ताजा अपडेट »

समृद्ध नेपाल निर्माण पुष्पलालको सपना

मंगलबार, ०७ साउन २०७६

नेपाली कम्युनिष्ट राजनीति आन्दोलनका एक अगुवा पुष्पलाल श्रेष्ठको मङ्गलबार हामी ४१ औँ स्मृति दिवस मनाउँदैछौँ । नेपालको लोकतान्त्रिक आन्दोलनका उहाँ महत्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले निरङ्कुश जहानियाँ राणाशासनजस्तो अन्धकारयुक्त राजनीतिक अवस्थामा कम्युनिष्ट पार्टी गठन गर्नुभयो ।

नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादमा पुर्याउन सकिन्छ भन्ने उहाँमा आँट थियो । त्यसको नेतृत्व पुष्पलालले लिनुभयो । पछि जनताको ठूलो पङ्क्ति पार्टीमा सङ्गठित हुँदैगयो । २००७ सालको राणाविरोधी आन्दोलनमा कम्युनिष्ट पार्टीले आफ्नो हैसियतअनुसार महŒवपूर्ण योगदान गरेको थियो । यद्यपि त्यतिबेला पार्टी सानै थियो । पुष्पलालले कम्युनिष्ट पार्टीको आफ्नै घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो । भारतमा अध्ययन गर्ने क्रममा मनमोहन अधिकारी भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध हुनुहुन्थ्यो । पछि नेपाल फर्केपछि उहाँ र तुलसीलाल अमात्यलगायत पनि नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध हुनुभयो । देशमा पार्टीको विस्तार गर्ने काममा पुष्पलालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।


२००८ सालमा पहिलो राष्ट्रिय सम्मेलन भयो । त्यसपछि २०१० सालमा प्रथम महाधिवेशन भयो । महनमोहन अधिकारी पार्टीको महासचिवमा हुनुभयो । जेठा दाजु गङ्गालाल श्रेष्ठलाई राणाहरूले फाँसी दिएपछि पुष्पलाल राजनीतिमा सक्रिय हुनुभएको थियो । गरिब र धनीबीचको विभेद नमेटाएसम्म जनताको मुक्ति हुँदैन भन्ने कुरा गङ्गालालले पुष्पलाललाई भन्नुभएको थियो । त्यसबाट प्रभावित भएर पुष्पलालले जनताको मुक्तिका लागि अघि बढ्ने अठोट लिनुभयो । केही समय काँग्रेसमा रहेर पनि उहाँले काम गर्नुभयो । काँग्रेसभित्रको मनमुटाव र अन्योल देखेपछि उहाँ फेरि कम्युनिष्टतिरै फर्किनुभयो ।

देशमा समाजवाद नआएसम्म समाजबाट अत्याचार, उत्पीडन अन्त्य हुँदैन भन्ने बुझेर उहाँ कम्युनिष्ट आन्दोलनबाटै अघि बढ्नुभयो । जनताको लोकतान्त्रिक हक अधिकार प्राप्त गर्न कम्युनिष्ट पार्टीकै नेतृत्व आवश्यक भएको निष्कर्षमा पुग्नुभयो । जहानियाँ राणाशासनको अन्त्य नगरेसम्म देशमा लोकतन्त्र ल्याउन नसकिने उहाँमा स्पष्ट बुझाइ थियो । त्यतिबेलाको कम्युनिष्ट पार्टीको जग नै मुलुकमा समाजवाद र साम्यवाद ल्याउने थियो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेरै त्यो सम्भव हुने निष्कर्षमा पार्टी थियो ।


