ताजा अपडेट »

मेयर कप फुटसल प्रतियोगिता वैशाख ९ देखि

सोमबार, ०६ बैशाख २०७८

भक्तपुर । सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । खेलकूदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितामा १० वटै वडाको सहभागिता रहने छ । सूर्यविनायक–८ सिपाडोलस्थित सिपाडोल युवा समाजले आयोजना गर्ने प्रतियोगिताको तयारी पूरा भएको सुनपा–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

यही वैशाख ९ र १० गते आयोजना हुने प्रतियोगितामा ती वडाका ११ टिमबीच प्रतिस्पर्धा हुने समाजका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजार, उत्कृष्ट गोलरक्षकलाई रु १० हजार र उत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने समाजका सचिव प्रदीप रिसालले बताए । कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनगर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता आयोजना गरिने भएको बताइएको छ ।