यो ब्रह्माण्डको जन्म कहिले भयो र यसको अन्त्य कहिले हुनेछ यसमा म अनविज्ञ छु । तर, यसको आयुको अत्यन्त नगन्य समय मेरो जीवन छ । जहाँ मेरो पनि अस्तित्व मिसिएको छ । म आफ्नो जीवनलाई पानीको फोका जस्तो मान्छु । यो जसरी पनि फुट्छ चाहे म आफैं फुटाउँ या नफुटाउँ यो आफंै फुट्छ । बहाना र कारण जे पनि हुन सक्छन् । मेरो जस्तै जीवन अरुको पनि यस्तै छ । तलाउमा उठेर फुटेका फोका जस्तै कुनै अघि कुनै पछि तर, तरङ्ग सबैले फैल्याउँछन् आफ्नो आकार अनुसारको ।
यो नगन्य समय मेरो सम्पूर्ण जीवनको लक्ष्य, प्राप्ति, हार र अनेकौं प्रतिष्पर्धा मिसिने छन । यी पनि सबै मसँगै हराउने छन् उही पानीको फोका जसरी । म मेरो दृष्टिकोणबाट जीवन हेर्न र बुझ्न स्वतन्त्र छु । मेरो आफ्नै बसमा नहुने मन छ । यसलाई म प्राय दबाउँछु । पूरा नियन्त्रण म कहिले पाउँदिन किनकि यसले स्वतन्त्रता खोज्छ । अनेक भन्छ तर, धन्न बाहिर आवाज भने निकाल्न सक्दैन । नत्र म कतिपटक अपराधी हुने थिएँ । मुखले प्रशंसा गरेपनि उ गाली गर्छ । मेरो नियन्त्रण उसलाई पटक्कै मन पर्दैन ।
म सबै विधामा परिष्कृत र पोख्त हुन सक्तिन । मेरा लागि बनेका हरेक भूमिकामा उत्कृष्ट बन्न सक्तिन । तर, निष्टापूर्वक निभाउने प्रयास गर्न अवस्य सक्छु । अन्तरमुखि स्वभावका कारण जो कोहीसँग निकट हुन त सक्तिन तर कोहीसँग रिस र सिकायत गर्दिन । मेरो स्वार्थका लागि सम्बन्ध बनाउनेमा म विश्वास गर्दिन । कसैसँग विशिष्ट सहयोग र सहानुभूतिको चाहना र अपेक्षा प्राय म राख्दिन । खुलेर आफ्नो समस्या राख्न पनि मलाई आवश्क लाग्दैन । किनकि म सुरक्षित महसुस गर्दिन । म व्यक्तिवादी पनि होइन । कसैप्रति तुलना र भेद आंैल्याउनमा समय म बिताउन रुचि राख्दिन । मलाई कोही विशिष्ट र कोही तुच्छ छैनन् ।
यो ‘म’ आँफूलाई महसुस गरेको ‘म’ कति संवेदनशील छ । आफ्नो नजर र दृष्टिकोणले संसार बुझ्न खोज्छ । आफ्नो बुझाईले दुनियाँ परिभाषित र बयान गर्न खोज्छ । दुनियाँमा यो ‘म’ आफूलाई कहिले गलत ठान्दैन । आफू खुशी नियम बनाउँछ । करोडौं ‘म’को बेवास्ता गर्छ । यो स्वतन्त्र छ । यसले अरु म को बुझाइलाई पूर्ण मान्दैन र आफ्नै अज्ञानता र अहमतासँगै हराउँछ ।
जीवन सीमित छ । मृत्यु निश्चित छ । यदि अनन्त जीवनको कल्पना गर्ने हो भने समयको कुनै महत्व र बर्चस्वको सीमा रहँदैन थियो । सामाजिकरणका श्रेणीमा अनेकौं प्रक्रिया बढ्ने थिए । साथ र सम्बन्ध छुट्नु र जोडिने सीमा र महत्व रहँदैन थियो । बिना मृत्युको जीवनको महत्व पनि हुने थिएन । बाँचेर पनि मन भरिने थियो । चरित्र र व्यवहार समयको खण्ड–खण्डमा परिवर्तन हुने थिए । अनन्त रुपमा यो ‘म’ आफ्नो एकल विचारमा तटस्थ हुने थियो । बरु मृत्यु नै वाञ्छनीय छ जस्ले एकपटक अंगालेपछि पुनः छाड्दैन र पुर्याउनेछ अनन्तमा जहाँ यो ‘म’ हुँदैन ।
प्रतिक्रिया