा अध्यक्ष ओलीले आफूलाई राजनीतिक जिवनबाट नआत्तिन समेत सुझाब दिएको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
अढाई घण्टाको भेटपछि छुट्ने बेलामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा पारित गरेको र छाप्न लगाएको चुच्चे नक्सासहितको १ र २ रुपैयाँका एक मुठ्ठी सिक्का पैसा उपहार दिएको उल्लेख गरेका छन् ।
मिश्रले यस्तो लेखेका छन्
ओलीजीसँग अढाई घण्टा!
“तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”
उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।
ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।
सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”
अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!
प्रतिक्रिया