२०१५ सालको पहिलो संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले पनि भाग लियो । पार्टी कमजोर अवस्थामा रहे पनि जनतालाई सचेत र आन्दोलित गर्न निर्वाचनमा भाग लिनुपर्ने निचोडमा पार्टी पुगेको थियो । यद्यपि सो निर्वाचनमा चारजना मात्र उम्मेदवार निर्वाचित भए । जनवादी क्रान्ति सम्पन्न गर्न सशस्त्र सङ्घर्ष गर्नुपर्ने अवस्था पनि आउन सक्नेतिर पुष्पलालको कार्यनीति थियो । उहाँ कम्युनिष्ट आन्दोलनको अगुवा भए पनि काँग्रेससँग सहकार्य गरेरै क्रान्ति सफल हुने बुझाइमा हुनुहुन्थ्यो । तेस्रो महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्र वैचारिक मतभेद देखियो । तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरिसक्नुभएको थियो । विघटित संसद्लाई पुनस्र्थापनामा पुष्पलालले जोड दिनुभयो । मोहनविक्रम सिंहले संविधानसभाको निर्वाचनमा जोड दिनुभयो तर तुलसीलालले सार्वभौमसत्ता सम्पन्न संसद्को स्थापनामा जोड दिनुभयो । तीनवटा कार्यनीतिक मूल नारा देखिए । यही विवादको जड बन्यो । जनताले चुनेका जनप्रतिनिधिले कार्यकाल पूरा नगर्दै संसद्को विघटन गरेर ठूलो अन्याय भएको भन्दै पुष्पलालले संसद् पुनस्र्थापनामै जोड दिनुभयो । जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने विषयलाई उहाँले जोड दिनुभयो ।


जनवादी क्रान्ति सम्पन्न गर्ने अवस्थासम्म देशभर पार्टी पङ्क्तिमा ठूलो लहर आउने, सर्वहारा ण्श्रमजीवी वर्गको मुक्ति हुने र राष्ट्रका लागि पुँजीको विकास हुने पुष्पलालको विश्लेषण थियो । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने पुष्पलालको जोड थियो भने राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम लिएर अघि बढ्ने तुलसीलालको जोड थियो । पछि महाधिवेशनले तुलसीलालको कार्यक्रमलाई पारित गर्यो । त्यसमा पुष्पलालको विमति कायम रह्यो ।

पार्टीभित्रको अन्तरविरोधले पार्टीलाई नियमित परिचालन गर्ने अवस्थामा समस्या देखियो । तुलसीलालले पार्टी सङ्गठनलाई गति दिन सक्नुभएन । बैठकसमेत बस्न सक्ने अवस्था रहेन । सङ्कटको त्यस घडीमा पुष्पलालले नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने सोच बनाउनुभयो । मुलुकलाई अन्योलग्रस्त अवस्थामा राख्न नहुने भन्दै उहाँले पार्टीका नेतासँग सल्लाह गरेर तेस्रो महाधिवेशन सम्पन्न गरेर अघि बढ्नुभयो । त्यतिबेला काँग्रेसको सङ्गठन बलियो थियो । पुष्पलालले काँग्रेससँगै मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्छ अनिमात्र निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्नुभयो । एक्लाएक्लै आन्दोलन गर्दा पञ्चायत ढाल्न नसकिने उहाँको अग्रगामी सोच थियो तर तुलसीलालहरूको समूहले उहाँलाई काँग्रेसको पिछलग्गुको आरोप लगायो । पुष्पलालले बीपी कोइरालासँग छलफल र परामर्श गर्नुभयो ।

संयुक्तरूपमा अगाडि बढ्ने पुष्पलालको प्रस्तावलाई बीपीले मान्नुभएन । चीनमा भर्खर जनवादी क्रान्ति सम्पन्न भएको थियो । कम्युनिष्टसँग मिलेर जाँदा नेपाली राजनीतिमा पनि कम्युनिष्ट सङ्गठन हावी हुनसक्ने आशङ्का बीपीलाई भयो । किसान, मजदुर उत्पीडितको पक्षमा थिए । बीपीले प्रस्ताव स्वीकार नगरेपछि एक्लाएक्लै आन्दोलन जारी रह्यो । निरङ्कुश राजतन्त्र, पञ्चायती शक्तिलाई परास्त गर्न संयुक्त आन्दोलन अनिवार्य थियो तर काँग्रेसले नमान्दा पञ्चायतले ३० वर्षसम्म शासन गर्ने अवसर पायो । मानेको भए २०४६ अघि नै मुलुकमा बहुदलीय व्यवस्था आइसक्थ्यो ।


पछि गणेशमान सिंह र पुष्पलालबीच सहकार्य गर्ने विषयमा कुरा मिल्यो । पुष्पलालको विचार सही रहेछ भन्ने कुरा काँग्रेसले २०४६ सालपछि मात्र बुझ्यो । पुष्पलालको निधन २०३५ साल साउन ७ गते भइसकेको थियो । मोहनविक्रमले त गद्दार पुष्पलाल भनेर किताब नै लेख्नुभयो । विचारमा विभाजित र गुटउपगुटको फाइदा पञ्चायती शासन व्यवस्थालाई भयो । पुष्पलालको दृष्टिकोण ठीक थियो भनेर कम्युनिष्टको चौथो महाधिवेशनले ठहर गर्यो ।

संयुक्त आन्दोलनमा जानुपर्छ भन्ने कार्यनीति नै पारित ग¥यो । काँग्रेस र कम्युनिष्ट मिलेर जाने कुरा भएपछि संयुक्त आन्दोलन भयो र २०४६ सालको आन्दोलन सफल भयो । मुलुकमा प्रजातन्त्र स्थापना भयो । मुलुकको प्रजातन्त्र, लोकतन्त्रको अवस्था सिर्जना हुनुमा पुष्पलालको देन ठूलो छ । २०६२÷६३ को जनआन्दोलनमा पनि पुष्पलालको दृष्टिकोणले नै काम गर्यो । राजतन्त्र ढाल्न संयुक्त आन्दोलन अनिवार्य थियो । दलका नेताहरूले त्यही विचार लिएर संयुक्त आन्दोलनमार्फत सफलता हात पारे ।


सादगी जीवन
पुष्पलाल अत्यन्त समर्पित र इमानदार नेता हुनुहुन्थ्यो । उहाँ कहिल्यै पनि लोभलालच र ऐसआराममा लाग्नुभएन । सादा जीवनका साथ दुःखकष्ट सहेरै जीवन व्यतित गर्नुभयो । पुष्पलाल बनारसमा बस्दा दुई छाक खानाखाने आर्थिक हैसियत उहाँमा थिएन । पार्टी प्रतिबन्धित अवस्थामा थियो । नेता कार्यकर्ता पुष्पालाललाई भेट्न बनारस गइराख्नु हुन्थ्यो ।

आफ्नै खाना खाने ठेगान थिएन उहाँको । अरूलाई पनि खुवाउनुपर्ने थियो । धेरै रात उहाँ पाउरोटी मात्र खाएर, भोकभोकै बस्नुभयो । राम्रोसँग खान नपाएपछि उहाँलाई अल्सर भयो । आर्थिक अभावले राम्रो उपचार पनि गर्न पाउनुभएन । त्यही रोगका कारण उहाँले मृत्युवरण गर्नुपर्यो । राजा महेन्द्रले पुष्पलालसँग भेट्ने धेरै प्रयास गर्नुभएको थियो । आन्दोलन रोकेमा रोजेर पद दिने सन्देश पनि पठाइएको थियो तर पुष्पलालले राजाको प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभयो । कुनै पद स्वीकार नगर्ने र जनताको पक्षमा लागिरहने अठोट लिनुभयो । जनताको उन्मुक्तिका लागि लिएको उहाँको अठोट डग्मगाएन । असाध्य दुःख पाउँदा पनि उहाँमा दृढ अठोट थियो ।


कम्युनिष्टहरूको आदर्श एउटै किसिमको हुनुपर्छ भनेर उहाँ भन्नुहुन्थ्यो । उहाँसँग सहकार्य गर्ने अवसर मैले पनि पाएको थिएँ । देश र जनताको सुखमै समर्पित हुनुस् भनेर भन्नुहुन्थ्यो । निजी स्वार्थलाई प्राथमिकता नदिन सुझाव दिइरहनुहुन्थ्यो । सिद्धान्त र नीतिअनुसारको आचरण, व्यवहार गर्नुपर्छ भन्ने उहाँको सुझाव थियो ।


सिक्नुपर्ने पाठ
यतिबेला कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार छ । काम गर्ने स्थितिमा अहिले केही अनुकूलता छ । देशको नेतृत्व कम्युनिष्टको छ, तथापि मुलुकको अर्थतन्त्र दलाल पुँजीपतिकै नियन्त्रणमा छ । रेमिटेन्सबाट जनताको गुजारा चलेको छ तर यो दीर्घकालीन समाधान होइन । देशको समृद्धि भनेको हुनेखाने र अर्बपतिको मात्र समृद्धि होइन । आमजनताको सुख, समृद्धि नै वास्तविक समृद्धि हो भन्ने सोचेर काम गर्नुपर्छ । नेतृत्वले त्यतातिर ध्यान दिनुपर्छ ।

समृद्धिको परिभाषा नयाँ रूपमा गर्नुपर्ने आवश्यकता छ । देशको विकास भनिरहेका छौँ तर जनताको आवश्यकता के हो ? हाम्रो समृद्धि के हो भन्नेमा नयाँ सोच आवश्यक छ । कम्युनिष्ट पार्टीलाई दुईतिहाइ नजिक मत दिँदा जनताले धेरै आशा र विश्वास गरेका छन् । पुष्पलालजस्ता नेताहरूको आदर्श विचारबाट शिक्षा लिँदै त्यही आदर्श र विचारलाई मनन गरेर अघि बढ्नुपर्छ ।
हाम्रा नीति कार्यक्रम र घोषणापत्रमा त्यो विषय परेको त छ तर हाम्रो व्यवहार अर्कोतिर छ । समाजवादतर्फ जाने भनेका छौँ तर भद्दाखालको पुँजीवादमा अल्झेका छौँ । पुष्पलालको स्मृति दिवस मनाइरहँदा पुष्पलालको सपना साकार पार्नेतिर जानुपर्छ ।

सरकारमात्र हाम्रो लक्ष्य कदाचित् होइन । हाम्रो रणनीतिक लक्ष्य समाजवाद हो । आमजनताको समृद्धि, देशको उच्चतम विकास हो । त्यो समाजवादबाटै प्राप्त हुन्छ । श्रमजीवी जनताको हित, गरिबीको अन्त्य र समृद्ध नेपाल नै पुष्पलालको सपना थियो । त्यसलाई साकार पार्न नेतृत्वले ध्यान दिनुपर्छ । हिजो क्रान्ति गर्दा एक किसिमको जटिलता थियो । अहिले राजनीतिक उपलब्धि प्राप्त भएको छ । विकास निर्माणको कालमा बेग्लै किसिमको जटिलता छ । केही अनुकूलता छन् । सम्भावना पनि छन् । सँगसँगै गम्भीर प्रतिकूलता पनि छन् ।

दुई ठूला कम्युनिष्ट पार्टी एक भएको छ । बाँकी रहेका वामपन्थी शक्तिलाई पनि एक बनाएर जानुपर्छ । पार्टीमा संस्थागत निर्णयको परिपाटीको विकास गर्नुपर्छ । पार्टीमा आन्तरिक लोकतन्त्र सुदृढ नभएसम्म देशको लोकतन्त्र सुदृढ हुनसक्दैन । त्यसो गरेमात्र पुष्पलालको सपना साकार हुन्छ । - गोरखापत्र अनलाईन